close

किसान र उपभोक्तालाई जोड्ने अनलाइन सेवा : मेरो किसान

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १३:१८

किसान र उपभोक्तालाई जोड्ने अनलाइन सेवा : मेरो किसान

काठमाडौं । पछिल्लो समय विश्वभर ईकमर्श उदाइरहेको छ । अझ कोरोनाको असरले यसमा तीव्रता थपिदिएको छ । संख्या उल्लेखनीय भए पनि सेवाको प्रकृतिले ईकमर्श कम्पनीहरु त्यति धेरै फरक छैनन् ।

सबै कम्पनीहरुले सानोभन्दा सानो अभावलाई सम्बोधन गर्न खोज्दै आफूलाई सुक्ष्म रुपमा भए पनि पृथक देखाउने प्रयास गरिरहेका छन् । 

बजार र उपभोक्ताबीचको सहजीकरणका लागि विभिन्न तप्कामा केन्द्रित रहेर ईकमर्शहरुले आफ्नो सेवा बजारमा ल्याएका छन् । यसबीच कतिले ईकमर्शले होलसेल पसलदेखि उपभोक्तामा सेवा विस्तार गरे ।

कतिले रेस्टुरेन्टका खाद्य सामग्रीलाई सेवाग्राहीको दौलो दैलोसम्म पुर्‍याए त कतिले क्लाउड किचनको अवधारणा ल्याएर आफैंले उत्पादन गर्ने आफैं डेलिभरी गर्ने काम गरे ।  

यसैबीच गोरखाका २८ वर्षीय अविनाश सिलवालले किसान र व्यवसायीलाई जोड्ने सेतुको रुपमा मेरो किसान ईकमर्श कम्पनी अगाडि ल्याएका छन् । 

‘मेरो पारिवारिक पृष्ठभूमि नै कृषिसँग जोडिएको छ,’ अविनाश भन्छन्, ‘कृषि पेशा मात्रै होइन, जीवनशैली पनि हो । कृषिसँग मेरो भावना जोडिएको हुँदा म पहिलेदेखि नै कृषकहरुका लागि केही गर्न सकुँ भन्ने चाहन्थेँ ।’

कृषि अर्थतन्त्रमा स्नातकोत्तर गरेका अविनाशले केही समयअघि ‘मेरो किसान’ नामको सहकारी संस्थाको पनि स्थापना गरे । तर कृषि क्षेत्र र यसका समस्याहरुसँग परिचित उनले उत्पादनभन्दा पनि बजारको समस्या टड्कारो रहेको देखे । 

‘हामीकहाँ प्रमुख समस्या भनेको उत्पादनभन्दा पनि बजारको छ । बजार भयो भने उत्पादन एकाएक आफैं बढ्छ ।’ 

यसबीच प्रविधिले दिइरहेको सुविधालाई प्रयोग गरेर कृषकको उत्पादनलाई बिना बिचौलिया सिधै उपभोक्तामाझ पुर्‍याउन ४ महिनाअघि अविनाशले ‘मेरो किसान’ कम्पनी सञ्चालनमा ल्याए ।

‘हाम्रो कम्पनी एक वर्षअघि नै दर्ता भएको थियो । वर्कआउट गरिरहेका थियौं । एप्लिकेसन बनाइसकेका थियौं,’ अविनाश भन्छन्, ‘लकडाउनलगत्तै हामीले सेवा बजारमा ल्याएका हौं ।’

अहिले ‘मेरो किसान’ले किसानका तरकारी, फलफुल, दुग्धजन्य उत्पादन आदिको बिक्री वितरण गरिरहेको छ । यसका लागि संस्थाले उत्पादन ‘जोन’ पनि छुट्याएको छ । 

‘हामीले गोदावरी र भत्क्यापाटीलाई तरकारी ‘जोन’को रुपमा छुट्याएका छौं । सितापाइला तिरबाट पनि अफसिजन सब्जी ल्याउँछौं,’ उनले सुनाए । 

अविनाश सिलवाल

हाल काठमाडौं उपत्यकामा मात्र डेलिभरी सेवा प्रदान गरिरहेको ‘मेरो किसान’ले आफ्नो उत्पादन ‘मेरो किसान’लाई बिक्री गर्न चाहने देशका सबै ठाउँका किसानहरुबाट लिने याेजना ल्याएकाे छ ।

यसका लागि हालसम्म तीन सय भन्दा बढी किसानहरुसँग व्यवसायिक सम्झौता गरिएकाे छ । साथै ‘मेरो किसान’मा आबद्ध कृषकहरुलाई सहुलियत पूर्ण ऋणको व्यवस्था गरिदिन आफूले विभिन्न बैंकहरुमा प्राेपोजल पेस गरेको अविनाश बताउँछन् ।

यो प्रक्रिया तिहारपछि केही समयमा कार्यन्वयनमा आउने र किसानहरुका लागि डक्युमेन्टेसनको प्रक्रियामा ‘मेरो किसान’ले सहजीकरण गर्ने उनले जनाए ।

यसबाहेक सरकारकाे कृषि बिमामा ७५ प्रतिशत सरकार र २५ प्रतिशतमा ‘मेरो किसान’ले सीएसआरको रुपमा प्रिमियम तिरिदिने प्रक्रिया अगाडि बढाइएको छ । 

किसानहरुको उत्पादनलाई सरकारले कालिमाटी बजारमा तोकिदिएको मूल्य रेन्जमा अधिकतम मूल्य ‘मेरो किसान’ले दिइरहेको दाबी उनकाे छ । 

