close

सूचना तथा सञ्चार प्रविधि न्यून प्रभावित क्षेत्रमा, सरकारले ५ करोडसम्म कर्जा दिने

टेकपाना टेकपाना

मंसिर ५, २०७७ ११:३२

सूचना तथा सञ्चार प्रविधि न्यून प्रभावित क्षेत्रमा, सरकारले ५ करोडसम्म कर्जा दिने

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका व्यवसायलाई सहुलियत ब्याजदरमा पाँच करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । कोभिड १९ बाट न्यून प्रभावित व्यवसायको रुपमा वर्गीकरण गर्दै सरकारले कर्जा कार्यविधि तयार पारेको हो ।

अनलाइन तथा इकमर्स, विज्ञापन सेवा, इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी आदिलाई न्यून प्रभावित क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । कोभिड-१९ बाट प्रभावित व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनमा निरन्तरताको लागि सरकारले कर्जा उपलब्ध गराउने छ ।

अर्थ मन्त्रालयले तयार पारेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायलाई ३ वर्गमा विभाजन गरी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । जसअनुसार कोभिड-१९ बाट प्रभावित व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि अल्पकालीन कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँ व्यवस्था गरिने छ ।

यस्तो कर्जाको ब्याजदर पहिलो वर्षको लागि पाँच प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत हुनेछ । यसरी प्रदान गरिने कर्जा बढीमा दुई वर्षभित्र चुक्ता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६/०७७ को श्रावणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेका कम्पनीले कर्जाका लागि आवेदन दिन पाउनेछन् ।

तर कानून बमोजिम लेखापरीक्षण गर्नु नपर्ने साना व्यवसायीहरुको हकमा भने आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण तथा करचुक्ता प्रमाणपत्र आवश्यक पर्नेछ । बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराइने यस्तो कर्जाका लागि व्यवसायीको सम्पत्ति वा परियोजना धितोको रुपमा राख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०