close

कम्प्युटरमा झुक्किएर पनि कहिल्यै नगर्नुहोस् यस्ता ७ गल्ती

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १०:७

कम्प्युटरमा झुक्किएर पनि कहिल्यै नगर्नुहोस् यस्ता ७ गल्ती

काठमाडाैं । अहिलेको समयमा कम्प्युटर र ल्यापटप समान्य विषय बनिसकेको छ । करीब सबैसँग कम्प्युटर तथा ल्यापटप देख्न सकिन्छ । तपाईं हामीले जानअञ्जानमा कम्प्युटर तथा ल्यापटपमा गर्ने साना साना कमजोरीले निकै ठूलो नोक्सान पुर्‍याउन सक्छ ।

प्रायः तपाईं हामी सबैले गर्ने साना साना गल्तिहरू के के हुन् र त्यसबाट कसरी जोगिने  भन्ने विषयमा आज हामी जानकारी दिन गइरहेका छौँ ।  

क्र्याक सफ्टवेयरको प्रयोग

नेपालमा धेरैजसोले विण्डोज कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहेका छौँ । हाम्रो एउटा विशेषता भनेकै के छ भने सकेसम्म हरेक चिज निःशुल्क रुपमा प्रयोग गर्न खोज्छौँ । जसका लागि अनेक उपायकाे खोजी गर्न गर्न समेत पछि पर्दैनौँ । इन्टरनेटमा क्र्याक सफ्टवेयर खोज्ने देखि मोडिफाई भर्सन राख्ने वा ओरिजिनल सफ्टवेयर क्र्याक गर्ने कोशिश समेत गर्छौँ ।

यदि तपाईंको कम्प्युटरमा एकदमै महत्वपुर्ण तथ्याङ्कहरू छन् वा भनौँ तपाईं आफ्नो कम्प्युटरमा एकदमै महत्वपुर्ण जस्तै बैंकसम्बन्धी र एकदमै गोप्य राख्नुपर्ने कामहरू गर्नुहुन्छ भने कहिल्यै पनि आफ्नो कम्प्युटर तथा ल्यापटपमा कुनै पनि किसिमको क्र्याक सफ्टवेयर इन्स्टल नगर्नुहोस् । 

यदि तपाईंले क्र्याक सफ्टवेयर प्रयोग गरिरहनुभएको छ भने कम्प्युटर सिस्टम स्लो भएको पक्कै पनि ख्याल गर्नुभएकै होला । यस्ता सफ्टवेयरबाट तपाईंको कम्प्युटर तथा ल्यापटपमा भाइरस प्रवेश गर्न सक्छ र ह्याकरले तपाईंका महत्वपुर्ण डाटा चाेर्न सक्छ ।

त्यसैले आफ्नो कम्प्युटरमा महत्वपुर्ण डाटा स्टोर गर्नुभएको छ र गोप्य राख्नुपर्ने कामहरु गरिरहनुभएको छ भने क्र्याक सफ्टवेयरबाट टाढै रहनु हुनेउत्तम हुन्छ । 

भाइरस लिंक

कम्प्युटर तथा इन्टरनेटको विषयमा त्यति धेरै जानकारी नहुने प्रयोगकर्ताले गर्ने कमजोरी हो यो । तपाईं इन्टरनेटबाट कतिपय बेला गीतहरू तथा भिडियो डाउनलोड गरिरहनुभएको हुन्छ र कहिले कुनै सफ्टवेयर डाउनलोड गर्नुहुन्छ ।

यस्तोमा तपाईं भुलबश यस्ता लिङ्कहरू क्लिक गर्न पुग्नुहुन्छ जहाँ ‘तपाईंको कम्प्युटरलाई भारी मात्रामा नोक्सान गरिसकेको छ’, ‘तपाईंको कम्प्युटरमा भाइरस छ’ भन्ने जस्ता नोटिफिकेशन देख्नुहुन्छ । ख्याल गर्नुभएको छ भने यस्तो नोटिफिकेशन कहिलेकाहिँ तपाईंको स्मार्टफोनमा पनि आएको देख्नुभएको हुनसक्छ ।

त्यस्ता नोटिफिकेशनसँगै त्यसलाई हटाउन भन्दै केही प्रकृया पनि सुझाइएको हुन्छ । यस्ता स्टेपहरू तपाईं गल्ति गरेर पनि फलो नगर्नुस् । सुरुवातमा कम्प्युटर सिकिरहेका वा कम्प्युटरको विषयमा त्यति ज्ञान नभएका प्रयोगकर्ताहरू यस्तोबेलामा झुक्किरहेका हुन्छन्  र गल्ति गर्न पुग्छन्। जसले गर्दा कम्युटरमा भाइरस आउन सक्छ । यस्ता नोटिफिकेशन आउँदा नआत्तिकन ट्याब बन्द गरिदिन सक्नुहुन्छ । 

