close

एटीएमभन्दा कनेक्ट आईपीएस मार्फत झण्डै दोब्बर भुक्तानी

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १९:१९

एटीएमभन्दा कनेक्ट आईपीएस मार्फत झण्डै दोब्बर भुक्तानी

काठमाडौं । एनसीएचएल अन्तर्गतको कनेक्ट आईपीएसमार्फत एटीएमको तुलनामा झण्डै दोब्बर भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा सबै एटीएमको तुलनामा कनेक्ट आईपीएसको अनलाइन प्रणालीबाट दोब्बर कारोबार भएको देखिएको हो ।

गएको असोजमा एटीएमबाट ४६ अर्ब ७८ करोड ५० लाख रुपैयाँको भुक्तानी हुँदा सोही समयमा कनेक्ट आईपीएसबाट भने ८८ अर्ब ९७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम थोरै भए पनि कारोबार संख्याको हिसाबले भने एटीएम नै अघि देखिएको छ ।

यस अवधिमा कनेक्ट आईपीएसबाट १२ लाख ५९ हजार २९१ पटक कारोबार भएको छ भने एटीएमबाट ५३ लाख ८८ हजार ५०२ पटक कारोबार भएको छ । कनेक्ट आईपीएसबाट साउन र भदौंमा क्रमशः ४७ अर्ब ३६ करोड ७० लाख रुपैयाँ तथा ६१ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

यस हिसाबले पछिल्लो एक महिनाको अवधिमा मात्रै कनेक्ट आईपीएसमार्फत हुने काराेबार २७ अर्ब दुई करोड १० लाख रुपैयाँले बढेको छ । यसैगरी एनसीएचएलको अन्तर बैंक भुक्तानी प्रणाली (आईपीएस) मार्फत असोजमा दुई खर्ब ३४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार समेत असार र साउनको तुलनामा धेरै हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०