close

५५ जिल्लामा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट, सकियो ७० प्रतिशत काम

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १२:३८

५५ जिल्लामा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट, सकियो ७० प्रतिशत काम


काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ५५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ ।

प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी विभिन्न परियोजना अघि बढाएको छ । त्यसमध्ये ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजना अन्तर्गत कुल १८ प्याकेज सञ्चालनमा रहेको छ ।

त्यसमध्ये कात्तिक मसान्तसम्म ४६ जिल्लाहरुमा शतप्रतिशत र बाँकी ९ जिल्लाहरुमा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै चार वटा प्याकेज अन्तर्गत १९ जिल्लामा नेटवर्क तथा कनेक्टीभिटी जडानको लागि सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्थानिय निकाय, वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी गरी हालसम्म कुल ११ हजार ८३ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ । त्यस्तै चार हजार ८९६ स्थानमा जडानको कार्य बाँकी रहेको छ । यो हुँदा हालसम्म ६९.३७ प्रतिशत काम सम्पन्न भएको छ ।

कुल पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजारको यी परियोजनामा हालसम्म ४७.८९ प्रतिशत अर्थात दुई अर्ब ७१ करोड ८१ हजारभन्दा बढी भुक्तानी भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०