close

१६ मुलुकलाई साइबर थ्रेटसँग लड्न सघाउँदै २४ वर्षीय नेपाली ह्याकर

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १७:२८

१६ मुलुकलाई साइबर थ्रेटसँग लड्न सघाउँदै २४ वर्षीय नेपाली ह्याकर

काठमाडौं । एक दशकअघि कैलाली जिल्लाको सुदूर ठाउँमा इन्टरनेटको सुविधा थिएन । तर पाँच कक्षामा पढिरहेका योगेश ओझाकाे भने घरमा मामाले ल्याइदिएको कम्प्युटर थियो । कम्प्युटरमा खुबै जीटीए भाइसिटी गेम खेल्थे उनी ।

गेम खेल्दै जाँदा गेम कसरी बन्ला भन्ने जिज्ञासा उनको मनमा पलाएको थियो । काैतुलहतामा घाेत्लिन थाले । यसैमा रमाउन थाले । आफूलाई रुचि लागेको विषयमा खोज अनुसन्धान गर्ने उनको बानीले घरका जुनसुकै विद्युतीय सामग्रीहरु ठिक अवस्थामा हुँदैन थिए ।

गेमिङको जिज्ञासाले तानिएर एकदिन उनले ईएक्सई फाइल नोटप्याडमा खोले । त्यो खोलेर हेर्दा उनले धेरै नबुझिने शब्द र अक्षरहरु देखे । पछि स्कुल गएर गोविन्द जोशी सरलाई सोध्दा सरले त्यो प्रोग्रामिङ हो भनिदिए पछि त उनलाई के चाहियाे र !

प्रोग्रामिङका बारेमा खोज अनुसन्धान गर्न थाले । विस्तारै कोडिङ बुझ्न थाले । रुचि बढ्दै गयाे । तर अहिले जस्तो इन्टरनेट कहाँ थियो र त्यसबेला । बुवाको खल्तीबाट पैसा झिकेर नजिकैको साइबरमा बुक प्रिन्ट गरी कोडिङ सिक्न थाले । 

त्यसैवर्ष उनीसँग पाँच कक्षा पढ्ने २० विद्यार्थीमध्ये १७ जना कम्प्युटर साइन्सको क्युबेसिक भन्ने विषयमा फेल भए । जसमा उनी पनि थिए । रिपोर्ट कार्डमा फेल रिमार्क देखिसकेपछि शिक्षक समेत रहेका आफ्नो बुवाले योगेशलाई थप्पड लगाए ।

इखालु स्वभावका योगेशले त्यही बेला कम्प्युटर साइन्समा केही गर्छु भन्ने प्रण लिए । कोडिङको शिलशिला जारी रह्यो । योगेश प्लस टु पढ्नलाई काठमाडौंकाे बनहार्ट कलेजमा आए । 

काठमाडाैंमा आएपछि उनलाई रोबोटिक्समा रुचि थियो । रोबोट बनाउने, बिगार्ने काम गरिरहन्थे । ह्याकथनहरुमा सहभागी हुन थाले । धेरै ह्याकथनका प्रतिस्पर्धा पनि जिते । 

प्लस टु सकेपछि इन्जिनियरिङको यात्रा सुरु भयो । उनी बैङ्लोरमा पुगे । त्यसैबेला टाटा कन्सल्ट्यान्सी सर्भिस कम्पनीले कर्मचारीका लागि अल इन्डिया परीक्षा लिएकाे थियाे । उनी त्याे परीक्षामा सहभागी भई पुरै भारतबाट शीर्ष १० को सूचिमा आएर टाटामा काम गर्न थाले । 

‘बैङ्लोरमा इन्जिनियरिङ पढ्दै गर्दा टाटा कन्सल्ट्यान्सीले अल इन्डिया परीक्षा लिएको थियो । त्यसबेला मेरो र्‍याङ्क पुरै भारतमा टप टेनमा थियो । त्यहाँ पहिलो वर्षदेखि नै त्यहाँ रिसर्च गर्न पाएँ । कम्पनीले राम्रो तलब र सेवा सुविधा दियो,’ उनले सुनाए ।

