close

फिल्म रिलिजको नयाँ ट्रेन्ड – डिजिटल प्लेटफर्म

टेकपाना टेकपाना

मंसिर ७, २०७७ २१:२३

फिल्म रिलिजको नयाँ ट्रेन्ड – डिजिटल प्लेटफर्म

काठमाडौं । कोरोनाका कारण जारी लकडाउन र सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले लामो समयदेखि सिनेमा हलहरु खुल्न सकेका छैनन् । यस्तो अवस्थामा कतिपय देशमा फिल्महरु विभिन्न ओभर दि टप (ओटीटी) प्लेटफर्म मार्फत् रिलिज भइरहेका छन् ।

यसको एउटा उदाहरण भारत पनि हो । भारतमा बनेका धेरैजसो फिल्म पछिल्लो समय नेटफ्लिक्स, डिज्ने प्लस लगायतका ओटीटी सेवा प्रदायकबाट रिलिज भएका छन् । जसको उदाहरण सुशान्तसिंह राजपुतको अन्त्तिम फिल्म ‘दिल बेचारा’ का साथै अनिल कपुर, पुजा भट्ट, बबी देवल, भुमी पेड्नेकर, कोनकोना सेनशर्मा, जानभी कपुर जस्ता कलाकारहरुको फिल्म लुडो पनि रहेको छ ।

त्यस्तै तोर्बाज, रात अकेली है, डोली किट्टी और वो चमकता सितारे, बम्बे रोज, गिन्नी विड्स सन्नी पनि यसरी नै रिलिज भए । यसरी ओटीटीमार्फत फिल्म रिलिज हुँदा उक्त प्लेटफर्ममार्फत फिल्म हेर्नेको संख्या पनि ठूलो मात्रमा बढेको छ ।

यसैको प्रतिफल नै भनौं, नेपालमा पनि यही खालको प्रचलन सुरू भएकाे छ । नेपाली फिल्म नै डिजिटल प्लेटफर्ममार्फत रिलिज भएको घटना त सायदै होला तर, विदेशी फिल्म ल्याएर नेपाली दर्शकमार्फ विश्व बजारमा रिलिज भएकै दिन डिजिटल रुपमा पुर्‍याउने कामको सुरुवात भने भएको छ ।

यसको सुरुवात केही समयअघि डिशहोमले गरेको थियो । जसमा अनन्या र इसान खट्टरको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘खाली पिली’ अक्टोबर २ विश्वव्यापी रिजिल हुँदा सोही दिन नेपालमा डिशहोम मार्फत् रिलिज भएको थियो । उक्त फिल्म पे पर भ्यू अर्थात् पैसा तिरेर ग्राहकले हेर्न पाएका थिए ।

त्यसपश्चात डिशहोमबाटै तामिल नायक विजय सेतुपथिको मुख्य भूमिका रहेको फिल्म ‘का पे रनसिंगम’ र बलिउड फिल्म ‘सुरज पे मंगल भारी’ भारत र नेपालमा एकै पटक रिलिज भयो । यसरी सुरु भएको फिल्म रिलिजको डिजिटल यात्रामा पछिल्लो समय अन्य सेवा प्रदायक पनि थपिएका छन् । जसमा नेट टिभी र सुबिसु केबल टिभी रहेका छन् ।

अक्षय कुमारको मुख्य अभिनय रहेको चलचित्र ‘लक्ष्मी’ विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलिज हुँदा नेट टिभी, सुबिसु केबल टिभी र डिशहोमले आफ्ना प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराएका थिए । भने, यो सँगै नेपालको ओटीटी प्लेटफर्ममार्फत समेत हिन्दी फिल्म रिलिज गर्ने प्रचलनको समेत सुरुवात पनि भएको छ ।

जसको सुरुवात नेट टिभीले गरेको छ । नेट टिभीले डिजिटल प्लेटफर्म अर्थात टेलिभिजनका साथै मोबाइल एपमार्फत पनि आफ्ना प्रयोगकर्तालाई उक्त फिल्म हेर्न सकिने सुविधा प्रदान गरिरहेको छ । प्रयोगकर्ताले पैसा तिरेर उक्त फिल्म हेर्न सक्नेछन् ।

यसरी डिजिटल प्लेटफर्म मार्फत् सेवा सुरु गर्नुको उद्देश्य कोभिड १९ को समयमा ग्राहकलाई फिल्म हेर्न सुविधा दिनु नै हो । यसअघि यस्ता फिल्म नेपाली फिल्म हलबाट रिलिज हुने गरेको थियो । तर, हालको अवस्थामा त्यो सम्भव नभएकोले डिजिटल प्लेटफर्म मार्फत फिल्म रिलिज भयो ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी भन्छन, ‘मान्छे ठूलो पर्दामा फिल्म हेर्न रुचाउने भएकाले नयाँ प्लेटर्फममा जान समय लाग्न सक्छ् । तर, नेटफ्लिक्स लगायतका विदेशी ओटीपी प्रयोग गर्नेको संख्या बढिरहेकाले यो आवश्यक महशुस गरिएको हो ।’

यसले विस्तारै प्रयोगकर्ता आकर्षित गर्ने पक्कै छ । पहिलो पटक भएतापनि यो पटक धेरै प्रयोगकर्ताले यो सेवा प्रयोग गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०