close

कोडिङ नजान्नेले पनि सजिलै वेबसाइट बनाउन सक्ने प्लेटफर्म – यल्को

टेकपाना टेकपाना

मंसिर १६, २०७७ ९:६

कोडिङ नजान्नेले पनि सजिलै वेबसाइट बनाउन सक्ने प्लेटफर्म – यल्को

काठमाडौं । कोभिड महामारीपछि विश्वभरको व्यवसायिक परिदृश्यमा परिवर्तन देखिएकाे छ । साना, मझौला र ठूला सबै किसिमका व्यवसायहरु अनलाइनमा सिफ्ट भइरहेका छन् ।  

व्यवसायलाई अगाडि लान अनलाइन नै अचुक माध्यम हो भनेर सबैले महसुस गरिसकेका छन् । वेबसाइट र एप्स सबैलाई अत्यावश्यक बनिसकेको छ । तर यसमा खर्च गर्ने क्रयशक्ति सबैमा छैन । एउटा सामान्य वेबसाइटको लागि ६०, ७० हजार तिर्ने तथा एप्सका लागि दुई/तीन लाख तिर्न सक्ने क्षमता गरेर व्यवसाय अगाडि लग्न मानिसहरु हिच्किचाउँछन् । 

तर अब एउटा सानो पानी पुरी घुम्ती पसलदेखि, सामान्य व्यक्ति, सानो लगानीबाट सुरु भएको ईकमर्श वा साना तथा मझौला उद्यमी, जोसकैले एकदमै कम मूल्यमा आफैंले आफ्नो वेबसाइट बनाउन सक्नेछन् । 

शिव कँडेल, उज्ज्वल खनाल र माेहम्मद सरफाजकाे टिमले निर्माण गरेको यल्कोमा अब प्राविधिक तथा गैरप्राविधिक जुनसुकै क्षेत्रमा आवद्ध व्यक्ति तथा संस्थाले आफ्नो आवश्यकता अनुसारको वेबसाइट आफैं बनाउन सक्नेछन् ।

यल्को एउटा वेब अटोमेसन प्लेटफर्म हो, जहाँ प्राविधिक ज्ञान भएकादेखि सामान्य कम्प्युटर र ब्राउजर चलाउन सक्नेले पनि एकदमै न्यून शुल्कमा आफैं वेबसाइट बनाउन सक्छन् । 

‘आईटीको केही कुरा थाहा नभएको कम्प्युटर फेसबुक युट्युब मात्र चलाउन जान्ने तथा कम्प्युटरको सामान्य भाषा बुझ्नसक्नेका लागि यो एउटा वेबसाइट बनाउने प्लेटफर्म हो,’ कँडेल भन्छन् ।  

वेबसाइट अहिले सबैको आवश्यकता हो । तर चर्को शुल्क र डलरमा भुक्तानी गर्नुपर्ने बाध्यताले वेबसाइट सामान्य मानिसहरुको पहुँचभन्दा बाहिर छ । यस्तो अवस्थामा साना तथा मझौला उद्योग तथा डिजिटल मार्केटिङमा रुचि भएकाहरुले न्युन मूल्यमा वेबसाइट बनाउन सकुन् भन्ने उदेश्यले शिव र उज्जवलले नेपाली बजारमा तीन वर्षअघि यल्को ल्याएका हुन् ।

‘हामीले लोकेल पेमेन्टकाे सुविधा दिइएका छाैं,’ यल्कोका संस्थापकमध्येका एक कँडेल भन्छन्, ‘बाहिरको मान्छेले वेबसाइट बनाउँदा डलरमा भुक्तानी गर्नुपर्ने हुँदा त्यो महङ्गो भइरहेको हुन्छ । तर नेपाली रुपैयाँमा खरिद गर्दा त्यो सस्तो हुन जान्छ ।

उनले अगाडि भने, ‘विक्स जस्तो प्लेटफर्मबाट तपाईंले वेबसाइट बनाउनुभयो भने लोकल पेमेन्ट गेटवेलाई इन्टिग्रेट गर्न सक्नुहुन्न । यसैले वेबसाइट बनाउने खर्च एकदमै धेरै हुन जान्छ । हामी यसलाई घटाउन चाहन्छौं ।’

यल्को प्रयोगकर्ताका लागि आफूहरुले स्थानीय पेमेन्ट गेटवे सेवा खल्ती, ई-सेवा तथा अन्य फिनटेक सेवाप्रदायकसँग साझेदारी गरेको उनले बताए । 

यल्कोको प्लेटफर्ममा सेवाग्राहीहरुले यल्को डटकम सब डोमेन थप गरी लाइफटाइम नि:शुल्क वेबसाइट बनाउन सक्छन् । यसबाहेक यल्कोले अन्य तीन किसिमका पेड प्याकेजबाट पनि वेबसाइट बनाउने सुविधा दिएकाे छ ।

