close

राउटर र मोडेममा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ १२:२५

राउटर र मोडेममा नझुक्किनुहोस्, यस्तो छ फरक

काठमाडाैं । जब तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ तब मोडेम र राउटर दुवै प्रयोग गर्नुहुन्छ । तर यी दुई चिज के हुन् त ? अनि यिनीहरुले कसरी सँगै काम गर्छन् त ? वास्तवमा मोडेम इन्टरनेटको ढोका हो भने राउटरले इन्टरनेट र ट्राफिकलाई दिशा देखाउँछ ।

तपाईंले राउटर र मोडेम छुट्टा छुट्टै प्रयोग गर्नुहुन्छ । चाहेको खण्डमा यी दुवैको फङ्सनले एकसाथ काम गर्ने प्रविधि पनि हामीसँग छन् । तर यसअघि तपाईंले मोडेम र राउटरको बारेमा विस्तृत रुपमा थाहा पाउन आवश्यक छ । 

मोडेम के हो र यसले कसरी काम गर्छ ?

मोडुलेटर डिमोडुलेटरको छोटो रुप हो मोडेम । यसले सिग्नललाई मोडुलेट तथा डिमोडुलेट गर्दछ । तपाईंको कम्प्युटरले डिजिटल सिग्नल बुझ्छ, तर एनालग बुझ्दैन । जब कुनै सिग्नल तपाईंको कम्प्युटरबाट बाहिर निस्केर इन्टरनेटको दुनियाँ जान लागेको हुन्छ त्यो एउटा डिजिटल सिग्नलको रुपमा रहेको हुन्छ । 

तर मोडेमले त्यसलाई एनालगमा परिवर्तन गरिदिन्छ र त्यो सिग्नल तपाईंको केबल वा टेलिफोन तारको माध्यमबाट एनालगको रुपमा अगाडि जान्छ ।

यस्तै यदि कुनै सिग्नल एनालगको रुपमा बाहिरबाट आउँदैछ भने यसले त्यो सिग्नललाई डिजिटलको रुपमा बदलेर तपाईंको बुझ्ने भाषामा कम्प्युटरमा डिस्प्ले गरिदिन्छ । 

यस्तोमा मोडेमले डिजिटल र एनालगबीच सेतुको काम गर्दछ । यसले डेटा रिसिभ गर्न तथा बोक्न ट्रान्समिसनको निमयन गर्दछ । यो इन्टरनेटको ढोका हो, जसले तपाईंको घरमा रहेका सबै डिभाइसबीच केबल वा टेलिफोन लाइनको माध्यमबाट डेटा लेनदेनको काम गर्दछ ।

यसलाई एउटा इन्टरप्रेटरको रुपमा लिन सकिन्छ, जसले सबै कुरालाई सम्भव बनाउँछ । यसले घर तथा कार्यालयभित्र इन्टरनेटलाई ठूलो पूर्वाधार हाईवेदेखि सानो बाटो हुँदै ल्याउँछ । 

मोडेमको अगाडितिर साना-साना धेरैवटा लाइट्स एलईडी हुन्छन् । जसमध्ये एउटाले बिजुली आइरहेको जानकारी दिन्छ । अर्कोले इन्टरनेट सेवाप्रदायकबाट डेटा रिसिभ गरिरहेको जानकारी दिन्छ ।

यस्तै अर्कोले मोडेमले सफलतापूर्वक डेटा पठाइरहेको संकेत दिन्छ । यदि डेटा सेन्ड तथा रिसिभ गर्ने लाइट झिमक झिमिक गरिरहेको छ भने तपाईंको सेवा प्रदायक वा कनेक्सनमा समस्या भएको बुझ्नुपर्छ ।  यस्तै अर्को एउटा लाइटले भने कुनै पनि वायर डिभाइसले इन्टरनेट एक्सेस गरेको छ वा छैन, त्यसको जानकारी दिन्छ ।

तपाईंको घरमा यदि टेलिफोन वा केबलको वायर छ भने त्यसमा मोडम जोडिदिनुहोस् र त्यो मोडेमबाट एउटा तार सीपीयुमा जोडिदिनुहोस्  । यसरी तपाईं मोडेमको प्रयोग गर्नसक्नुहुन्छ । 

राउटर के हो कसरी काम गर्छ ?

