close

अब मोबाइल र इन्टरनेट सेवाको गुनासो अनलाइनबाटै गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १८:५९

अब मोबाइल र इन्टरनेट सेवाको गुनासो अनलाइनबाटै गर्न मिल्ने

काठमाडौं । गुनासो दर्तालाई व्यवस्थित गर्ने उद्देश्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले कप्प्लेन ह्यान्डलिङ सिस्टमको तयारी पुरा गरेको छ । दूरसञ्चार सेवाको विषयमा गुनासो दर्ता गर्ने व्यवस्थित माध्यम नहुँदा मर्कामा परिरहेका प्रयोगकर्तालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त सिस्टम विकास गरेको हो ।

यसअघिसम्म इन्टरनेट तथा टेलिफोनको विषयमा गुनासो दर्ता गर्न प्रयोगकर्ताले प्राधिकरणको ईमेलमा मेल पठाउनुपर्ने झन्झट थियो ।

दूरसञ्ञ्चार सेवाको प्रयोग दैनिक रुपमा बढी रहेको छ । सेवाको दायरा बढ्दै जाँदा गुनासो गर्ने प्रक्रिया भने झन्झटीलो छ । यही कारण प्रयोगकर्ता गुनासो गर्न समेत आनाकानी गर्छन् । त्यसैलाई मध्यनजर गर्दै प्राधिकरणले यसलाई व्यवस्थित गर्ने तयारी गरेको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार हाल उक्त प्रणाली परीक्षणको क्रममा रहेको छ । ‘आवश्यक प्राविधिक कार्य सम्पन्न गरी त्यसमा हुनसक्ने त्रुटि केलाउने काम भइरहेको छ,’ अर्यालले भने, ‘अबको केही समयमै यसलाई लाइभ गरिनेछ । उक्त सिस्टममार्फत प्रयोगकर्ताले सहजै आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।’

उक्त सिस्टममार्फत प्रयोगकर्ताले गरेको गुनासो सोझै प्राधिकरणको सिस्टममा उपलब्ध हुनेछ । भने, प्राधिकरणले त्यही सिस्टममार्फत कुन सेवा प्रदायकको नाममा गुनासो आएको हो । उक्त सेवा प्रदायकलाई त्यही सिस्टममार्फत असाइन गर्नेछ ।

त्यसका लागि सेवा प्रदायकले एउटा व्यक्ति तोक्नुपर्ने हुन्छ । उक्त व्यक्तिले उक्त सिस्टममा आउने गुनासोको विषयमा सेवा प्रदायकबाट के भइरहेको छ भन्ने विषयमा निरन्तर अपडेट गराउनेछ ।

यसो हुँदा सेवा प्रदायकले गुनासो अनुसार के काम गरिरहेको छ वा काम भए/नभएको विषयमा समेत सिस्टममै देखिने छ ।

‘त्यो हुँदा गुनासो समाधान पनि छिटो हुने भयो,’ अर्याल भन्छन, ‘ग्राहकको गुनासो तथा उनीहरुको संरक्षण गर्नु प्राधिकरणको दायित्वभित्र पर्ने भएकाले पनि यसलाई व्यवस्थित गर्न खोजिएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०