सामान्य तथा फ्रिल्यान्सरहरुले तीन हजार ९९९ रुपैयाँमा वेबसाइट बनाउन सक्छन् । यो प्याकेजमा प्रयोगकर्ताहरुले पाँच जीबीसम्म डेटा पाउन सक्छन् । यस्तै अर्को पाँच हजार ९९९ को बिजनेस प्याकेजमा प्रयोगकर्ताहरुले १० जीबी डेटा पाउन सक्छन् । यस्तै वार्षिक ११ हजार ९९९ शुल्क लाग्ने सिङ्गल भेण्डर ईकमर्शको पनि प्याकेज यसमा पाउन सकिन्छ । 

दोस्रो प्याकेजमा स्पेसको माग उच्च हुन्छ । यसमा स्टोरेज अनलिमिटेड हुन्छ । कन्टेन्ट डेलिभरी म्यानेजमेन्ट पनि हुने उनले बताए । साथै प्रिमियम प्लगिनहरू  पनि प्रयोगकर्ताले पाउन सक्छन् ।

एसएसएल त सबैमा बाइ डिफल्ट नै हुन्छ तर, अन्य कम्पनीहरुले जसरी वेबसाइट सेक्युरिटीको पैसा आफूहरुले लिने नगरेको उनले बताए । प्राविधिक रुपमा क्षमता धेरै भएको यो प्याकेजमा ‌ओटीटी कलसहित अन्य धेरै फिचरहरु छन् ।

यल्कोले डिजिटल मार्केटिङ एजेन्सीसँग पनि पार्टनरसिप गरिरहेको छ । प्याकेज खोज्नेका लागि त्यो सुविधा पनि छ । 

नेपालमा ईकमर्श वेबसाइटहरुका मूल्य सुलभ नभएको अर्का संस्थापक उज्जवल खनाल बताउँछन् । 

‘हाम्रो प्लेटफर्ममा बनाउन सकिने बेसिक प्याकेजलाई अरुले ५० देखि ६० हजारसम्म लिने गरेका छन्’ उनी भन्छन्, ‘ईकमर्श प्याकेज प्लेटफर्मकै कुरा गर्दा उनीहरुले तीनदेखि चार लाखसम्म शुल्क लिन्छन् । हाम्रो अर्को ईकमर्श प्रो प्याकेज पनि आउँदैछ ।’ 

सेवाग्राहीहरुले यल्कोमै डोमेन नेम किन्न तथा, पछाडि यल्को डटकम थप गरी निःशुल्क डोमेन प्रयोग गर्न सक्छन् । तर यदि कसैले अगाडि नै डोमेन नेम किनिसकेको छ भने यल्कोको सर्भरमा ट्रान्सफर गरी सिस्टम प्रयोग गर्न सक्छन् ।

यल्को डटकममा बनेका वेबसाइटहरुको प्राविधिक पाटो सबै आफ्नै कम्पनीले सम्हाल्ने गरेको उनीहरु बताउँछन् । 

यल्कोमा कुनै कुरा पनि मेन्योल्ली नभई सबै कुरा अटोमेटेड हुने उनीहरु बताउँछन् । 

‘डोमेन नेम किनेको वा वेबसाइट बनाएको भ्याट बिल दिने चलन धेरै ठाउँ हुँदैन । तर हाम्रो सिस्टम ६० देखि ७० प्रतिशतसम्म पुरै अटोमेटेड छ । प्रयोगकर्ता आएर वेबसाइट बनाएर पेमेन्ट गर्दा बिलिङसम्म सबै कुरा अटोमेसन हुन्छ,’ कम्पनीका अर्का संस्थापक माेहम्मद सरफाजले भने ।  

यल्कोको अवधारणा सुन्ने सुरुमा जोकोहीलाई पनि आफैं वेबसाइट बनाउन सकिने कुरा अविश्वासनीय लाग्छ । तर आफूहरु पनि गैर प्राविधिक शैक्षिक पृष्ठभूमिबाट आएर पनि प्राविधिक क्षेत्रमा यति ठूलो प्लेटफर्मको नेतृत्व गरिरहेका दुवै युवा यल्कोमा वेबसाइट कृएट गर्न एकदमै सजिलो हुने विश्वास दिलाउँछन् । 

‘तपाईंसँग सबै कन्टेन्ट रेडी छ भने आधा घण्टामै तपाईंको वेबसाइट तयारी अवस्थामा पुग्छ,’ सरफाज भन्छन्, ‘टेक्निकल पार्ट हामीले हेर्ने जिम्मा लिएका छौं । यसमा हामी क्यान्भा डटकमकै प्रविधि प्रयोग गर्छौं । फेसबुकमा पोस्ट कृएट गरेको जसरी ड्रयाग एण्ड ड्रप विधिबाटै तपाईं आफैले वेबसाइट बनाउन सक्नुहुन्छ ।’ 

वेबसाइटको कुरा गर्दा एउटा टेक ज्ञान भएको मान्छेले आफ्नो आवश्यकता अनुसार यल्कोमा बनाउने आफ्नो वेबसाइटमा धेरै कस्टमाइजेसन गर्न सक्छन् । तर एउटा गैर प्राविधिक मान्छेलाई के कुराहरु चाहिएको हो त्यो कुरा भने अनुसार आफूहरुले पुरा गरिदिने उनीहरु बताउँछन् । 

