close

तीन महिनामा ८ लाखले बढे फोरजी प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १६:१६

तीन महिनामा ८ लाखले बढे फोरजी प्रयोगकर्ता

काठमाडौं । नेपालमा पछिल्लो समय फोरजी ग्राहकको संख्या उकालो लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनलाई आधार मान्दा तीन महिनामा ८ लाखभन्दा बढी फोरजी सेवाका ग्राहक थपिएका छन् ।

प्राधिकरणले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा ५५ लाख १६ हजार ४५४ जना फोरजी ग्राहक छन् । जेठ मसान्तसम्म नेपालमा फोरजी सेवाका प्रयोगकर्ता ४७ लाख १० हजार ७७९ जना थिए ।

यसपछिका तीन महिनामा नेपालमा ८ लाख ५ हजार ६७५ जना फोरजी ग्राहक थपिएका हुन् । हाल नेपालमा सबैभन्दा बढी एनसेलका कुल ३७ लाख २९ हजार ४५३ फोरजी ग्राहक रहेका छन् ।

त्यसैगरी दोस्रो स्थानमा रहेकाे नेपाल टेलिकमका १६ लाख ४ हजार ४५६ फोरजी ग्राहक छन् । त्यस्तै स्मार्ट टेलिकमका फोरजी ग्राहक एक लाख ८२ हजार ५४५ रहेका छन् ।

प्राधिकरणकाे प्रतिवेदन अनुसार नेपालमा हाल सबै प्रकारका सेवा गरी कुल जनसंख्याको ७६.५८ प्रतिशत जनताले इन्टरनेट चलाउँछन् । यसमध्ये सबैभन्दा बढी ५६.४२ प्रतिशत मोबाइल ब्राेडब्यान्डका ग्राहक छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०