टाटामा दुई वर्ष काम गरेपश्चात योगेश अहिले साइप्रसको टीआरजी रिसर्च एण्ड डेभलपमेन्ट कम्पनीमा काम गरिरहेका छन् । 

धनगढीको सुदूर ठाउँदेखि आफ्नो प्यासनले योगेशलाई आज टीआरजी जस्तो ग्लोबल प्लेटफर्ममा पुर्‍याएको छ, जहाँ उनी १६ वटा मुलुकहरुलाई आतंकवाद जस्ता विश्वका संवेदनशील समस्याकाे न्यूनीकरणका गर्न सहयोग गरिरहेका छन् । 

‘टीआरजी रिसर्च एण्ड डेभलपमेन्ट साइप्रसको कम्पनीमा म अहिले काम गर्दैछु,’ योगेश भन्छन्, ‘हामी विश्वका १५/१६ वटा मुलुकहरुसँग काउन्टर टेरोरिज्म, ड्रग कार्टल, एक्सटोर्सन, किडन्यापिङ लगायतका समस्याकाे समाधान गर्न सहयोगका काम गर्छौं । हामी डेटा फ्युजन कम्पनी हौं । मसिन लर्निङ एआई प्रयोग गरेर काम गर्छौं । मेरो जिम्मेवारी चैं साइबर सुरक्षातर्फ केन्द्रित छ ।’

उनले अगाडि भने, ‘टेलिकम कम्पनीहरुमा भल्नरेबिलिटी पत्ता लगाएर सरकारलाई दिने हो । ती मुलुकका सरकारले मागेका व्यक्ति तथा संस्थाको विवरण जानकारी हामीले दिनुपर्छ र त्यो डेटा पोइन्टलाई सरकारले प्रयोग गरेर समस्याको समाधन गर्छन् । हाम्रो ‘जियोप्लस’ नामकाे प्लेटफर्म छ जसलाई हामी ‘गुगल अफ टेरर एण्ड क्राइम’ भन्छौं । त्यो सरकारका लागि विशेषगरी सर्च इन्जिन हो ।’

साइबर सेक्युरिटी इन्जिनियर तथा डेभलपर योगेशले लकडाउनकै क्रममा गत मार्चमा रिइन्जिन नामको ओपनसोर्स टुल बनाए । योगेशको सोही टुल पहिलोपटक ह्याकरहरुको महत्वपूर्ण सम्मेलन ब्ल्याकह्याटको आर्सनल इभेन्टमा प्रदर्शन हुँदैछ ।

ब्ल्याकह्याटको यस्तो महत्वपूर्ण समारोहमा प्रदर्शन हुन लागेको सम्भवत: यो पहिलो नेपाली टुल हो र सम्मेलनमा प्रस्तुति दिने योगेश पनि पहिलो नेपाली नै हुनेछन् । 

‘ब्ल्याकह्याटमा चाहिँ रिइन्जिन टुलका लागि मेरो उपस्थिति हुन लागेको हो,’ योगेश आफ्नो टुलको बारेमा अगाडि भन्छन्, ‘यो मैले बनाएको एउटा ओपनसोर्स टुल हो । पेनटेस्टिङमा रिकनिसेन्स भनिने डेटा संकलनको एउटा महत्वपूर्ण चरण हुन्छ ।

‘जहाँ हामी तथ्याङ्क तथा जानकारीहरु संकलन गर्छौं । कसैले जीओभी डट एनपी डोमेनको जानकारी चाहियो भने त्योसँग सम्बन्धित कति जानकारी चाहिन्छ यो टुलले त्यो प्रदान गर्छ ।’ 

