close

ठूला टेक कम्पनीका लागि कमला ह्यारिस किन सुखद समाचार ?

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १६:४५

ठूला टेक कम्पनीका लागि कमला ह्यारिस किन सुखद समाचार ?

काठमाडौं । ठूला ठूला टेक कम्पनीहरुमाथि लगाइरहेको लगामको प्रयासलाई विश्वले नियालिरहेको छ । ठूला टेक कम्पनीलाई धराशायी बनाउन ‘एन्टी ट्रस्ट’ अनुसन्धान अमेरिका र ईयू दुवैतिर जारी छ ।

यसबीच अमेरिकी उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसको आगमन ‘फ्याङ’ फेमिली अर्थात् फेसबुक, एप्पल, अमेजन, नेटफ्लिक्स र गुगलका लागि ठूलो बरदान बनेको छ । 

त्यसो त गत वर्ष फेसबुक कम्पनीबारे कडा टिप्पणी गर्ने कमला ह्यारिस पछिल्लो समय नरम देखिन्छिन् । उनले टेक कम्पनीको सुधार र उपभोक्ताहरुको तथ्याङ्कको राम्रो सुरक्षालाई लिएर आवाज उठाउँदै आएकी छिन् । 

‘फेसबुकले व्यापक वृद्धि हासिल गरेको छ र आफ्नो विकासको प्राथमिकता उपभोक्ताको फाइदालाई बनाएको छ । फेसबुकलाई तोड्ने कुरामा फेरि गम्भीर रुपमा सोच्न आवश्यक छ । यसको युटिलिटी हो, जुन नियमन हुन सकिरहेको छैन,’ सीएनएनसँगको अन्तरवार्तामा कमलाले भनिन् । 

ह्यारिस सान फ्रान्सिस्कोको राजनीतिबाट आएकी हुन् । यसैले सिलिकन भ्यालीमा उनका धेरै साथी र सहकर्मीहरु छन्, जो ठूला टेक कम्पनीका धनाढ्य समूहमा समेत पर्दछन् । 

जब गत अगस्टमा बाइडेनले ह्यारिसलाई डेमोक्रेट्सबाट उपराष्ट्रपति उम्मेद्वारको रुपमा चयन गरे । तब फेसबुककी सीओओ श्रेयल स्याण्डवर्गले इन्स्टाग्राममा ह्यारिसको फोटो पोस्ट गर्दै विश्वभरका श्वेत महिला तथा युवतीहरुका लागि ठूलो क्षण भएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।  

सन् २०१४ मा उनी क्यालिफोर्नियाको महान्याधिवक्ताको रुपमा चुनाव लड्दा पनि सेल्सफोर्सका सीईओ मार्क बेनिओफ, एयरबीएनबीका सीईओ ब्रायन चेस्की र याहूका कार्यकारी म्यारिस्सा मायर र एप्पलका जोन इभ आदि ‘फण्डरेजर’ थिए । 

महान्याधिवक्ता र सिनेटर दुवैको भूमिकामा ह्यारिसले सधै अनलाइन प्लेटफर्मलाई ‘रिभेन्ज पोर्न’को विरुद्ध लडाईं गर्न दबाब दिँदै आइरहेकी छन् । 

डेमोक्रेटका फण्डरेजर कुपर टेबोइले भक्ससँगको अन्तरवार्तामा क्यालिफोर्नियामा सिलिकन भ्याल्लीको डोनर समुदायको ह्यारिसको चयनबाट एकदमै खुशी रहेको बताएका छन् । टेक, रिपाट्रिएसन र कर जस्ता विषयमा उक्त समुदाय चिन्तित थियो । 

डेमोक्रेट्स दलको प्राथमिक वादविवादमा ह्यारिसले ‘जवाफदेहिता’ को नाममा ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्टलाई बन्द गरिदिनु पर्ने बताएकी थिइन् । 

अब राष्ट्रपति बाइडेनको कार्यकालमा टेक कम्पनीहरुले प्रमुख रुपमा निशाना गर्नुपर्ने विषय भनेको एन्टी ट्रस्ट कानुनको संशाेधन हो । 

गत महिना दुई दशकयताकै सबैभन्दा ठूलो एन्टी ट्रस्ट मामिला टेक कम्पनीले बोहर्नुपरेको थियो । जब अमेरिकी न्याय मन्त्रालय र ११ स्टेट महान्याधिवक्ताले गुगलविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा अनलाइन सर्चको डोमेनमा उसले आफ्नो मार्केट पोजिसनको दुरुपयोग गरेको आरोप थियो । 

अमेरिकी प्रतिनिधिसभाका नीति निर्माताहरुले फेसबुक, अमेजन, गुगल र एप्पलमाथि एकाधिकार शक्तिको दुरुपयोग गरेको ४४९ पेजको रिपोर्टमा आरोप उल्लेख गरेको छ । 

सिलिकन भ्यालीबाट आएको कारण ह्यारिसले अन्यलेभन्दा ठूला टेक कम्पनीलाई राम्रोसँग बुझेकी छिन् । उनीबाहेक टेक कम्पनीलाई बुझ्ने र फेसबुक गुगललाई तोड्न खोज्ने डेमोक्रेट्स एलिजावेथ वारेन पनि एक हुन् ।

(ग्याजेट्स नाउबाट) 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०