‘हामीले वेबसाइट बनाउने करिब ७० वटा आइटी कम्पनीहरुमा रिसर्च गर्‍यौं । तर कुनै पनि फ्रिल्यान्सर र किरानाहरुले वेबसाइट किन्न सक्ने स्थिति छैन । हामीले बनाउने तीन हजार ९९९ को प्याकेजलाई अन्य ठाउँमा ६० देखि ७० हजार शूल्क लिने गरेका छन्’ शिव भन्छन् । 

यति सस्तोमा वेबसाइट बनाउन सकिन्छ भन्ने कुरा सुन्दा मानिसहरुलाई सुरक्षा तथा वेबसाइट गुणस्तरतामा शंसय उत्पन्न हुनु सामान्य कुरा हो । 

मूल्य सस्तो भए पनि गुणस्तरतामा आफूहरुले सम्झौता नगर्ने यल्कोको संस्थापन टिम बताउँछ । 

‘सस्तो भन्दा सुरक्षित हुन्न भन्छन् तर त्यस्तो हुँदैन । यहाँ एसएसएल एक क्लिकमै हुन्छ । हाम्रो फोर स्टेप अथेन्टिकेसन सेक्युरिटी टूल छ । तपाईंले धेरै लेयरमा वेबसाइटलाई सुरक्षित राख्नसक्नुहुन्छ जुन महंगो पैसा लिने कम्पनीले पनि दिन सक्दैनन् ।’ उज्जवल भन्छन् ।  

‘मुख्य त हाम्रो उद्देश्य भनेको साना तथा मझाैला व्यवसायीलाई नै सजिलो बनाउनु हो’ शिव कँडेल, ‘कोभिडपछि धेरै साना ठूला व्यवसयीहरुले आफ्नो भविष्य इकमर्शमा देखेका छन् । तर अनलाइन जान मन हुँदा हुँदै वेबसाइट बनाउन धेरै खर्च लाग्ने भएर उनीहरुको बाटो नरोकियोस् भनेर हामीले यो सुरु गरेका हौं ।’

विश्व चर्चित प्लेटफर्म विक्सकै मोडलमा बनेको यल्को अहिले नेपालबाहेक लकडाउनपछि काठमाडौं र अष्ट्रेलियामा पनि विस्तार भएको छ ।

नेपालमा अनुसन्धान गर्दै क्लाइन्टको बेस बढाउँदै प्लेटफर्मलाई सुधार गरिरहेकाे यल्कोको टिमले अन्य दुई मुलुकहरुको पेमेन्ट गेटवेको समस्यालाई हल गर्दै विश्वमा एउटा सस्तो वेबसाइट ब्युल्डर प्लेटफर्म बनेर विक्सको साम्राज्यलाई चुनौती दिने उद्देश्य लिएको शिव बताउँछन् ।

विक्स डटकमसँग प्रतिस्पर्धा गर्न भनेर कम्पनीले विक्समा पाउने प्रविधिको करिब ६० देखि ७० प्रतिशत फिचर राखेको बताउँछ ।

लकडाउनपछि यल्कोले आफ्नो प्लेटफर्ममा सुधार गरेको छ । फिचर थप गर्दै गइरहेको छ । 

‘अहिले हाम्रो प्लेटफर्मले डाइनामिक प्राइसिङ मोडलमा काम गरिरहेको छ’ उनी भन्छन्, ‘उदाहरणका लागि तपाईंले नेपालबाट अकाउन्ट कृएट गर्नुभएको छ भने नेपालको मात्र प्राइसिङ देखाउँछ । सबै बजारमा क्रय क्षमता एउटै हुँदैन ।’

उनले अगाडि भने, ‘तर सबै वेबसाइट बिल्डिङ कम्पनी तथा प्लेटफर्महरुले डलरमा चार्ज गरिरहेका हुन्छन् । तर हामीले मुलुकको क्रय शक्तिको आधारमा त्यहाँको एसएमइजहरुले खरिद गर्न सक्ने क्षमतामा आधारित रहेर सस्तो मूल्य चार्ज गरिरहेका छौं । यसले विश्वका जुनसुकै मुद्रा स्वीकार गर्छ ।’

यल्कोले नेपालमा घइटे चिया, कथा एक्सप्रेस, अभिनेत्री निशा अधिकारीको जेरो टलरेन्स प्लेटफर्म, फोटोपत्रकार दिपेन्द्र बज्रचार्यसँग सहकार्य गरिसकेको छ । 

‘हामी वेबसाइट मात्र दिन्छौं,’ उज्जवल भन्छन्, ‘हामीलाई धेरै कस्टमाइज गर्ने काम आइरहेका हुन्छन् । त्यो काम पनि गरिरहेका छौं । 

गैरप्राविधिक पृष्ठभूमिबाट आए पनि १२ कक्षामा पढ्दादेखि दुवै हितेषीले आइटी आन्टरप्रिनियरको रुपमा काम गरेको कारण आफूहरुसँग १५ वर्षको कलेक्टिभ टिम एक्सपिरियन्स रहेको उनीहरु बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०