सी ड्राइभको स्पेस

सुरुमा तपाईंलाई थाहा नहुन सक्छ । जब तपाईं कम्प्युटरमा डेटा स्टोर गर्दै जानुहुन्छ तब मात्र तपाईलाई आफूले गरेको गल्ति महशुस हुन थाल्छ । कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, हार्ड डिस्क त पार्टिशन गर्छन् । तर सी ड्राइभलाई पर्याप्त स्पेस भने दिँदैनन् ।

जसले विस्तारै सी ड्राइभ फूल हुने समस्या देखिन थाल्छ । त्यसैले कम्तिमा एक सय देखि एक सय ५० जीबीसम्मको स्पेस सी ड्राइभका लागि छुट्याउनु बुद्धिमत्तापुर्ण हुन्छ ।  

थर्डपाटी वेबसाइटबाट सफ्टवेयर डाउनलोड

कुनै सफ्टवेर, फाइल वा जिप फाइल इन्टरनेटबाट डाउनलोड गर्दै हुनुहुन्छ भने सकेसम्म अफिसियल वेबसाइट वा भरपर्दो वेबसाइटबाटै डाउनलोड गर्नुहोस् । थर्डपार्टी वेबसाइटबाट डाउनलोड गर्दा कम्प्युटर सिस्टममा भाइरस प्रवेश गर्ने सम्भावना उच्च हुन्छ । 

वेबक्यामको प्रयोग

कम्प्युटर तथा ल्यापटपको वेबक्याम अर्थात क्यामेरालाई आफ्नो विस्तारातर्फ फर्काएर नराख्नुस् । धेरैजसोको कम्प्युटर तथा ल्यापटप टेबलमा अन राखिएको हुन्छ र त्यसको वेबक्याम ओच्छ्यान तर्फ फर्किएको हुन्छ ।

विवाहित व्यक्तिहरूले यस्तो गल्ती कहिल्यै पनि नगर्नुस् । किनभने कतिपय समयमा ह्याकरले तपाईंको कम्प्युटर तथा ल्यापटपको वेबक्याममा पहुँच बनाइरहेका हुनसक्छन् र सबै गतिविधि नियालिरहेको वा रेकर्ड भइरहेको हुनसक्छ ।

त्यस्तो अवस्थामा भिडियो इन्टरनेटमा लिक गरिदिने वा ब्ल्याकमेलमा पर्ने सम्भावना रहन्छ । सामान्यतया प्रयोगमा आइरहेकाे छैन भने वेबक्याममा टेप लगाएर राख्न सक्नुहुन्छ । ल्यापटप बन्द गरेर राख्ने वा वेबक्यामलाई विपरित दिशामा घुमाएर राखेर समेत तपाईं यस किसिमको  जोखिमबाट बच्न सक्नुहुन्छ ।

डेक्सटपमा महत्वपुर्ण डाटा सेभ

तपाईं हामी कतिपयले आफ्ना महत्पुर्ण फाइलहरु डेक्टपमै सो गरेर राखिरहेका हुन्छौँ । अबदेखि यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् किन कि तपाईंको अपरेटिङ सिस्टम जुनसुकै बखत क्रप्ट तथा क्र्याश हुनसक्छ र नयाँ अपरेटिङ सिस्टम राख्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा तपाईंको डेक्सटपमा भएका सबै डाटाहरु सदाका लागि उड्नपुग्छन् । जसले तपाईंलाई ठूलो नोक्सानी पुग्न सक्छ । त्यसैले महत्वपुर्ण डाटाहरू अरु ड्राइभमा राख्नेगर्नुस् । 


प्रयोगमा नआउने सफ्टवेयर

सुरुमा कम्प्युटर तथा ल्यापटप लिँदा एकदमै फास्ट र स्मुथ रुपमा चलिरहेको हुन्छ । तर एक दुई महिना पछि विस्तारै स्लो हुन थाल्छ । यसो हुनुको कारण तपाईंले कतिपय सफ्टवेर डाउनलोड गरिसक्नुभएको हुन्छ तर प्रयोग भने पटक्कै गरिएको हुँदैन । डिलिट पनि भएको हुँदैन ।

सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने तर प्रयोगमा नआउने भए पनि डिलिट नगर्ने प्रबृत्ति एउटा ठूलो गल्ति हो । तिनैले तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो गरिरहेका हुन्छन् । त्यसैले बेलाबेलामा कन्ट्रोल प्यानलमा गएर यस्ता प्रयोग नहुने सफ्टवेयर डिलिट गर्ने गर्नुस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०