close

एउटै प्रणालीमार्फत सरकारी कार्यालयलाई जोड्दै डिओआईटी

टेकपाना टेकपाना

मंसिर १२, २०७७ ११:३१

एउटै प्रणालीमार्फत सरकारी कार्यालयलाई जोड्दै डिओआईटी

काठमाडौं । देशभरका सरकारी कार्यालहरुलाई एउटै व्यवस्थापन प्रणालीमार्फत जोड्ने उद्देश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम) को तयारी अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले याे परियाेजना अघि बढेकाे जानकारी दिएको छ ।

सूचना प्रविधि विभागका निर्देशक लोकराज शर्मा भन्छन, ‘सबै कार्यालयलाई एउटै सिस्टममार्फत व्यवस्थित गर्ने उद्देश्यले यसलाई अघि बढाइएको हो । टेण्डरको कार्य सम्पन्न भई हाल कम्पनी सर्टलिस्ट गरेर उनीहरुबाट आएको डकुमेन्ट अध्ययन तथा मूल्याङ्कनको क्रममा रहेको छ ।’

यही आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी काम अघि बढाइएकाले अबको केही समयमै यसको अन्त्तिम नतिजा सार्वजनिक हुने शर्मा बताउँछन् । उनका अनुसार सिस्टम निमार्णको कार्य सम्झौता भएको मितिले ६ महिनाभित्र सम्पन्न भइसक्नेछ ।

सिस्टममा सरकारी कार्यलयमा आउने डकुमुन्ट म्यानेजमेन्ट, चिठी पत्र, दर्ता चलानी, स्टोर म्यानेजमेन्ट, मिटिङ म्यानेजमेन्टका साथै कार्यलयको लागि छुट्टै मोबाइल एप पनि उपलब्ध हुनेछ । हाल कार्यलय अनुसार छुट्टै सिस्टम, छुट्टै एप्लिकेसन हुँदा खर्च बढ्नुका साथै व्यवस्थापनमा पनि समस्या भइरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै सबै सरकारी कार्यलयलाई एउटै सिस्टममार्फत जोड्ने योजनाका साथ यो सिस्टमको निमार्णका कार्य अघि बढाइएको शर्मा बताउँछन् ।

शर्माका अनुसार यो सिस्टममार्फत एक कार्यलयबाट अर्को कार्यालयमा डकुमेन्ट पठाउन, कार्यलयको बैठकको जानकारी दिन, बैठकको माइन्युट तयार पार्न सकिन्छ । त्यसका लागि यसमा डिजिटल सिग्नेचर समेत प्रयोग हुनेछ ।

यसका साथै उक्त सिस्टममा सम्पूर्ण कार्यालयका कर्मचारीको विवरण, सम्पत्ति विवरण समेत त्यसैमा हुनेछ । यो हुँदा कर्मचारीलाई आफ्नो सम्पत्ति विवरण भर्न पनि सजिलो हुनेछ भने अख्तियारले कुनै व्यक्तिको विवरण हेर्न चाहेमा सजिलै प्राप्त गर्न सक्छ ।

तर, त्यसका लागि अख्तियारले निजामती किताब खानामार्फत निवेदन दिएर पासवर्ड लिनु पर्नेहुन्छ । उक्त पासवर्ड पनि केही घण्टाको लागि मात्र उपयोगी हुने खालको सिस्टम हुने शर्मा बताउँछन् ।

शर्माका अनुसार सिस्टममा कर्मचारीको बिदा, हाजिर, कर्मचारीको सुरुवाको रेकर्ड समेत रहनेछ । हाल निजामती किताब खानामा कागजमा रेकर्ड राख्ने भएकाले यस्ता सम्पूर्ण जानकारी नहुने खालको समस्या छन् ।

त्यसैले पनि विभागले पहिलो चरणमा निजामती किताब खानासँग यो सिस्टम प्रयोगका लागि कुरा अघि बढाएको शर्मा बताउँछन् । उनी भन्छन, ‘निजामती किताब खानाबाट राम्रो प्रतिकृया आएसँगै हामीले यसलाई अघि बढाएका हौं ।’

शर्माका अनुसार यस सिस्टममा लेखा प्रणाली भने हुने छैन । लेखा प्रणालीको काम यसअघि नै महालेखाले अघि बढाइसकेकाले उक्त भाग हटाइएको हो । तर, यो सिस्टम महालेखाको उक्त सिस्टममा जोड्न सकिने गरी तयार हुने भएकाले भोलिका दिनमा सबै कुरा एउटै सिस्टम र एउटै एपमा निर्भर हुने उनी सुनाउँछन् ।

सुरुमा यसका लागि आवश्यक प्रविधि र उपकणको निमार्ण कार्य सम्पन्न भएसँगै यसको पाइलट परीक्षण गरिनेछ । परीक्षण पश्चात कार्याविधि तयार पारेर यसलाई सम्पूर्ण सरकारी कार्यलयमा लागू गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०