close

फ्लिपकार्टका पूर्वउपाध्यक्ष सस्तोडिलको टिममा, ‘ग्लोबल एक्स्पोजर’को अपेक्षा

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १७:४४

फ्लिपकार्टका पूर्वउपाध्यक्ष सस्तोडिलको टिममा, ‘ग्लोबल एक्स्पोजर’को अपेक्षा

काठमाडौं । ईकमर्स कम्पनी सस्तोडिलको सञ्चालक समितिमा अमेजन इण्डियाका भूतपूर्व प्रमुख प्रविधि अधिकृत एवं फ्लिपकार्टका पूर्वउपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । करिब २ महिनाकाे छलफल र तयारपछि सस्ताेडिलकाे सञ्चालक समितिमा साैरभ जाेडिएका हुन् ।

सस्ताेडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले दिएकाे अनुसार नेपालकाे स्थानीय ईकमर्स कम्पनीकाे सञ्चालक समितिमा विदेशी टेक उद्योगमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका व्यक्ति नियुक्त भएकाे सम्भवत: याे पहिलो पटक हो ।

अमेजन र फ्लिपकार्टमा पनि साैरभले प्रविधि नै नेतृत्व गरेकाे जानकारी दिँदै थापाले उनको विज्ञता पाउनु सस्ताेडिलका लागि मात्रै नभइ देशकै लागि खुसीको कुरा रहेको सुनाए । उनका अनुसार साैरभले प्रविधिसम्बन्धी लेखेकाे २ पुस्तक पनि लाेकप्रिय छन् ।

‘नेपालको सन्दर्भमा टेक कम्पनी सञ्चालन गर्न मुख्यत: एक्सपर्टिजकै अभाव छ । यहाँ अहिलेसम्म कुनै पनि कम्पनीले ठूलो स्केलमा टेक्नोलोजी कम्पनी चलाउन सकेका छैनन् । हामी जोसँग प्रतिस्पर्धा गरिरहेका छौं उनीहरु विश्वमै चलेका कम्पनी हुन्,’ उनले भने ।

उनले अगाडि थपे, ‘उनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि हामीलाई टेक्नोलोजी सिक्न महत्वपूर्ण थियो । यसका लागि नै फ्लिपकार्टमा टेक्नोलोजीलाई नै लिड गरिरहेका र उपाध्यक्ष भइसकेका साथै २ वर्ष अमेजन इण्डियाको सीटीओ भएर काम गरेका साैरभसँग हामी नजिक भएका हाैं ।’

भारतमा फ्लिपकार्ट सानो ईकमर्स कम्पनी हुँदादेखि बिलियन डलरको कम्पनी हुँदासम्म लिड गरेका साैरभबाट आफूहरुले निरन्तर सल्लाह लिइरहेको उनले टेकपानालाई बताए ।

नेपालले प्रविधिको क्षेत्रबाट विदेशी विज्ञबाट पनि प्रत्यक्ष सल्लाह लिने यो अभ्यास पहिलो पटक भएको बताउँदै याे घटनाले नेपालको ईकमर्स कम्पनीको बोर्डमा विदेशी पनि बस्न सक्छन् भनेर नेपालीलाई सपना देखाइदिएको उनले बताए ।

‘हामीले यसअघि नै फ्लिपकार्टसँग सहकार्य गरिरहेका छौं । सौरभले पनि सस्तो डिलजस्तो कम्पनीमा रुचि देखाएकाले यो सम्भव भयो,’ उनले भने ।

‘ग्लोबल एक्स्पोजर’को अपेक्षा

सौरभ टिममा जोडिँदा सस्तोडिलले ग्लोबल एक्स्पोजरको अपेक्षा राखेको देखिन्छ । आजको जमानामा टेक कम्पनी भएपछि कोही पनि खुम्चिएर बस्न चाहँदैन । नेपालका केही कम्पनीहरु अहिले पनि विदेशी कम्पनीहरुसँग निकट रहेर काम गरिरहेका छन् ।

सस्ताेडिलकै कुरा गर्ने हाे भने फ्लिपकार्टको प्लेटफर्ममा उपलब्ध हरेक सामान सस्तो डिलबाट खरिद गर्न सकिने गरी सहकार्य भएको छ । सहकार्यपछि फ्लिपकार्टमा उपलब्ध पाँच हजारभन्दा धेरै थरीका सामानहरु सस्तो डिलमा उपलब्ध छन् । 

तर नेपालको व्यवसाय विदेशमा विस्तार गर्ने सन्दर्भमा भने सरकारकै नीति पर्खाल बनिरहेको अमुन बताउँछन् । ‘सरकार नेपालको पैसा बाहिर जान हुँदैन भनेर यहाँको व्यवसाय कतै विस्तार गर्न दिँदैन । तर यो सोच आउटडेटेड भइसकेको छ,’ उनले भने ।

अहिलेकाे परिप्रेक्ष्यमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न पाइएन भने कुनै कम्पनी सफल नहुने उनकाे तर्क छ । नेपाल जस्तो सानो देशमा मात्रै बजार सीमित रहँदा स्वभावैले कम्पनीकाे सपना पुरा नहुने उनी बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा पछिल्लाे समय चिनियाँहरु आएर कम्पनी खोलेर बसेका छन् । बंगलादेशको कम्पनी पठाओ आएर यहाँ व्यवसाय गरिरहेकाे छ । जबकि हाम्रो देशमा भएको टुटल भारतमा पनि जान सक्दैन । यसको जड भनेकै यहाँ सरकारले ठूलो पर्खाल राखिदिएको छ । यो परिस्थितिको अन्त्य हुन जरुरी छ ।’

सस्ताेडिलले नेपाली प्रडक्टहरु फ्लिपकार्टमार्फत भारतीय बजारमा लान खोजिरहेको छ । तर यसका अगाडि कानूनी चुनाैती रहेकाले ग्लाेबल प्लेटफर्ममा जाेडिन अझै गाह्राे रहेकाे उनले बताए ।

‘ईकमर्स नेपालमा तीव्र वृद्धि भइरहेको एक उद्योग हो । हाम्रो देशमा वर्षेनी १५० प्रतिशतले यो उद्योग वृद्धि भइरहेको छ । हाम्रै कम्पनी वार्षिक रूपमा ३ सय प्रतिशतले ग्रो भइरहेको छ,’ उनले भने, ‘तर ग्लाेबल स्टेजमा प्रतिस्पर्धाका लागि सहज वातावरण निर्माण हुन सकिरहेकाे छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०