close

मार्क जुकरबर्गलाई झुक्याउने नेपाली ह्याकर

टेकपाना टेकपाना

मंसिर ८, २०७७ १५:७

मार्क जुकरबर्गलाई झुक्याउने नेपाली ह्याकर

काठमाडाैं । सन् २०१५ ताका फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनी छाडेको खबर निकै चर्चित भयो । धेरै अनलाइनले यसबारे समाचार पनि बनाए । तर जुकरवर्ग आफैंले जागिर छाडेका भने थिएनन् । त्यो त नेपाली ह्याकर सचिन ठकुरीले उनलाई झुक्याइदिएका थिए ।

२०१५ को सुरुताका सचिन फेसबुकमा ‘बगहरु’ खोजिरहेका थिए । त्यस्तैमा उनले मार्क जुकरबर्गको फेसबुकमा जागिर सुरु गरेको पोष्ट देखे । फेसबुकका संस्थापक जुकरबर्गकै पोष्टमा ‘बग’ खोज्न थाले ।

उक्त स्टाटसरलाई परिवर्तन गर्न सकिन्छ कि सकिँदैन भनेर अनेक प्रयास गरे । अन्तत: यूआरएलमा रहेको एउटा प्यारामिटर परिवर्तन गर्दा जुकरबर्गको फेसबुक पोष्ट नै बदल्न सकिने ‘बग’ फेला पारे । अनि जुकरबर्गको जागिर सुरु गरेको पोष्टलाई बदलेर फेसबुकको जागिर छोडेको बनाइदिए ।

लगत्तै त्यसको रिपोर्ट फेसबुकलाई पठाए । तर, फेसबुकले त्यतिसाह्रो संवदेनशिलरुपमा भने लिएन । सचिन आफै पनि त्यतिधेरै प्राविधिक बग नभएको भन्नेमा स्पष्टै थिए । त्यसैले उनले यो विषयलाई यत्तिकै छाडिदिए ।

त्यसको चार/पाँच महिना पछिसम्म पनि फेसबुकले उक्त बगलाई सुधार गरेको थिएन । त्यसताका सचिन सेकइन्फिनिटी डटनेट नामक ब्लग पनि चलाउँथे । साथीहरुकै आग्रहमा उनले जुकरबर्गको फेसबुक पोष्ट परिवर्तन गरेको विषयमा ब्लग लेखे ।

उक्त ब्लग विस्तारै भाइरल हुँदै गयो । यस्तैमा बिजनेश इन्साइडर, भेञ्चर बिड, फस्ट बाइट जस्ता विश्वकै चिचित अनलाइन तथा ब्लगहरुले समेत पछ्याए । अन्ततः भेञ्चर बिडले समाचार छापेको चार घण्टामै फेसबुकले उक्त ‘बग’ हटायो ।

त्यसो त सचिन प्लसटु पढ्दाताका नै आफ्ना साथीहरुको फेसबुक आईडी ह्याक गरेर चकित पार्ने काम गर्थे । जिस्किने र रमाइलोका लागि उनी इन्टरनेटमा अनेक विषय खोज्दै र सिक्दैमा दिन–रात बिताइदिन्थे । उत्सुकताले सचिनलाई विस्तारै साइबर सुरक्षाको विषयतर्फ धकेल्न थालिसकेको थियो । त्यसो त क्याम्पसमा पनि कम्प्युटर विषय नै पढ्थे ।

तर, कोर्षको विषय भने विस्तारै फिक्का लाग्न थालेकाे थियाे । त्यसो त साइबर सुरक्षा तथा अनुसन्धानको क्षेत्रमा लाग्नेहरुकाे संख्यात्मक विश्लेषण गर्ने हो भने पनि कलेजको कोर्ष पुरा गर्नेहरुभन्दा कलेज ड्रप गरेर इन्टरनेटको दुनियामा हराउनेकाे संख्या चार भाग बढी छ । त्यस्तै मध्येका सचिन रुची र लगावकै कारण अहिले साइबर सुरक्षा विज्ञको रुपमा स्थापित बनिसकेका छन् ।

फेसबुक, गुगल, माइक्रोसफ्ट, याहु जस्ता ठूला ठूला आइटी कम्पनीहरुले आफ्नो सफ्टवेयर तथा वेबसाइटहरुमा रहेका कमजोरी तथा छिद्रहरु पत्ता लगाउन साइबर सुरक्षाको क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गरिरहेका हुन्छन् ।

यसरी ‘बग’ तथा ‘सेक्युरिटी इस्यु’ पत्ता लगाउनेहरुको नाम त्यस्ता कम्पनीले आफ्नो ‘हल अफ फेम’ लिस्टमा राखिदिन्छन् । यस्ता साइबर सुरक्षा अनुसन्धानकर्ता तथा ह्याकरका लागि विश्वस्तरमा विभिन्न प्रतिस्प्रर्धा समेत हुनेगर्छन् । ‘बग बाउन्टी’ त्यस किसिमका प्रतियोगितामध्येकै ठूलो प्रतियोगिता मानिन्छ । सन् २०१४ देखि सचिन उक्त प्रतियोगितामा सहभागि हुन थालेका थिए ।

२०१४ मा उनले फेसबुक, गुगल, याहु लगायतका ठूला कम्पनीमा छुट्टा छुट्टै ४/५ ओटा ‘सेक्युरिटी बग’ रिपोर्ट टिपाइसकेका थिए । त्यसैले उनलाई फेसबुकले सन् २०१४, २०१५ र २०१६ लगातार आफ्नो ‘हलअफ फेम’ लिस्टमा समेत राखेको थियो । त्यसबाहेक एप्पल, गुगल, माइक्राेसफ्ट र ट्वीटरकाे हलअफ फेमबाट समेत उनी सम्मानित भइसकेका छन् ।

अन्य देशका नागरिकहरुको नजरमा नेपालीहरु सूचना प्रविधिको क्षेत्रमा कमजोर देखिन्छन् । सचिन जस्ता सूचना प्रविधि तथा साइबर सुरक्षाका अनुसन्धानकर्ताले त्यस्तो किसिमको मानसिकतालाई बदल्न खोजिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०