close

दैलेखको नारायण नगरपालिकामा टेलिकमले विस्तार गर्‍यो फाइबर इन्टरनेट

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १५:४३

दैलेखको नारायण नगरपालिकामा टेलिकमले विस्तार गर्‍यो फाइबर इन्टरनेट

दैलेख । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । यो सँगै उक्त स्थानका सेवा ग्राहिले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् ।

टेलिकमका अनुसार यहि कात्तिक १५ उक्त स्थानमा फाइबर टु द होम (एफटीटीएच) विस्तारको कार्य सम्पन्न भएको हो । त्यहाँ यसअघि प्रयोगमा रहेका पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको हो ।

यो सँगै पूर्ण रुपमा फाइबर नेटवर्क विस्तार हुने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार उक्त क्षेत्रमा १०२४ लाइन क्षमताको एफटीटीएच नेटवर्क विस्तार गरिएको छ ।

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । योसँगै उक्त नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।

टेलिकमले यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गरेको थियो । नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिरहेको जनाएको छ ।

टेलिकमका अनुसार एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिनेछ । त्यसैगरी केही समयमा यसबाटै आईपी टिभी (टेलिभिजन सेवा) समेत उपलब्ध हुने समेत जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०