close

स्मार्ट तकिया सार्वजनिक, इन्टरनेटको लत छुटाउन सघाउने

टेकपाना टेकपाना

मंसिर ६, २०७७ १०:४४

स्मार्ट तकिया सार्वजनिक, इन्टरनेटको लत छुटाउन सघाउने

काठमाडौं । यदि तपाईंलाई सामाजिक सञ्जाल, ग्याजेट तथा इन्टरनेटको लत लागिसकेको छ भने लाखौं कोशिशका बावजुद त्यसबाट छुटकारा पाउन सक्नुहुन्न । यस्तै समस्यालाई लक्षित गर्दै एउटा यस्तो स्मार्ट तकिया सार्वजनिक भएको छ, जसले तपाईंको इन्टरनेटको लत छुटाउन मद्दत गर्नेछ ।

दक्षिण कोरियाका केही विद्यार्थीले तयार पारेको स्मार्ट तकियामा शिर राख्ने वित्तिकै त्यसले घरको राउटर बन्द गरिदिनेछ । तर मोबाइल नेटवर्कमा भने यो तकियाको कुनै असर पर्ने छैन ।

यो तकियालाई ‘पज पिलो’ नाम दिइएको छ । यो स्मार्ट तकियामा शिर राख्ने वित्तिकै यसले वाईफाई राउटरलाई एउटा सिग्नल पठाउँछ, त्यसपछि राउटरबाट तपाईंको मोबाइलमा पुग्ने इन्टरनेट सिग्नल ब्लक हुन पुग्छ ।

इन्टरनेट नभएपछि तपाईंलाई बाध्य भएर सुत्नुपर्ने अवस्था आउनेछ । यो डिभाइसलाई हालै दुबईमा भएको छैटौं ग्लोबल ग्रेड शोमार्फत सार्वजनिक गरिएको छ ।

यो स्मार्ट तकियाका लागि विद्यार्थीहरुलाई ३२ करोड रुपैयाँ फण्ड उपलब्ध गराइनेछ । ताकि यो तकियालाई भारी मात्रामा तयार पार्न सकियोस् ।

त्यसो त यसअघि सन् २०१७ मा समेत एउटा स्मार्ट तकिया सार्वजनिक भएको थियो, जसले रातको समयमा गहिरो निन्द्रा लिन र बिहान उठाउने किसिमको थियो । सनराइज स्मार्ट पिलो नाम दिइएको उक्त तकियामा प्रकृतिको मधुर आवाज तथा आर्टिफिसियल सूर्यको किरण राखिएको थियो ।

तकियाको दुवै छेउमा एलईडी लाइट दिइएको थियो, जुन बिहानको समयमा प्रयोगकर्ताको आँखामा सूर्यको प्रकाश जस्तै फैलिने गर्दथ्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०