close

पुराना आईफोन स्लो बनाएपछि एप्पललाई ७३ अर्ब जरिवाना

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १९:५१

पुराना आईफोन स्लो बनाएपछि एप्पललाई ७३ अर्ब जरिवाना

काठमाडौं । त्यसो त अमेरिकी कम्पनी एप्पल प्रयोगकर्ताको हीत रक्षा गर्ने हिसाबले परिचित छ । तर कतिपय समय कम्पनीले यस्तो साबित गरेको छ कि उसले केवल मुनाफाका लागि काम गर्छ । ब्याट्रीगेट यसैमध्येको एउटा प्रकरण हो ।

एप्पलले ब्याट्रीगेट मामिला सेटलमेन्ट गर्नका लागि ११३ मिलियन डलर जरिवाना तिर्ने घोषणा गरिसकेको छ । अमेरिकाका करिब ३४ वटा राज्य मिलेर एप्पलमाथि अनुसन्धान गरिरहेका थिए ।

त्यस अघि समेत कम्पनीले यही मामिलामा ५०० मिलियन डलर पेनाल्टी व्यहोरिसकेको छ । एप्पलले आफ्ना प्रयोगकर्ताका पुराना आईफोन स्लो बनाएको आरोपमा ६१३ मिलियन डलर भुक्तान गर्नुपर्ने अवस्था आएको छ । यो समग्रमा करिब ७३ अर्ब रुपैयाँ हुन आउँछ ।

के हो ब्याट्रीगेट काण्ड ?

सन् २०१७ मा कम्पनीले एउटा यस्तो अपडेट जारी गर्‍यो, जसबाट पुराना आईफोन स्लो हुन पुगे । कम्पनीले अपडेट जारी गर्नु अघि प्रयोगकर्तालाई त्यसबारेमा जानकारी दिइएको थिएन ।

कम्पनीले अपडेटमार्फत पुराना आईफोन स्लो गरिदियो । प्रयोगकर्ताले यसबारेमा थाहा पाइसकेपछि एप्पलले एउटा दाबी प्रस्तुत गर्‍यो ।

जसमा पुरानो ब्याट्रीका कारण फोन आफैं शट डाउन हुने लगायतका अन्य समस्या नआउन् भन्नका लागि अपडेट दिइएको बताइएको थियो । तर कम्पनीको यस किसिमको दाबीमाथि प्रयोगकर्ताले विश्वास गरेनन् र अमेरिकाका ३४ राज्यले एप्पल विरुद्ध जाँच सुरु गर्ने तथा अदालत जाने फैसला लिए ।

कम्पनीले नयाँ आईफोन खरिद गर्नका लागि प्रयोगकर्तालाई बाध्य बनाइरहेको ती राज्यहरुको भनाइ थियो । एरिजोनाका एट्रोनी जनरल मार्क बोर्नोविकले एउटा स्टेटमेन्टमा भनेका थिए, ‘ठूला कम्पनीले प्रयोगकर्तालाई म्यानुपुलेट गर्नु हुँदैन र आफ्नो उत्पादनको अभ्यासको बारेमा उनीहरुलाई पुरा रुपमा यथार्थ खुलाउनु पर्छ ।’

उनले अगाडि भनेका थिए, ‘ठूला प्रविधि कम्पनीहरु यदि आफ्ना प्रयोगकर्तासँग वास्तविकता लुकाउँछन् भने यस्तोमा ती कम्पनीहरुलाई त्यसमा जिम्मेवार बनाउन प्रतिबद्ध भएर लाग्नेछु ।’ पुराना आईफोन अपडेटकै कारण स्लो भएपछि एप्पलमाथि अमेरिकामा क्लास सेक्सन ल सुट फाइल दर्ता गराइएको थियो ।

जसमा एप्पलमाथि कम्पनीले नयाँ आईफोन खरिद गर्नका लागि बाध्य बनाउन पुराना आईफोनमा अपडेट पठाएर स्लो गराएको आरोप लगाइएको थियो । अमेरिकी अदालतले एप्पललाई ती सबै अमेरिकी प्रयोगकर्तालाई २५ डलर उपलब्ध गराउन भनेको थियो, जो अपडेटबाट प्रभावित बनेका थिए ।

उक्त अपडेटका कारण आईफोन सिक्स, आईफोन सिक्स एस, आईफोन सिक्स प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस र आईफोन एसईमा समस्या देखिएको थियो । कम्पनी जरिवाना तिर्नका लागि तयार भए पनि आफूले गल्ती गरेको कुरा स्वीकार गर्न भने तयार भएन ।

यद्यपी अपडेटका कारण पुराना आईफोन स्लो भएको विषय उसले स्वीकार गरेको थियो । निकै आलोचना र जरिवाना तिर्नुपर्ने अवस्था आएपछि कम्पनीले फेरि अर्को अपडेट उपलब्ध गरायो ।

जसमा ब्याट्रीसँग सम्बन्धित एउटा फिचर रहेको थियो । त्यसपछि ब्याट्री हेल्थको फिचर आयो, जहाँबाट प्रयोगकर्ताले ब्याट्रीको अधिकतम क्षमता आफैं चेक गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०