close

अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि रजिस्ट्रेसन खुल्ला, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १३:४०

अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि रजिस्ट्रेसन खुल्ला, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सन् २०२१ को लागि सबै जसो अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि रजिस्ट्रेसन खुल्ला गरिएको छ । अन्तरराष्ट्रिय विज्ञान दिवशको अवसर पारेर स्टिम फाउण्डेसन नेपालले रजिस्ट्रेसन खुल्ला गरेको हो ।

खेलकुदको क्षेत्रमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ओलम्पिक गेम भने जस्तै वौदिक क्षेत्रमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई अन्तर्राष्ट्रिय ओलम्पियाड भनिन्छ । विज्ञानका विभिन्न विषयहरुमा हुने उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय ओलम्पियाड हरेक वर्षको जुलाईदेखि अगस्ट महिनामा फरक फरक राष्ट्रहरुमा आयोजना हुने गरेको छ ।

कोभिड– १९ का कारण सन् २०२० का सम्पूर्ण कार्यक्रमहरु अनलाइनमै भइरहेका छन् । सन् २०२१ को तयारी समेत सुरु भइसकेको छ । हरेक अन्तर्राष्ट्रिय ओलम्पियाडमा विद्यार्थीहरुको सहभागीताका लागि सम्बन्धित देशको राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गरी उत्कृष्टको छनौट हुने गर्दछ ।

परीक्षा चरण पार गरेपछि आयोजक संस्थाका प्रतिनिधि, विशिष्ट प्रध्यापक, विज्ञ, वैज्ञानिक एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिको टोलिले राष्ट्रिय टोली छनोट गर्दछ । स्टिम फाउन्डेसनले नेपालमा ८ वटा अन्तर्राष्ट्रिय ओलम्पियाडको संयोजन गर्दै आएको छ ।

बिभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा हालसम्म नेपाली विद्यार्थीहरुले पाँच कास्य पदक भित्र्याइसकेका छन् । साथै ओलम्पियाडमा सहभागी भएका विद्यार्थीहरु हार्वर्ड, प्रिन्सटन, याले, एमआईटी, एनवाईयू जस्ता विश्वकै उत्कृष्ट विश्वविद्यालयमा भर्ना भएर अध्ययनरत छन् ।

कुनै पनि विद्यार्थीले आर्थिक अवस्था वा भूगोल जस्ता कारणले यो अवसरबाट वञ्चित हुन नपरोस् भन्ने आफूहरुले चाहेको स्टिम फाउण्डेसनले जनाएको छ । ओलम्पियाडमा सहभागी हुन यहाँ क्लिक गरी रजिस्टर गर्न सकिनेछ ।

कोभिड १९ को महामारी अवधिभर ओलम्पियाड प्रचारमा लागिएको फाउन्डेसनका अध्यक्ष सर्जन बिसीले बताए ।

फाउन्डेसनले यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान लगायतका संस्थाहरुसँग मिलेर अन्तर्राष्ट्रिय ओलम्पियाड बारे प्रादेशिक सेमिनार एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

त्यसक्रममा सबैजसो अन्तर्राष्ट्रिय ओलम्पियाडका अध्यक्ष एवम् प्रतिनिधिहरुले प्रस्तुति दिएका थिए ।ती प्रस्तुति स्टेम फाउन्डेसन नेपालको सामाजिक सन्जालमार्फत हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०