close

बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गर्ने एप

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १४:२३

बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गर्ने एप

काठमाडाैं । अमेजन एलेक्साका एक पूर्व इन्जिनियरले तपाईंको बिरालोले गरेको म्याउँलाई पनि अनुवाद गरिदिने एप निर्माण गरेका छन् । उनले विकास गरेको ‘म्याउटक’ नामक एपले बिरालोको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ ।

बिरालो पाल्नेहरूले अनुवादलाई अङ्कित (लेभलिङ) गर्न सहयोग गर्न सक्छन् । आर्टिफिसियल इन्टेलिजन्स (एआई) सफ्टवेअरमा बिरालोको म्याउँका शब्दभण्डार बढाउन उनीहरूले सहयोग गर्न सक्छन् ।

हाल यो एपको शब्दकोषमा १३ वटा वाक्यांश रहेका छन् । त्यसमा “मलाई खुवाउनुहोस्”, “म रिसाएको छु” र “मलाई एक्लै छाडिदिनुहोस्” जस्ता वाक्याहरु रहेका छन् ।

कस्तो हुन्छ बिरालोको भाषा ? 

यसअघि भएका विभिन्न अध्ययनहरूले मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा नभएको देखाइसकेका छन् । बिरालाको म्याउँ आफ्नो मालिकअनुसार भिन्न हुन्छ । कुनै अन्यको तुलनामा धेरै नै प्रस्ट हुन्छन् ।

त्यसैले बिरालोका लागि एउटै डेटा बेसको साटो उक्त एपको अनुवाद हरेक बिरालो अनुसार फरक हुन्छ । आवाज रेकर्ड गर्ने र त्यसलाई अङ्कित गर्ने गरेपछि एआई र मसिन लर्निङ सफ्टवेयरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ र जति प्रयोग गर्‍यो त्यति नै आवाज पहिचान सही हुँदै जान्छ ।

एप विकासकर्ता एक्भेलोन इन्कका टेक्निकल प्रोग्राम म्यानेजर जेभियर सान्चेजले एउटा वेबिनारमा आफूहरुको अन्तिम लक्ष्य एउटा स्मार्ट-कलर विकास गर्नु भएको बताए । एपमा प्रविधिले तपाईंको बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ ।

‘म्याउटक’ले बिरालोको म्याउँको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने कोसिस गर्छ । कोरोना भाइरस महामारीका कारण अहिले मानिसहरू घरमा बस्नुपर्ने अवस्था आएकाले पनि यो निकै आवश्यक भएको सान्चेजले बताए ।

उनले भने, ‘यसले मानिसहरूलाई आफ्नो बिरालोसँग सञ्चार गर्न सक्षम बनाउनेछ वा कम्तीमा उनीहरूको बिरालोको इच्छा बुझ्न र महत्त्वपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्नेछ ।’

यो एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा नि:शुल्क उपलब्ध छ । विकासको प्रारम्भिक चरणमा रहेकाले यो एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिपयले एपमा त्रुटी उत्पन्न भएको उल्लेख गरेका छन् । कतिपयले चाहिँ एप मन परेको लेखेका छन् । यो एप मालिकले कसरी बिरालोको शब्दलाई अङ्कित गर्छन् भन्नेमा भर पर्ने भएकाले सञ्चारमा समस्या हुनसक्ने कतिपय विज्ञको मत छ ।

‘हामी सम्भवत: कहिल्यै पनि बिरालोको म्याउँलाई मानिसको शब्दमा रूपान्तरण गर्न सक्दैनौँ,’ बिरालोको आनीबानी बारेकी विज्ञ तथा ‘लेट्स टक अबाउट क्याट्स’की लेखिका अनिता केल्से भन्छिन्, ‘यो एप रमाइलोका लागि बनाइए जस्तो देखिन्छ र तपाईंलाई आफ्नो बिरालोसँग रमाइलो गर्दा कुनै हानि हुनेछैन ।’

बीबीसीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०