close

यी पाँच कारणले आईओएस १४ भन्दा राम्रो छ एन्ड्रोइड ११

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १६:९

यी पाँच कारणले आईओएस १४ भन्दा राम्रो छ एन्ड्रोइड ११

काठमाडौं । एन्ड्रोइड भर्सेस आईओएस, सिङ्गो मोबाइल प्रविधि क्षेत्रमा चल्ने सबैभन्दा ठूलो र कहिल्यै नटुङ्गिने बहस हो यो । मोबाइल इकोसिस्टमभित्र यी दुईकाे खेलमा प्रयोगकर्ताहरु पनि अप्रत्यक्ष रुपमा जोडिने गरेका छन् । 

त्यसो त एन्ड्रोइडको तुलनामा धेरैले आईओएसलाई रुचाउँछन् । यसैबीच पछिल्लो समय एन्ड्रोइडले आफ्नो एन्ड्रोइड इलेभेन भर्सन र एप्पलले आईओएस फाेर्टिन भर्सन ल्याएको छ । यी दुईमा कुन राम्रो हो भन्ने जिज्ञासा धेरैले पोख्ने गर्छन् । आज हामी तपाईंका लागि एन्ड्राेइड सेन्ट्रलमा प्रकाशित याे लेख प्रस्तुत गर्दै छाैं, जसले याे जिज्ञासालाई मेट्ने प्रयास गर्नेछ । 

आईओएस फाेर्टिन सफ्टवेयरको मामलामा निकै राम्रो छ । तर सफ्टवेयरभित्रै पनि एन्ड्रोइड इलेभेनमा केही यस्ता फिचरहरु छन्, जसले एन्ड्रोइडलाई धेरै राम्रो बनाउन सहयोग गरेको छ । यसैगरी एन्ड्रोइड इलेभेनलाई आईओएस फाेर्टिनको तुलनामा राम्रो अपरेटिङ सिस्टम मान्न सकिने केही पाँच कारणहरु छन् ।

१. नोटिफिकेसन एकदमै राम्रो छ 

नोटिफिकेसनलाई व्यवस्थापन गर्ने कुरामा एन्ड्रोइडको पल्ला सधै भारी छ । पछिल्लो समय आईओएसले पनि यसमा सुधार ल्याउने जोड कसेर यसलाई औसत स्तरमा पुर्‍याउन सफल भएको छ । तर, एन्ड्रोइड इलेभेनको सार्वजनिकसँगै एन्ड्रोइडले यसमा अझ ठूलो फड्को मारेको छ । 

एन्ड्रोइडले तपाईंको नोटिफिकेसनलाई तीनवटा फरक सेक्सनमा टुक्राएको छ । जुन कन्भर्सेसन, नोटिफिकेसन र साइलेन्ट हुन् । नोटिफिकेसन र साइलेन्ट एन्ड्रोइड टेनमा यसअघि नै प्रयोगमा थियो भने नयाँ भर्सनमा कन्भर्सेसन थप भएर आएको छ । अब टेक्स्ट तथा एप म्यासेज हेर्न धेरै सजिलो भएको छ । 

कन्भर्सेसनको नोटिफिकेसन, नोटिफिकेसन बारमा सबैभन्दा माथि देखिन्छ जसमा तपाईंले कुराकानी गरेको व्यक्तिको प्रोफाइल फोटो पनि हेर्न सकिन्छ । 

२. धेरैवटा च्याटलाई व्यवस्थापन गर्न सघाउने च्याट बबल्स

च्याट म्यासेजको मामिलामा एन्ड्रोइड इलेभेनमा भएको अर्को ठूलो थप भनेको च्याट बबल्स हो । कन्भर्सेसन नोटिफिकेसनमा तपाईंले एउटा आइकन देख्न सक्नुहुन्छ, जुन नोटिफिकेसन बारबाट बबल्सको रुपमा तपाईंको होम स्क्रिनमा देखा पर्दछ । 

त्यो बबल्सलाई ट्याप गर्नुभयो भने जारी कुराकानीको प्रिभ्यू देख्न सकिन्छ । अघिल्लो म्यासेजलाई स्क्रोल गरेर नयाँ म्यासेज टाइप गर्न सक्नुहुन्छ । यसलाई तपाईंले ट्याप गरेर ठूलो/सानो बनाउन सक्नुहुन्छ र डिस्प्लेको जतासुकै सार्न सक्नुहुन्छ । 

यस किसिको च्याट बबल्सले तपाईंको जुनसुकै म्यासेजिङ एपमा काम गर्नसक्छ । यदि तपाईंको फोनमा धेरै म्यासेज आउँछन् भने च्याट बबल्स म्यासेजलाई व्यवस्थापन गर्ने एउटा राम्रो तरिका हो । तर आईओएस फाेर्टिनमा यस किसिमको च्याट बबल्सको सुविधा पाउन सकिन्न । 

