close

अस्तित्व जोगाउन ह्वावेले गर्‍यो अनर फोनको व्यवसाय बिक्रीको घोषणा

टेकपाना टेकपाना

मंसिर २, २०७७ १७:३

अस्तित्व जोगाउन ह्वावेले गर्‍यो अनर फोनको व्यवसाय बिक्रीको घोषणा

काठमाडौं । अमेरिकी प्रतिबन्धको सामना गरिरहेको ह्वावेले आफ्नो अस्तित्व जोगाउन अनर स्मार्टफोनको युनिट बिक्री गर्ने भएको छ । गएको सोमबार एक स्टेटमेन्ट प्रकाशित गर्दै कम्पनीले खरिदकर्ताको एक कन्सोर्टियमसँग अनरको व्यवसाय बिक्री गर्ने घोषणा गरेको हो ।

३० भन्दा बढी चिनियाँ डिलर तथा एजेन्ट सहितको एउटा समूहसँगको संयुक्त विज्ञप्तिमा ह्वावेले भनेको छ, ‘यो अधिग्रहणले अनरको उद्योग सञ्जाललाई जोगाउन बजार निर्देशित लगानीलाई प्रतिनिधित्व गर्नेछ । यो नै अनरका उपभोक्ता, बिक्रेता, सप्लायर्स, साझेदार र कर्मचारीको स्वार्थ रक्षाको उपयुक्त समाधान हो ।’

बिक्रीको यो घोषणा यस्तो पृष्ठभूमिमा आएको छ, जतिखेर ट्रम्प प्रशासनले चिनियाँ कम्पनीको चिप सप्लाईमाथि कडा प्रतिबन्ध लादेको छ । कारोबारको शर्तहरु नखुलाइए पनि रोयटर्समा प्रकाशित रिपोर्टले यो डिल १५ अर्ब डलरभन्दा माथिको रहेको उल्लेख गरेको छ ।

बिक्रीको प्रकृया सम्पन्न भइसकेपश्चात ह्वावेसँग अनर कम्पनीको कुनै पनि शेयर बाँकी नरहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । अनर ह्वावेको बजेट सेग्मेन्टको सब ब्राण्ड हो, जसले चीन सहित युरोप र दक्षिण पूर्वी एसिया क्षेत्रका युवा ग्राहकलाई लक्षित गर्दै सस्ता मूल्यका स्मार्टफोनहरु बिक्री गर्दै आएको छ ।

स्टेटमेन्ट अनुसार सात वर्ष पुरानो यो कम्पनीले वार्षिक सात करोड फोन निर्यात गर्दै आएको छ । अनरका उत्पादन प्रायः ह्वावेको प्रविधिमा निर्भर छन् र केही अनर फोनहरु ह्वावेको कटिङ एजे किरिन चिपसेटमा समेत रन हुने गरेका छन् ।

‘पछिल्लो समय ह्वावेको कञ्जुमर विजनेस निकै नै दबावमा रहेको छ,’ कम्पनीले आफ्नो स्टेटमेन्टमा भनेको छ, ‘यो सबै हाम्रो मोबाइल फोन व्यवसायका लागि विद्यमान आवश्यक प्राविधिक उपकरणको अनुपलब्धताकै कारण सिर्जना भएको हो ।’

‘अनर उद्योगको चेन स्वयम् रुपमा अस्तित्वमा रहन सकोस् भन्ने उद्देश्यले नै यो निर्णय लिइएको हो,’ ह्वावेले भनेको छ । संयुक्त वक्तव्यअनुसार यो खरिद कार्य सेन्जेन जिन न्यु इन्फरमेसन टेक्नोलोजी कम्पनीको नामबाट हुनेछ ।

यो कम्पनी माथि उल्लेखित खरिदकर्ताको कन्सोर्टियम तथा सेन्जेनको चाइनिज सिटीको सेन्जेन स्मार्ट सिटी टेक्नोलोजी डेभलपमेन्ट ग्रुप कम्पनीले खडा गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०