काेभिडका कारण लकडाउन सुरु भएपछि योगेशले बनाएको यो टुल छोटो समयमै चर्चित बन्याे । त्यो टुल अहिले पनि गिटहबमा ट्रेण्डिङमै रिपोजेटरीको रुपमा रहेको उनले सुनाए ।  

योगेशले बनाएको यो टुल टप सेक्युरिटी टुलको सूचीमा आइसकेको छ । ब्ल्याकह्याटले यसलाई आर्सनल नामको एउटा कार्यक्रममा प्रस्तुत गर्न लागेको हो । आर्सनलले सेक्युरिटीको क्षेत्रमा विगत दुई वर्षयता बनेका विश्वभरीका ओपनसोर्स टुलहरुलाई चयन गर्दछ । 

‘यसपटक भारतबाट चारवटा टुलहरु छन्, जसमध्ये एउटा मैले बनाएको एक हो । तर म नेपाली भएको कारणले त्यो टुल नेपाली हो र नेपालको पहिलो टुल पनि हो ।’

२४ वर्षका योगेश भन्छन्, ‘कार ह्याकिङमा मेरो प्यासन र काम थियो । त्यहाँ काम गरिरहँदा रिइन्जिन टुल बनाएको हो । यसबाहेक रोबट बनाउने, तोड्ने कामचाहिँ सानैदेखि म गर्ने गर्थें । अहिले चाहिँ यही साइप्रसको कम्पनीमा त्याे सीप प्रयोग गरेर काम गरिरहेको छु ।’

सुरुवातमा रोबोटिक्स रिसर्च हुँदै टाटाबाटै योगेशले कार ह्याकिङ तथा आईओटी, मोबाइल एप्लिकेसन सेक्युरिटी रिसर्चको काम गर्न थाले । सोही अवधिमा उनले डेढ दर्जनभन्दा बढी मुलुक तथा विभिन्न सम्मेलनहरुमा कार ह्याकिङ तथा आईओटी रिसर्च प्रेजेन्टेसन दिइसकेका छन् । 

‘गत वर्षमात्र १४/१५ वटा ठूला विश्वस्तरका सम्मेलनहरुमा आफ्नो रिसर्च पेपर प्रस्तुत गरेँ’ उनी भन्छन्, ‘विभिन्न ट्रेनिङ तथा वर्कसपहरुमा पनि प्रशिक्षण दिएँ । आईओटी सेक्युरिटीमा फिटनेस ट्रयाकरमा बग फेला पारेको थिएँ ।

‘त्यसको रिसर्च मैले सिङ्गापुर र चीनमा आयोजना भएको ओपनसोर्सको सबैभन्दा ठूलो समिटमा प्रस्तुत गरेको थिएँ । सम्भवत: त्यहाँ म पहिलो र एक मात्र नेपाली पनि थिएँ ।’

ह्याकिङमा सक्रिय योगेश नेपालमा पनि आफू समानकै स्किलसेट भएका व्यक्तिहरू भएपनि पर्याप्त प्लेटफर्म नभएको गुनासाे गर्छन् । साइबर सुरक्षाको क्षेत्रमा कमाइ गर्न सीप, मुलुक र प्लेटफर्म सबै तत्वले फरक पार्ने उनको बुझाइ छ । 

‘म सायद नेपालमै भइरहेको भए यहाँसम्म पुग्न सक्ने थिइनँ । मलाई अनुसन्धान गर्न जुन टुलको आवश्यकता पर्छ, त्यो यहाँ केही समयमै पाइन्छ । तर नेपालमा पाउन सकिन्न । नेपालमा ड्रोन बनाउन विदेशबाट सामान ल्याउनपर्थ्याे । यसका लागि धेरै समयसम्म कुर्नुपर्थ्यो,’ उनले भने ।

वास्तवमा एउटा रिसर्चरका लागि सही वातावरण हुन सकेकाे भए यसकाे लाभ मुलुकले नै पाउने बताउँदै उनी त्याे दिशातिर नेपाल नगएकाे तर्क गर्छन् ।