३. अल्ट्रा पावरफुल पर्मिसन

आफ्नो डिजिटल गोपनीयताको ख्याल राख्नु भएको एकदमै राम्रो कुरा हो । यो गर्न सकिने सबैभन्दा राम्रो तरिका भनेको आफ्नो फोनमा एप्लिकेसन पर्मिसनमा नियन्त्रण कायम गर्नु नै हो । नयाँ एप इन्स्टल गर्दै गर्दा एपहरुले धेरै किसिमका जानकारीहरु माग गर्छन् । तर ती सबै उनीहरुको आवश्यकता हुँदैनन् । 

आईओएस फाेर्टिनमा एकदमै राम्रो पर्मिसन कन्ट्रोल छन् । एन्ड्रोइड इलेभेनले आफ्नो नयाँ भर्सनमा पर्मिस कन्ट्रोललाई निकै गाम्भिर्यताको साथ लिएको छ ।

उसले गरेको केही महत्वपूर्ण अपडेट अन्तर्गत अब एन्ड्रोइड फोनहरुले कुनै पनि एपलाई एकपटक मात्र लोकेसन पर्मिसन दिने छ । यस्तै माइक्रोफोन तथा क्यामेरा रिक्वेस्टको पनि वान टाइम फिचर उपलब्ध हुनेछ । 

यसबाहेक एन्ड्रोइड इलेभेनले आफ्नो प्लेटफर्ममा अटो रिसेटिङ पर्मिसन ल्याएको छ जुन अन्य प्लेटफर्मले हालसम्म ल्याएका छैनन् । यसअन्तर्गत यदि तपाईंले आफ्नो फोनमा कुनै पनि एप एक महिनाभन्दा लामो समससम्म प्रयोग गर्नु भएको छैन भने पर्मिसनहरु आफै हटेर जान्छन् । तपाईंले अर्को पटक त्यसलाई पर्मिसन दिनसक्नुहुन्छ ।

४. बटम प्रेसको भरमा स्मार्ट होम कन्ट्रोल 

चाहे यो कुनै लाइट बल्ब होस् या कुनै स्मार्ट होम उपकरण । घरबाट बाहिर हुँदा घरको बल्ब बन्द गर्न र घर फर्किदैँ गर्दा हिटर अन गर्नसक्नुहुन्छ भने यो त निकै फाइदाजनक कुरा हो । 

एन्ड्रोइड र आईओएसले यी सबै कुरालाई गुगल होम र एप्पल होम एप एकै ठाउँमा ल्याउन सफल भएको छ । तर एन्ड्रोइड इलेभेनले यसलाई अझ धेरै अत्याधुनिक बनाएको छ ।

यसबाट तपाईंले आफ्नो पावर मेनुमा अत्याधिक प्रयोग हुने कन्ट्रोललाई एड गर्न सक्छ । अब तपाईंले हरेक काम आफ्नो पावर बटन होल्ड गरी सर्टकटमा ट्याप गरेर गर्नसक्नुहुन्छ । 

५. एन्ड्रोइडलाई धेरै कस्टमाइज गर्न मिल्छ 

आईओएस फाेर्टिनको हाइलाइट फिचर भनेको कस्टमाइजेसन हो । तपाईंले होम स्क्रिन लुकाउन देखि फोनमा इन्स्टल भएका कुराहरु हेर्न एप ड्रअर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

डिफल्ट एप सेट गर्नदेखि एपआइकनको जनिक होम पेजमा राख्नलाई विडगेट्सहरु पनि छन् । आईओएसमा यो निकै ठूलो परिवर्तन हो र यसको कार्यान्वयनको अवस्था पनि त्यत्तिकै राम्रो छ । 

तर आईओएसलाई उसकै हाइलाइट फिचरमा पछि पार्दै एन्ड्रोइड इलेभेनले अझ धेरै कस्टमाइजेसनको सुविधा दिएको छ । 

आईओएस फाेर्टिनमा तपाईंले डिफल्ट वेब ब्राउजर र ईमेल एप परिवर्तन गर्न सक्नुहुन्छ तर डिफल्ट नेभिगेसन र क्यामेरा एप अहिले नै सम्भव छैन । जब तपाईं फोन टर्न अफ गर्नुहुन्छ वा रिस्टार्ट गर्नुहुन्छ, तब यसलाई डिफल्ट एपको रुपमा पुन इनेबल गर्नुपर्छ । एन्ड्रोइडमा पनि केही अघिसम्म यस्तै समस्या थियो । जुन एन्ड्रोइड इलेभेनमा छैन । 

आईओएसमा कस्टम आइकन एउटा राम्रो फिचर हो तर कुनै पनि एपमा आइकन परिवर्तन गर्न तपाईंले सबैभन्दा पहिले सिरी सर्टकट बनाउनु पर्दछ । सिरी सर्टकट बनाउनुभएको छ तर, एप आइकन परिवर्तन गर्नुभएको छैन भने एप ड्रअर तथा होम स्क्रिनबाहेक सिस्टममा कतै पनि तपाईंले कस्टम आइकन देख्न सक्नुहुन्न ।

त्यसको तुलनामा एन्ड्रोइड इलेभेन वा त्यसअघिको भर्सन एप आइकन परिवर्तन गर्न कस्टम आइकन प्याक इन्स्टल गर्न जत्तिकै सजिलो छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०