अविनाश भन्छन्, ‘अहिले हामीले किसानलाई कालिमाटी बजारले तोकिदिएको मूल्य रेन्जको अधिकतम मूल्य दिएर उत्पादित सामग्री खरिद गरिरहेका छौं । हामीले बिक्री पनि होलसेल मूल्यमा नै गरिरहेका छौं । तर अहिले बिचौलियाले सरकारले तोकेको दैनिक अपडेट हुने मूल्य पनि दिदैँनन् ।’ 

‘मेरो किसान’ले एकदमै कम मार्जिन राखेर सकेसम्म सस्तो मूल्यमा बजार तथा उपभोक्तामा किसानको उत्पादनलाई पुर्‍याइरहेको उनले बताए । 

तर अन्य ईकमर्शभन्दा फरक ‘मेरो किसान’को व्यवसायिक मोडालिटी बीटुबीमा मुख्यत: केन्द्रित छ। 

‘दिनमा चार/पाँच हजारको सब्जी बेच्ने एउटा पसलले ताजा सब्जी लिन ४ बजे उठेर कालिमाटी पुग्नु पर्छ । त्योभन्दा ढिलो गए ताजा सब्जी पाइन्न,’ अविनाशले भने, ‘तर हामीले उसलाई जुनै समय पनि ताजा सब्जी सुपथ मूल्यमा उपलब्ध गराइरहेका छौं ।

कालीमाटीमा पुरानो सब्जी बेच्दै नयाँ सब्जी स्टक राखिन्छ । तर हाम्रोमा अन-डिमाण्ड ताजा सब्जी पाउन सकिन्छ । जसको डेलिभरी पनि हामी निशुल्क गरिदिन्छौं ।’ 

यसबाहेक घरेलु उपभोक्ताले पनि ‘मेरो किसान’बाट खाद्य उत्पादनको लागि अर्डर दिन सक्छन् । तर यसका लागि निश्चित डेलिभरी चार्ज लिने उपभोक्ता तथा खुद्रा पसलहरुले खल्ती, फोन पे, ईसेवा तथा क्यास अन डेलिभरीमा पैसा भुक्तानी गर्न सक्छन् । 

सबै किसिमका सब्जी तथा उत्पादनहरुको मूल्य पनि एपमै पारदर्शी किसिमले राखिएको छ । साथै किसानको उत्पादनलाई समेत माग भए पनि, नभए पनि खेर जान नदिन र बजारसम्म पुर्‍याउने प्रत्याभूति मेरो किसानले गरेको छ । 

अहिले मेरो किसानको बानेश्वरमा एउटा वेयर हाउस छ भने बुद्धनगरमा आउटलेट छ । साथै कम्पनीले खाद्य वस्तु भण्डारणका लागि कोल्डस्टोर पनि बनाएको छ । आगामी दिनमा देशभरी उत्पादित विशेष खाद्य वस्तुलाई ‘मेरो किसान’मार्फत बजारमा पुर्‍याउने योजना कम्पनीकाे छ ।  

आफ्नो उत्पादित वस्तु बिक्री गर्ने बित्तिकै आम्दानी नपाउनु पनि किसानको मूल समस्या हो । यहाँ एक सिजनको पैसा कृषकले अर्को सिजनमा पाउँछन् ।

तर आफूले किसानको वार्षिक टर्न‌ओभर देखिन सजिलो होस् भन्ने हेतुले १२ घण्टा भित्रै किसानको बैंक खातामा जम्मा गरिदिने गरेको अविनाशले बताए । किसानहरुको प्राविधिक सहयोगका लागि कम्पनीसँग कृषि प्राविधिक परामर्शदाता समेत छन् । 

यस्तै आगामी दिनमा किसानकै लागि कृषि परामर्श सुविधा दिन ‘वान मिस्डकल’ सेवा पनि ल्याउने योजना रहेको अविनाशले टेकपानालाई सुनाए । 

‘किसानलाई सहयोग चाहिएको अवस्थामा उनीहरुले हामीलाई एक मिस्डकल दिएर हाम्रो परामर्शदाताबाट सहयोग लिन सक्छन् र हाम्रो पर्याप्त नभएको खण्डमा बाहिरबाट पनि समेत सहयोग उपलब्ध गराउने छाैं’, उनले भने ।

वस्तु बजार पुर्‍याउने पहिलो वर्षको लक्ष्य पुरा भएपछि कृषि प्रविधिको डेलिभरी सेवा पनि कृषकसमक्ष पुर्‍याउने याेजना कम्पनीकाे छ । 

हाल ‘मेरो किसान’काे उपभोक्ताका लागि मात्र उपयोगी हुने एप छ । जसमा कोभिडदेखि हालसम्म पाँच हजारभन्दा धेरै एप्लिकेसन डाउनलोड भइसकेको छ भने दैनिक प्रयाेगकर्ता १५० भन्दा धेरै छ ।

अहिले वेब एप्लिकेसनमार्फत कृषकका लागि मूल्य सूची अपडेट, विस्तृत जानकारी, फार्मर इन्क्वाइरी र परामर्शमुलक फिचरहरु थप गर्दै गइरहेको उनले सुनाए । 

‘किसानले अनलाइन एपमा एक्सेस पाउन सके भने बजारकाे मूल्य यति रहेछ भन्ने कुरा थाहा पाउन सक्छन्,’ अविनाश अगाडि भन्छन्, ‘व्यापार मात्रै होइन किसानलाई पनि सँगै सशक्त बनाउँदै लग्ने हाम्रो योजना हो ।’

यस्तै ‘स्टे फूड अलाइन्स’को अवधारणा अन्तर्गत ‘मेरो किसान’को कम विषादीयुक्त तरकारी रेस्टुरेन्टसम्म पनि पुर्‍याइरहेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०