close

यसरी सजिलै बुझ्नुहोस् फायरवाल र यसको काम

टेकपाना टेकपाना

मंसिर ६, २०७७ १३:३६

यसरी सजिलै बुझ्नुहोस् फायरवाल र यसको काम

काठमाडौं । कम्प्युटर तथा इन्टरनेटको जगतमा फायरवाल शब्द तपाईंले अवश्य सुन्नुभएकै छ होला । तर यो के हो रु यसले के काम गर्छ रु अनि तपाईंलाई यसबाट के फाइदा हुन्छ त ?

यी कुराहरु धेरैलाई थाहा नहुन सक्छ । आज हामी तपाईंहरुलाई फायरवालको विषयमा विस्तृत रुपमा बताउँदै छौं ।

सामान्य अर्थमा फायरवाल भनेको आगोको बढिरहेको लप्का वा ज्वालालाई रोक्ने एउटा पर्खाल हो । कुनै पनि कोठामा फायरवाल पर्खाल छ भने त्यसले बाहिरबाट लाग्ने आगो र भित्रबाट लाग्ने आगो दुबैतिरबाट संरक्षण प्रदान गर्दछ ।

कम्प्युटरको दुनियाँमा पनि फायरवालको भूमिका सुरक्षाकर्मी कै हुन्छ । जब तपाईं इन्टरनेटबाट आफ्नो कम्प्युटरमा केही काम गरिरहनु भएको हुन्छ । जस्तै गेमिङ, ब्राउजिङ वा टाइपिङ । तब कम्प्युटरमा आइरहेको ट्राफिकबाट तपाईंलाई सुरक्षा दिन्छ ।

ताकि तपाईंको कम्प्युटरमा कुनै पनि किसिमका अनावश्यक तथा हानिकारक सफ्टवेयर, फाइलहरु आएर बस्न नसकुन् । फायरवालको सुरक्षाले गर्दा तपाईंको डिभाइसमा तिनै कुराहरु मात्र आएर बस्छन् जसलाई तपाईंले अनुमति दिएर प्रयोग गर्नुहुन्छ ।

फायरवालकै कारणले कुनै पनि किसिमका माल्वेयर तथा भाइरसहरु तपाईंको कम्प्युटरमा आएर बस्न सक्दैनन् । 

यदि तपाईंको कम्प्युटरमा कुनै भाइरस  वा माल्वेयर कतैबाट आएर बसकेको छ । अनि तपाईंको कम्प्युटर १०-२० वटा कम्प्युटर नेटवर्कसँग जोडिएको छ । यस्तो छ भने फायरवालले तपाईंको कम्प्युटरभित्र रहेका भाइरस तथा माल्वेयरलाई अन्य कम्प्युटरमा फैलिन दिँदैन । 

फायरवाल दुई किसिमका हुन्छन् । एउटा हार्डवेयर र अर्को सफ्टवेयर । हार्डवेयरको कुरा गर्दा त्यो तपाईको आधुनिक राउटरमा पाउन सकिन्छ । साथै फायरवालकै कुनै डेडिकेटेड डिभाइस पनि बजारमा उपलब्ध छन् । त्यसले तपाईको डिभाइसलाई हार्डवेयर प्रोटेक्सन दिन्छ ।

उदाहरणका लागि यदि कुनै एउटा घरको इन्टरनेटभित्र १० वटा डिभाइसहरु छन् र राउटरमा फायरवाल छ भने दसौं डिभाइसहरु फायरवालको सुरक्षाभित्र आउँछन् । 

फायरवालले कसरी काम गर्छ ?

जब तपाईं कम्प्युटरमा कुनै वेबसाइटमा गएर केही कुरा हेर्नुहुन्छ वा खोज्नुहुन्छ तब तपाईंको डेटा कम्प्युटरबाट बाहिर सम्बन्धित वेबसाइटको सर्भरमा जान्छ । डेटा कम्प्युटरबाट बाहिर निस्किरहेको समय तपाई डेटा प्याकेटमा नेटवर्कको आईडी पनि अट्याच भएको हुन्छ ।

जब प्याकेट फिर्ता आउँछ तब त्यसमा भएको नेटवर्कको आईडीलाई फायरवालले पहिचान गरी त्यसलाई कम्प्युटरमा पस्ने अनुमति दिन्छ । तर कुनै पनि अनावश्यक प्याकेट छिर्ने प्रयास गर्छ भने फायरवालले त्यसलाई त्यहीँ रोक्छ । 

यसैगरी सफ्टवेयरको कुरा गर्दा विभिन्न एन्टीभाइरसमा फायरवाल पाउन सकिन्छ । यसबाहेक विण्डोजमा इनब्युल्ट फायरवाल अप्सन पाउन सकिन्छ । कहिलेकाहिँ तपाईंले कम्प्युटरमा कुनै नयाँ गेम वा सफ्टवेयर इन्स्टल गर्नुभयो भने कहिलेकाहिँ त्यसलाई खोल्दा विण्डोज फायरवालले यो प्रोग्रामको केही फिचरलाई ब्लक गरेको छ भनेर पनि नोटिफिकेसन आउन सक्छ ।

यस्तो बेला तपाईंले ती अप्सनलाई चेक गर्नुपर्छ किनभने त्यसलाई विण्डोज फायरवालले डिसेबल गरिदिएको हुन्छ । 

समग्रमा फायरवालले तपाईंको डिभाइसमा आउने डेटा तथा इन्स्टल भएका सफ्टवेयरको स्रोत, गन्तव्य र आईपी एड्रेस, फाइलको आकार, त्यसले लिने समयलाई निरीक्षण गर्दछ ।

फायरवाल इन्स्टल गरिसकेपछि पपअप भइरहने इनेबल डिसेबलका प्रोम्प्टहरुले तपाईंलाई दिक्क बनाउन सक्छ ।

तर थाहा पाइराख्नुहोस् यदि तपाईंको कम्प्युटर तथा नेटवर्कमा फायरवालको सुरक्षा छैन भने तपाईंले ब्राउजरमा एउटा कुरा ब्राउज गरेर हेरिरहँदा पछिल्तिर थाहै नपाई अन्य केही कुरा नै डाउनलोड भइरहेको हुन्छ । यसले डिभाइसलाई अट्याक तथा खराब पात्रहरुको हातमा पुर्‍याउने जोखिम बढाउन सक्छ ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०