close

अनलाइन प्रणालीमार्फत भूमिसुधार र मालपोत कार्यालयमा ढड्डा युगको अन्त्य

टेकपाना टेकपाना

मंसिर १०, २०७७ ९:१५

अनलाइन प्रणालीमार्फत भूमिसुधार र मालपोत कार्यालयमा ढड्डा युगको अन्त्य

काठमाडौं । भूमिसुधार र मालपोत कार्यालयहरुबाट प्रवाह हुने सेवालाई आधुनिक प्रविधिको माध्यमबाट टिटो, छरितो एवम् सरलीकृत बनाउने भन्दै तीन वर्ष अघि अनलाइन प्रणालीको रुपमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) को सुरुवात गरिएको थियो । तथ्याङ्क संकलन व्यवस्थित भए पनि त्यसबाट सेवाग्राहीले प्राप्त गर्ने सुविधा भने सरल हुन सकेको थिएन ।

तर अब भने सुशासन कायम गर्ने उद्देश्यले हाल १०८ वटा कार्यालयमा प्रयोग भइरहेको यो प्रणालीमार्फत हुने गरेको सेवाप्रवाहको प्रकृयालाई थप सरल बनाउन प्रकृयागत सुधार तथा परिमार्जन गरिएको छ । यससँगै ती कार्यालयहरुमा ढड्डा युगको अन्त्य हुने भएको हो ।

हाल अनलाइनको माध्यमबाट कारोबार हुने कार्यालयहरुमा रजिस्ट्रेसन, लिखत पारित, नामसारी, दा.खा., हालसाविक लगायतका विषयमा दाखिल खारेज गरी जग्गाधनी दर्ता श्रेस्ता र पूर्जा तयार गर्दा जग्गाधनीको अनलाइन फोटो र बायोमेट्रिक ल्याप्चे तथा सही छाप लिने गरिएको छ ।

अनलाइन प्रणालीको उद्देश्य विपरीत तथा दोहोरो प्रकृयाको रुपमा त्यसपश्चात पुनः श्रेस्ता पूर्जामा अर्को फोटो टाँस गर्ने र ल्याप्चे तथा सहीछाप गराउने कार्य हुँदै आएको छ । तर अब भने अनलाइन प्रणालीमार्फत कारोबार हुने कार्यालयहरुमा अनलाइन फोटो र बायोमेट्रिक फिंगरप्रिन्ट तथा सहिछाप लिइसकेपछि पुनः फोटो टाँस गरी सहीछाप गराउनु नपर्ने भएको छ ।

साथै हालसम्म हस्तलिखित रुपमा बनाउने गरिएको श्रेस्ताको साटो नयाँ ढाँचा अनुसार कम्प्युटर प्रणालीमा कायम हुने श्रेस्तालाई नै एक प्रति प्रिन्ट गरी प्रमाणित गरी/गराई श्रेस्ता कायम गर्नुपर्ने व्यवस्था भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागले मिलाएको छ ।

यसैगरी हालसम्म बैंक तथा वित्तीय संस्था, सहकारी लगायतका निकायबाट धितो बन्धक पारित भएको तथा पत्रको आधारमा गरिने रोक्काहरु र व्यक्तिगत दृष्टि बन्धकबाट गरिएका रोक्का प्रयोजन समाप्त भइसकेपछि फुकुवा गर्ने क्रममा सम्बन्धित जग्गाधनीको समेत सनाखत गराई फुकुवा गरिँदै आएको थियो ।

तर अब उपरान्त भने रोक्का राख्ने निकायबाट फुकुवा पत्र लिई आउने प्रतिनिधि र व्यक्तिगत दृष्टिबन्धकको हकमा धनी तथा साहूको मात्र सनाखत गराएर फुकुवा गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी हाल सेवा प्रवाहको क्रममा सेवाग्राहीले बुझाउनुपर्ने राजस्व बैंकमा जम्मा गरी सक्कल भौचर पेश गरेपश्चात कार्यालयले सोही भौचरको आधारमा पुनः नगदी रसिद काट्ने गरेको छ ।

यसरी काममा दोहोरोपन सिर्जना हुँदा ढिलासुस्ती भएको उल्लेख गर्दै विभागले अब उपरान्त सेवाग्राहीले पेश गरेको सक्कल बैंक भौचरलाई नै सम्बन्धित लिखत तथा मिसिलमा संगल्न गरी सोही भौचरको आधारमा काम कारबाही गर्ने गराउने निर्णय लिएको छ । साथै दैनिक रुपमा संकलन भएको राजश्व भौचर अनुसारको विवरण तयार पारी सम्बन्धित शाखाले लेखा शाखामा पठाउनुपर्नेछ ।

यति मात्र नभएर कोभिड १९ को बढ्दो संक्रमण र यसबाट सेवाग्राही तथा कर्मचारीमा पर्नसक्ने स्वास्थ्य जोखिम एवम् सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कार्यालय प्रमुखले नै प्रचलित कानून विपरित नहुने गरी आवश्यकता अनुसार सेवा प्रवाहको प्रकृयालाई थप सरल तथा सहज बनाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०