उनी अगाडि भन्छन्, ‘अहिले काम गरिरहेको कम्पनीले हामीलाई कुनै पनि अनुसन्धानमा पर्याप्त अनुदान दिन्छौं भन्छन् । तर नेपालमा त्यो सुविधा छैन । नेपालमा ह्याकर छन् । तर पर्याप्त प्लेटफर्म छैन ।’

उनले काम गर्ने कम्पनीले विश्वका विभिन्न कुनाबाट टप ह्याकरसँग काम गरिरहेको छ । नेपालमा पनि त्यो स्किल सेट भएका मान्छेहरु रहेकाे भनाइ उनकाे छ । ‘तपाईंको तलबलाई स्किलसेटदेखि देश सबैले भर पार्छ । जति विकसित मुलुक जानुहुन्छ, त्यति नै ठूलो प्लेटफर्म पाउनुहुन्छ । नेपालमा चाहिँ प्लेटफर्मकै ल्याग छ,’ उनले सुनाए ।  

उनी थप्छन्, ‘पैसाभन्दा पनि प्यासनबाट याे काममा लागिपरेका छु । प्यासन अहिले पैसामा परिवर्तन हुँदा निकै खुशी छु। ‍’

योगेशले यो सुविधा, अवसर र रिवार्ड त्यतिकै पाएका भने होइनन् । यसका लागि उनले जति मेहेनत गरेका छन्  त्यति मेहेनतले उनलाई यसैप्रति अभ्यस्त बनाइसकेको छ । कोडिङ आफ्नो डीएनएमा नै भएको महसुस गर्छन् उनी । 

‘यो क्षेत्रमा मेहेनत त धेरै नै गर्नुपर्छ,’ योगेश भन्छन्, ‘प्यासनको रुपमा लिइसकेको कामलाई म टाइम पाइनँ, फुर्सद भइनँ भनेर कहिल्यै भन्दिनँ ।’

‘दुईचारवटा ओपनसोर्स प्रोजेक्ट ह्याण्डल गरिरहेको छु । मेहेनतलाई कसरी लिने भन्ने हो । हामी धेरै सरकारसँग काम गरिरहेका हुन्छौं । कसैको रात हुँदा कसैको दिन हुन्छ । यसैले व्यक्तिगत कुरा भन्न पाइन्न । किनभने मैले चुज गरेको फिल्ड हो यो । काम जति चुनौतीपूर्ण भयो त्यति नै रमाइलो हुन्छ । त्यही अनुसारको रिवार्ड पनि हुन्छ,’  उनी सुनाउँछन् । 

धनगढीको एउटा सानो ठाउँमा जन्मेर आज १५/१६ मुलुकलाई आतंकवादसँग लड्न मद्दत गरिरहेको सम्झँदा उनी खुशी छन् । अनुसन्धान प्रस्तुति तथा प्रशिक्षणका लागि विभिन्न विश्वविद्यालय तथा कलेजहरुले समेत उनलाई बोलाइरहेका हुन्छन् ।

अन्तराष्ट्रियस्तरका कार्यक्रमहरुमा पनि निरन्तर उपस्थिति हुन पाइरहेका छन् योगेशले । कलिलो उमेरमै यति ठूलो सफलता हात पारिसकेका उनी यस क्षेत्रमा प्रवेश गरेर धेरै सिक्न पाएको बताउँछन् । आफ्ना उमेरका कति साथीहरु कम्प्युटरबाट कसरी गर्छौं भनेर उनलाई सोध्छन् । तर आफूले गर्ने काम एकदमै रमाइलो र रोचक रहेको उनी बताउँछन् । 

आफ्नो जिज्ञासा र त्यसलाई मेट्ने तत्परता र नियमित लगावका कारण यहाँसम्म आइपुगेका योगेश धैर्य र मेहेनत गर्ने क्षमता हो भने सिक्न र प्राप्तिका लागि कुनै पनि सीमितता नहुने उनी बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०