close

गुगल, फेसबुक र ट्विटरले दिए पाकिस्तान छोड्ने चेतावनी

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १४:११

गुगल, फेसबुक र ट्विटरले दिए पाकिस्तान छोड्ने चेतावनी

काठमाडौं । गुगल, फेसबुक र ट्विटर जस्ता ठूला प्रविधि कम्पनीहरुले पाकिस्तान छाड्ने चेतावनी दिएका छन् । पाकिस्तानले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ कानूनी प्रावधानलाई लिएर उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वले बुधबारमात्रै इन्टरनेटको कन्टेन्टमा सेन्सरसिप लगाउन सक्ने खालको कानून पारित गरेको थियो । उक्त कानूनले पाकिस्ताको दूरसञ्चार क्षेत्रको नियामक निकाय पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई कन्टेन्टमा सेन्सरसिप लगाउन सक्ने अधिकार दिएको छ ।

उक्त कानुन अनुसार पाकिस्तानलाई हानी पुर्‍याउने, सरकारप्रति असन्तुष्टि पैदा गर्ने, पाकिस्तानको अखण्डता र सुरक्षामा चोट पुर्‍याउने खालका कुनै पनि गतिविधि अथवा डिजिटल कन्टेन्टलाई बन्द गर्न सक्ने अधिकार दिएको छ ।

साथै त्यस्ता कन्टेन्ट उपलब्ध हुने माध्यमलाई जरिवाना समेत गर्न सकिने उल्लेख गरिएको छ । जसमा सोसल मिडिया कम्पनी तथा इन्टरनेट सेवा दिने कम्पनीहरुले आवश्यक परेको खण्डमा जाँच एजेन्सीलाई सब्सक्राइबरको सूचना, ट्राफिक डाटा र युजर डाटा लगाएतका सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ ।

त्यस्तै सोसल मिडिया कम्पनीहरुले र इन्टरनेट सेवा दिने कम्पनीहरुले इस्लामको अवहेलना कन्टेन्ट, आतंकवादलाई बढवा दिने सामग्री, अभद्र र अश्लील सामग्री प्रसारण गरेमा ३.१४ मिलियन डलरसम्म जरिवाना लगाउन सकिने जनाएको छ ।

पाकिस्तान सरकारले जारी गरेको यस्तो खालको कानूनी प्रावधानलाई लिएर अहिले विरोध भइरहेको हो । उक्त नियम घोषणा भएसँगै गुगल, फेसबुक र ट्विटर जस्ता कम्पनीहरुले यदि यो कानून लागू भएकाे खण्डमा कारोबार छाड्न बाध्य हुनुपर्ने बताएका छन् ।

साथै यो विषयमा विश्व इन्टरनेट कम्पनीहरुको एसियाका लागि प्रतिनिधित्व गर्ने संगठन एसिया इन्टरनेट अलायन्स्ले समेत पाकिस्तानको नयाँ कानून चिन्ताजनक रहेको उल्लेख गरेको छ । यो संस्थाले एसियामा गुगल, फेसबुक र ट्विटर जस्ता टेक कम्पनीको प्रतिनिधित्व गर्दछ ।

उक्त संस्थाले नयाँ कानूनले इन्टरनेट कम्पनीहरुलाई निशाना बनाउने जनाउँदै यो कानून लागू भएको खण्डमा पाकिस्तानबाट सम्पूर्ण कारोबार रोक्नुपर्ने समेत बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०