close

अब वैदेशिक रोजगारको बीमा र कल्याणकारी कोषको शुल्क अनलाइनबाटै तिर्न सकिने

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १४:२२

अब वैदेशिक रोजगारको बीमा र कल्याणकारी कोषको शुल्क अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोष तथा बीमा शुल्क तिर्न सकिने भएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली अन्तर्गत श्रम स्वीकृति तथा नवीकरणका लागि लाग्ने शूल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको हो । 

अनलाइनबाटै बीमाको शूल्क तिर्ने व्यवस्थाका लागि सन लाइफ इन्स्योरेन्सले ईसेवासँग सहकार्य गरेको छ । वैदेशिक रोजगारमा जान चाहनेले अब ईसेवाबाटै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । 

हाललाई ईसेवाको वेबसाइटमा मात्र रहेको यो सेवा बुधबारदेखि नै एन्ड्रोइड एपमा समेत उपलब्ध हुने ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘आईओएसमा भने बिहीबारसम्मको समय लाग्न सक्छ ।’

ईसेवाबाटै बीमा शूल्क भुक्तानी गर्न चाहनेले अंग्रेजीमा (फरेन इम्लोइमेन्ट) सर्च गर्नुपर्नेछ । जसमा सनलाइफको म्यादी बीमाको अप्सन फेला पार्न सकिनेछ । वैदेशिक रोजगार विभागका अनुसार यो सेवा सुरुवातको औपचारिक घोषणा हुन बाँकी रहेको भए पनि परीक्षण सफल भइसकेकाले सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भने करिब एक महिना देखि नै अनलाइन प्रणालीमा समावेश भइसकेको छ । जसअनुसार सेवाग्राहीले ईसेवा र खल्ती वालेटबाट सहजै वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

यसका लागि ईसेवाले शिद्धार्थ बैंकसँग सहकार्य गरेको छ । कनेक्ट आईपीएसमा भने यो सेवा आउँदो सोमबारदेखि उपलब्ध हुने वेदेशिक रोजगार विभागका आईटी प्रमुख राजु महर्जनले जानकारी दिए ।

सेवाग्राहीले सम्बन्धित सेवाप्रदायकको एप तथा वेबसाइटमा गएर फरेन वेलफेयर (Foreign Welfare) सर्च गरी कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेसँगै तत्कालै अनलाइनमा त्यसको भौचर प्राप्त गर्न सकिनेछ । 

सेवाग्राहीले श्रम स्वीकृतिको अवधि तथा उमेर राख्दा बीमा शूल्क तथा कल्याणकारी कोषको शूल्क स्वतः देखिने बनाइएको छ । यस अघि श्रम स्वीकृति लिनका लागि सेवाग्राहीले दलाल तथा बिचौलियालाई चर्को कमिसन दिनुपर्ने बाध्यता रहेको थियो ।

बीमा शूल्क भुक्तानी गरिसकेपछि तत्कालै पोलिसी नम्बर प्राप्त हुने र पोलिसीको कागजात ईमेलमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । एफईआईएमएसमा अनलाइन भुक्तानी इन्ट्रिगेसन भएसँगै अब वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सेवा अनलाइनबाट उपलब्ध गराउन संभव भएको विभागले जनाएको छ ।

विभागले विदेशमा रहेकै अवस्थामा श्रम स्वीकृतिको अवधि समाप्त भएका कामदारलाई लक्षित गर्दै अनलाइनबाट श्रम स्वीकृति तथा नवीकरण सेवा दिने योजना बनाएको छ । उनीहरुले अनलाइनबाट नवीकरण फर्म भरेर बीमा शुल्क तथा कल्याणकारी कोषको शुल्क तिर्ने सक्नेछन् ।

यसका लागि सम्बन्धित देशमा रहेका राजदूतावास तथा कुटनीतिक नियोगसँग कुराकानी भइरहेको बताइएको छ । ताहचलमा छुट्टै अनलाइन सेक्सन बनाउने र त्यहाँबाट पहिलो चरणमा विदेशमा रहेका कामदारलाई अनलाइनबाट श्रम स्वीकृति तथा नवीकरणको सेवा उपलब्ध गराइनेछ ।

प्रक्रिया पुरा गरेसँगै कार्यालयले अनलाइनबाटै श्रम स्वीकृतिको स्टिकर उपलब्ध गराउनेछ । दोस्रो चरणमा भने स्वदेश तथा विदेशमा रहेका सबै कामदारलाई श्रम स्वीकृतिको सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध गराउने विभागको तयारी छ ।

प्राविधिक रुपमा विभाग तयार भए पनि श्रम र परराष्ट्र मन्त्रालयसँग समन्वयमा जानुपर्ने भएकाले यो योजना केही चुनौतिपूर्ण देखिएको छ । विभागले व्यक्तिगतसँगै संस्थागत श्रम स्वीकृति समेत चालु आर्थिक वर्षभित्रै अनलाइनमा लैजाने लक्ष्य राखेको छ ।

हाल वैदेशिक रोजगारीको माग सम्बन्धित देशमा रहेका दुतावासले प्रमाणीकरण गरेर एफईआईएमएसमा पठाउने गरेका छन् । त्यहाँबाट म्यानपावरहरुले आफ्नो लगईनमा दुतावासबाट प्रमाणीकरण भएको मागपत्र हेर्न सक्छन् र पूर्व स्वीकृतिका लागि ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालयमा फरवार्ड गर्न सक्छन् ।

त्यसै आधारमा पूर्व स्वीकृति जारी हुने र स्वतः जब पोर्टलमा पब्लिस हुने व्यवस्था मिलाइएको छ । जब पोर्टलबाट सेवाग्राहीले आफूलाई उपयुक्त रोजगारी छनौट गरी अनलाइन आवेदन दिन सक्छन् । 

त्यसै आधारमा म्यानपावरले अन्तर्वार्ता र छनौट प्रक्रिया अगाडि बढाउने गरेका छन् । अब म्यानपावरले यसैगरी अन्तिम स्वीकृतिका लागि समेत अनलाइनबाटै प्रक्रिया अगाडि बढाउन सक्ने गरी व्यवस्था मिलाइने आईटी इन्जिनियर समेत रहेका महर्जनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०