close

‘विद्यार्थीलाई निःशुल्क सिम’

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ ९:३६

‘विद्यार्थीलाई निःशुल्क सिम’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक विद्यालयमा अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम वितरण गरी इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । मन्त्री गुरुङले कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा मङ्गलबार अनुगमनका क्रममा यस्तो बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले चालु शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा आवश्यक पहल गरिने उल्लेख गरे । उनले स्थानीय तहका हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा इन्टरनेट सेवा द्रुत गतिमा विस्तार गर्न निर्देशन समेत दिए ।

सिंहदरबारमा समेत इन्टरनेट सेवा गुणस्तरीय नभएको चर्चा गर्दै मन्त्री गुरुङले सेवा गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक व्यवस्था मन्त्रालयका तर्फबाट गरिने वचनवद्धता प्रकट गरे ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ काम अगाडि बढाएको र त्यसमा केही समस्या आएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताए । उनले भनेका थिए, ‘विदेशमा बसेर नेपालको सम्बन्धमा भ्रामक अफवाह फैलाउने काम रोकिनुपर्छ ।’

यस्तै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौता अनुसारका काम तोकिएको समयभित्र सम्पन्न गर्न मातहत निकायलाई निर्देशन दिए ।

-गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०