close

नेपाली अनुसन्धान पहिलो पटक अन्तरिक्षमा

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १९:५८

नेपाली अनुसन्धान पहिलो पटक अन्तरिक्षमा

काठमाडौं । पहिलो पटक नेपाली अनुसन्धान अन्तरिक्षमा हुने भएको छ । एसिया प्यासिफिक रिजनल स्पेस एजेन्सी फोरम (एपीआरएसएएफ) सँगको सहकार्यमा नेपाली वैज्ञानिकहरुको टोलीले तुलसीको बिऊमाथि अन्तरिक्षमा अनुसन्धान गर्ने भएको हो ।

एपीआरएसएएफले एसिया तथा प्रसान्त क्षेत्रमा अन्तरिक्ष सम्बन्धि अनुसन्धान एवम् विभिन्न किसिमका गतिविधिहरुमा आपसी सहयोग र सूचना आदानप्रदानका लागि समन्वय गर्दै आएको छ । नेपाल समेत सदस्य रहेको उक्त संस्थामा विभिन्न देशका स्पेस एजेन्सीहरु सहभागी छन् । 

अन्य देशले अन्तरिक्ष विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धानसँगै आफ्नै रकेट समेत प्रक्षेपण गरिसक्दा नेपालमा भने त्यस सम्बन्धी स्पष्ट नीति र संरचनाको अभाव छ । वैज्ञानिक कृष्णराज अधिकारीको नेतृत्वमा नेपालका वैज्ञानिक मिलेर गैर काफामूलक संस्थाको रुपमा दश वर्ष अघि नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र (नेसार्क) नामक संस्था स्थापना गरिएको थियो ।

जसले नेपालमा स्पेस अर्थात अन्तरिक्ष सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेसार्ककै पहलमा पहिलो पटक नेपाली अनुसन्धान अन्तरिक्षमा हुन लागेको हो ।

पृथ्वीबाट चार सय किलोमिटर माथि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन स्थापना गरिएको छ । त्यहाँ रहेको ल्याबमा नेपालबाट पठाइएको तुलसीको बिऊमाथि अनुसन्धान गरिने वैज्ञानिक अधिकारीले बताए । 

‘यहाँबाट पठाइएको तुलसीको बिऊ अन्तरिक्ष केन्द्रमा अंकुरण गरिनेछ । ‘हाम्रा लागि जापानिज वैज्ञानिकले त्यहाँ तुलसीको बिऊमाथि अनुसन्धान गर्ने कार्यक्रम रहेको छ,’ उनले भने ।

नेसार्कको टोलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टको सिफारिस तथा क्वारेन्टाइनको स्वीकृतिमा लकडाउनकै बीच तुलसीको बिऊ जापान पठाएको थियो । अनुसन्धान कार्यक्रमका लागि नेपालको राष्ट्रिय झण्डा सहित ५० ग्राम तुलसीको बिऊ जापान हुँदै अहिले अमेरिकाको फ्लोरिडा स्टेसनमा पुगसकेको छ । 

जुन आउँदो डिसेम्बर २ मा रकेट मार्फत अन्तरिक्षमा पठाइनेछ । तुलसीको उक्त बिऊ एक महिनाको अवधिसम्म अन्तरिक्षमै राखिनेछ ।

कार्यक्रम सम्पन्न भइसकेपश्चात अंकुरण गरिएको तथा नगरिएको बिऊ फिर्ता आउने वैज्ञानिक अधिकारीले बताए । उनले अगाडि भने, ‘अन्तरिक्षमा अनुसन्धान गरिएको उक्त बिऊमाथि यहाँ पनि अनुसन्धान गर्छौं । जसमा तुलसीका गुणहरुको केमिकल एनालाइसिस गर्ने काम हुनेछ ।’

वैज्ञानिक अधिकारीका अनुसार गुरुत्वाकर्षण नभएको ठाउँमा अंकुरण गर्दा र त्यहाँबाट ल्याउँदा त्यसको गुणमा के परिवर्तन हुन्छ भन्ने कुराको अनुसन्धानबाट यकिन हुनेछ । साथै त्यसरी ल्याइएको बिऊ कोरोना भाइरसको उपचारका लागि उपयोग हुनसक्ने सम्भावना समेत केलाइने छ ।

‘अन्तरिक्षमा अंकुरण गरिएको र त्यहाँ राखेर फिर्ता ल्याइएको बिऊ कुन कुन रुपमा उपयोगी हुनसक्छ भन्ने कुरा हेर्छौं,’ नेसार्कका अध्यक्ष तथा वैज्ञानिक अधिकारीले भने, ‘यसमा कुन तत्व नासिन्छ वा कुन तत्व थपिन्छ, सबै कुराको अध्ययन अनुसन्धान तथा केमिकल एनालाइसिस हुन्छ ।’ 

साथै अन्तरिक्षबाट फिर्ता ल्याइएको बिऊ र यहिँ राखिएको बिऊको बीचमा समेत वैज्ञानिक अनुसन्धान गरिनेछ । यसरी विभिन्न चरण तथा कोणबाट हुने अनुसन्धानबाट प्राप्त नतिजा प्रतिवेदनमार्फत सार्वजनिक गरिने बताइएको छ ।

नेपालबाट बिऊ जापान पठाउँदा लागेको खर्च नेसार्कले व्यहोरे पनि बाँकी सबै खर्च भने जापानले व्यहोरिदिने छ । जापानको सहयोगमा नेपाल सहित बंग्लादेश, ताइवान, थाइल्याण्ड, मलेसिया, लगायका देशहरुका हर्बल बिऊ समेत अन्तरिक्षमा अनुसन्धानका लागि लगिँदैछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०