राउटर भनेको सिग्नललाई राउट गर्ने टुल हो । यसको मुख्य काम भनेको सिग्नल वा नेटवर्कलाई ठीक ढंगले स्पिल्ट गरी विभाजन गरेर त्यसको राउटिङलाई ह्याण्डल गर्न हो ।

कुनै समय हामीसँग घरमा एउटा मात्र कम्प्युटर हुन्थ्यो । अरु कुनै पनि डिभाइस हुँदैन थियो । तर आजको समयमा हामी इन्टरनेटमा कति धेरै डिभाइस, कम्प्युटर तथा इन्टरनेट अफ थिङ्क्सहरु जोडिएका छन् ।

यस्तो अवस्थामा तपाईंलाई एउटा राउटरको खाँचो पर्दछ जुन वायर र वायरलेस दुवै किसिमका हुन्छन् । राउटरको मुख्य काम भनेको मोडेमबाट आएको इनपुटलाई विभिन्न च्यानल तथा डिभाइसमा ठिक ढंगले सिग्नल बाड्नु हाे ।

यसमा तपाईंको ल्यापटप, मोबाइल, टिभी, गेमिङ कन्सोल जे पनि हुन सक्छ । राउटरको काम भनेको बाहिर गइरहेका सिग्नलाई सही ढंगले राउट गर्ने हो । ताकि तपाईंले कुनै वेबसाइट स्मार्टफोनमा हेर्न खोज्दा ल्यापटपमा नखुलोस् ।

कुनै भिडियो क्रोमकास्टमा रिक्वेस्ट गर्दा मोबाइलमा नखुलोस् । कुन सिग्नल वा ट्राफिक कताबाट आएर कता गइरहेको छ, यी सबै कुराको नियमन तथा राउटिङको काम नै राउटरले गर्दछ ।  

यसले काम गर्ने तरिकाको बारेमा थाहा पाउनुअघि तपाईंले हाम्रो डिभाइसको आईडी थाहा पाउनुपर्छ । हामीले प्रयोग गर्ने सबै डिभाइस एउटै वाईफाई नेटवर्कमा जोडिएको हुन्छ ।

यो नेटवर्कभित्र धेरै डेटा ट्राफिक ओहोर-दोहोर भइरहेको हुन्छ । जब तपाईं गुगलमा केही कुरा मोबाइलबाट सर्च गर्नुहुन्छ भने तपाईंको डिजिटल सिग्नल मोडेमको माध्यमबाट एनालग सिग्नलमा परिवर्तन हुन्छ ।

यस्तोमा अब तपाईंले खोजेको कुरा प्राप्त गर्न तपाईंको सिग्नल गुगलको सर्भरमा पुगेर त्यहाँ रहेको डेटा सिग्नल प्राप्त गरेर तपाईको डिभाइसमा आउनुपर्छ ।

तर तपाईंको नेटवर्कभित्र यति धेरै सिग्नलहरु हुन्छन्, त्यसलाई कुन डिभाइसमा राखिदिने भन्ने कुरा तपाईंको डिभाइसको आईडीबाट राउटरले पहिचान गरी सबै डेटालाई त्यसको निर्दिष्ट ठाउँमा पुर्‍याएर सम्बन्धित डिभाइसमा ल्याइदिन्छ । यसरी नै राउटरले सिग्नल तथा ट्राफिक राउटिङको काम गर्दछ । 

कोम्बो डिभाइस 

यी दुवै फरक डिभाइस हुन् र यिनीहरुको काम फरक छन् । तर आज भोलिको आधुनिक डिभाइस एउटा कोम्बो डिभाइस बनेको छ, जसमा मोडेम र राउटर दुवै राखिएको हुँदा यसमा धेरै वटा फङ्सन पाइन्छ र यसले हामीलाई पनि मोडेम र राउटरको अर्थमा उल्झन पैदा गरिदिएको छ  । यस्ता डिभाइसले एकसाथ राउटर र मोडेमको काम गरिरहेको हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०