close

१० औं वार्षिकोत्सवको अवसरमा ५० प्रतिशतसम्म छूट दिँदै फुडमाण्डु

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १९:३३

१० औं वार्षिकोत्सवको अवसरमा ५० प्रतिशतसम्म छूट दिँदै फुडमाण्डु

काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले स्थापनाको १० औं वार्षिकोत्सवको मनाउँदैछ । कम्पनीले नेपालका १० वटा स्टार्टअपसँगको सहकार्यमा १० दिनसम्म आफ्नो वार्षिकोत्सव मनाउने भएको हो ।

सस्तो डिल, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टिक, कटन मिल्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् ।

जसअन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीमार्फत फुडमाण्डुको फुड डेलिभरी गराएर ग्राहकलाई सरप्राइज दिने योजना रहेको कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी दिए ।

त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले यस अवधिमा सहकार्यमा जोडिएका कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि आफ्नो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस प्रकारको सहकार्यले नेपाली स्र्टाटअपहरुबीच सहकार्यको विकास हुनुका साथै नेपाली ग्राहकहरुमाझ स्थानीय कम्पनीहरुको प्रवर्द्धन गराउन सहयोग पुग्ने विश्वास लिइएको कम्पनीका संस्थापक मनोहर अधिकारीले व्यक्त गरे ।

कम्पनीले यसै अवसरमा नोभेम्बर ११ देखि २१ तारिखसम्म विशेष अफर तथा सेवा उपलब्ध गराउने घोषणा समेत गरेको छ। जसअन्तर्गत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छूट उपलब्ध गराइनेछ ।

साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यास ब्याक पाउनेछन् । यसका साथै कम्पनीले आफ्नो वार्षिकोत्सवको छेको पारेर फुडमाण्डु फ्रेशको अफिशियल लोगो समेत सार्वजनिक गरेको छ ।

फुडमाण्डु फ्रेशले फ्रेश ग्रोसरी डेलिभरी सेवाहरु निना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोसरीबाट सोझै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा ताजा तरकारी, फ्रोजन मिट, बेकरी आइटम र फलफुल लगायतका ताजा उत्पादनहरु समेत रहेका छन् ।

कम्पनीले नयाँ सेवा ‘फुडमाण्डु गो’ को समेत घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुका लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ ।

जसअन्तर्गत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लिटलाई प्रयोग गर्न सकिने ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख मालीले बताए । ‘फुडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा विस्तार गर्न उपयोगी हुनेगरी ल्याइएको हो,’ उनले भने ।

नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक एक हजारभन्दा बढी फुड डेलिभरी गर्दै आएको छ । कम्पनीले नेपालमा २५० जना भन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ । फुडमाण्डुले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा विस्तार गर्दै लाने योजना पनि बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०