close

याहूकी पूर्व सीईओ मरिसा मेयरले ल्याइन् मोबाइल एप

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १३:१३

याहूकी पूर्व सीईओ मरिसा मेयरले ल्याइन् मोबाइल एप

काठमाडौं । याहूकी पूर्व सीईओ तथा गुगलकी २०औं कर्मचारी मरिसा मेयरले एउटा एप सार्वजनिक गरेकी छन् । सनशाइन कन्ट्याक्ट्स नाम दिइएको यो एप आईओएस डिभाइसका लागि सार्वजनिक गरिएको हो ।

सनशाइन कन्ट्याक्ट्सका साथ पुनः एक पटक मरिसा मेयरको प्रविधि विश्वमा फिर्ती भएको छ । याहू छोडेपछि उनी लुमी ल्याब नामक आफ्नो एउटा स्टार्टअप कम्पनीमा काम गरिरहेकी थिइन् ।

लुमी ल्याबको नाम परिवर्तन गरेर अहिले सनशाइन राखिएको छ । मरिसा मेयर प्रविधि विश्वकै एक ठूली हस्ती मानिन्छिन् ।

याहूको सीईओका अलावा उनको योगदान गुगलमा समेत निकै रहेको छ । गुगल सर्च इन्जिन डिजाइन गर्नेमा मरिसा मेयरको निकै धेरै योगदान रहेको छ ।

सन् २०१७ मा मरिसा मेयरले याहू छोडेकी थिइन् । त्यसपछि उनले आफ्नै प्रोजेक्टमा काम थालिन् । तर के अब यो नयाँ एपले उनलाई पुनः पुरानै उचाइमा पुर्‍याउला ?

मरिसा मेयरले सुरु गरेको सानशाइन स्टार्टअपले नै सनशाइन कन्ट्याक्ट एप सार्वजनिक गरेको हो । यो उनको पहिलो अफिसियल प्रडक्ट हो ।

वायर्डसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘यो अनौठो छ कि हामीसँग सेल्फ ड्राइभिङ कार तथा ग्लोबल फेसियल रिकग्निसन हुनसक्छ । तर हामी आफ्नो कन्ट्याक्टबाट डुप्लिकेट भने हटाउन सक्दैनौं ।’

मरिसा मेयरले जुन एप सार्वजनिक गरेकी छन्, त्यसले मोबाइल फोनमा रहेका कन्ट्याक्टलाई अर्गनाइज गर्ने उद्देश्य राखेको छ । प्राइभेसीको विषयलाई लिएर दाबी गरिएको छ कि कम्पनीले कुनै पनि मूल्यमा प्रयोगकर्ताको डेटा बिक्री गरेर व्यवसाय गर्ने छैन ।

यो एउटा साधारण एप हो । जसको सहयोगमा प्रयोगकर्ताले आफ्नो फोनमा रहेका कन्ट्याक्टहरुलाई राम्रोसँग व्यवस्थित पार्न सक्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सहयोगमा एपले नै उक्त काम गरिदिनेछ । कन्ट्याक्ट इन्फरमेसनमा ईमेल आईडी थप गर्ने, नामको पछिल्लो वा कुनै भाग छुटेको छ भने त्यसलाई पुरा गर्ने, कार्यालय तथा व्यक्तिगत नम्बरलाई अलग गर्ने आदि जस्ता आधारभूत काम यो एपले गर्नेछ ।

यसबाहेक यो एपको सहयोगमा तपाईं व्यक्तिगत वा प्रोफेसनल नम्बरको कार्ड बनाएर अन्य व्यक्तिसँग शेयर गर्न सक्नुहुनेछ । जसमा फोन नम्बर, ईमेल तथा अन्य जानकारीहरु उल्लेख गर्न सकिने छ ।

आईफोनका कन्ट्याक्ट्सबाट डुप्लिकेट कन्ट्याक्टलाई यसले आफैं अलग बनाएर डिलिट गरिदिनेछ । यसबाहेक अन्य स्रोतबाट यसले कन्ट्याक्ट डिटेल समेत फेच गर्न सक्छ ।

हालका लागि यो एप इन्भाइट बेसिकमा राखिएको छ र यो अमेरिकामा मात्र उपलब्ध छ । निःशुल्क रुपमा उपलब्ध यो एप आउँदो समयमा सबैका लागि सार्वजनिक गरिनेछ ।

त्यसो त कन्ट्याक्ट व्यवस्थित गर्न ल्याइएको यो नै पहिलो एप भने होइन । यसअघि समेत कयौं त्यस्ता एप आइसकेका छन्, जसले राम्रोसँग कन्ट्याक्टलाई व्यवस्थित गरिदिन्छन् ।

सनशाइन स्टार्टअपमार्फत मरिसा मेयरले आगामी दिनमा समेत अन्य एप सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ । मरिसा मेयरको फिर्तीले प्रविधि जगतमा कस्तो फरक पार्न सक्छ वा अन्यसँग कसरी प्रतिस्पर्धा गर्छिन् भन्ने कुरा आगामी दिनमा हेर्न लायक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०