close

टेलिकम कम्पनीका लागि नयाँ आम्दानीको स्रोत बन्दै ‘ओटीपी’ कोड

टेकपाना टेकपाना

मंसिर १९, २०७७ २०:४३

टेलिकम कम्पनीका लागि नयाँ आम्दानीको स्रोत बन्दै ‘ओटीपी’ कोड

काठमाडौं । सामाजिक सञ्जाल र म्यासेजिङ एपको बढ्दो प्रयोगले मोबाइलबाट म्यासेज पठाउने तथा कल गर्नेको संख्या विस्तारै घटिरहेको छ । सामान्यतया कुनै चाडपर्वमा आफ्ना आफन्तलाई मोबाइल म्यासेजमार्फत सम्झनेभन्दा अन्य अवस्थामा मोबाइल म्यासेजको खासै प्रयोग नै हुँदैन भन्दा पनि फरक नपर्ला ।

यो विषयलाई टेलिकम सेवा प्रदायक कम्पनीहरुको तथ्याङ्कले पनि पुष्टी गर्दै आइरहेको छ । कम्पनीहरुका अनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा मोबाइल एसएमएसबाट हुने आम्दनी १५ प्रतिशतको हाराहारीले वृद्धि भएको देखिन्छ । तर, त्यसपछिका वर्षहरुमा एसएमएसको प्रयोग निरन्तर रुपमा घटिरहेको छ ।

सन् २०१७ बाट २०१८ मा आइपुग्दा एसएमएसबाट हुने आम्दानी झन्डै ५ प्रतिशतले घटेको देखिन्छ । भने, सन् २०१८ बाट उक्त प्रतिशतमा अझ ठूलो अन्तर देखिएको छ । सन् २०१८ बाट २०१९ मा आइपुग्दा १० प्रतिशतभन्दा बढीले घटेको आम्दानी यो वर्ष अझ ठूलो अन्तर हुन सक्ने अनुमान टेलिकम सेवा प्रदायकले गरिरहेका छन् ।

यसरी म्यासेज आदान प्रदानमा भइरहेको कमीले कम्पनीको आम्दानीमा नकारात्मक प्रभाव पर्नु स्वभाविक नै हो । ‘टेलिकम सेवा प्रदायकको एसएमएस नै ठूलो आम्दानीको स्रोत भने होइन,’ टेलिकमका प्रवक्ता राजेश जोशी भन्छन, ‘तर पनि यसले झिनो अंकको अर्थ भने राख्छ ।’

यसको अर्थ यसले कम्पनीको वार्षिक आम्दानीमा केही तलमाथि भने पक्कै पार्नेछ । तर, यही बीचमा वान टाइम पासवर्ड अर्थात ओटीपी टेलिकमलाई राहत साबित भएको देखिन्छ । विगत केही वर्षयताबाट टेलिकम कम्पनीहरुको ओटीपीमार्फत करोडौं आम्दानी गरिरहेका छन् ।

अन्तराष्ट्रिय कम्पनी फेसबुक, ट्वीटर, टिकटक, गुगल लगायतले टेलिकम सेवा प्रदायकको नेटवर्कमा म्यासेज पठाउने भएकाले उनीहरुले पैसा तिरिरहेका छन् । त्यतिमात्रै नभएर नेपालमै मोबाइल बैंकिङ तथा नेपालका विभिन्न एपको लगइनका लागि ओटीपी कोड आवश्यक हुन्छ । त्यसो हुँदा नेपाली कम्पनीहरुबाट पनि सेवा प्रदायकले आम्दानी गरिरहेका छन् ।

साबइर सुरक्षाको बढ्दो चुनौतीका कारण पछिल्लो समय भेरिफिकेशनका लागि म्यासेजमा ओटीपी कोड पठाएर उक्त कोडको आधारमा लगइन गर्ने खालको नयाँ प्रचलन छ । जसलाई एप्लिकेशन टु पर्सन (एटुपी) म्यासेज पनि भनिन्छ । एप्लिकेशनले व्यक्तिगत भेरिफिकेशनका लागि म्यासेज पठाउने यो क्रम बढिरहेको सेवा प्रदायकले बताएका छन् ।

यसरी एटुपी म्यासेज बढ्दा टेलिकम सेवा प्रदायकलाई भने आम्दानीको स्रोत थपिएको छ । नेपाल टेलिकमका प्रवक्ता जोशीका अनुसार सन् २०१७ को तुलानमा सन् २०१८ मा एटुपी म्यासेज १६ प्रशितले वृद्धि भएको थियो । त्यो संख्यामा सन् २०१८ बाट २०१९ मा पुग्दा ४३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा पनि ४० प्रतिशत भन्दा बढीले नै वृद्धि हुने जोशी बताउँछन् ।

टेलिकमको मात्रै नभएर एनसेलको अवस्था पनि उस्तै रहेको छ । एनसेलका अनुसार अथेन्टिकेशन र भेरिफिकेशनका लागि प्रयोग हुने ओटीपीको प्रयोग बढी रहेको छ । सन् २०१९ मा एटुपी म्यासेजको वृद्धि अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको एनसेलले जनाएको छ । एनसेलका अनुसार यो वर्ष पनि उक्त प्रतिशत २३ प्रतिशतभन्दा बढीले बढ्ने अनुमान छ ।

सेवा प्रदायकका अनुसार अन्तराष्ट्रिय एप्लिकेशनबाट मात्र नभएर लोकल एप्लिकेशनबाट पनि ओटीपी पठाउने क्रम बढेको छ । कुल एटुपी एसएमएसमा १० प्रतिशत हिस्सा राष्ट्रिय कम्पनीहरुकै रहेको छ । लोकल एप्लिकेशनले यस्ता ओटीपी पठाउने क्रम सन् २०१८ को तुलनामा २०१९ मा ८० प्रतिशतको हाराहारीले वृद्धि भएको छ ।

यो वर्ष लोकल एप्लिकेशनको ओटीपी पनि ४० प्रतिशतको हाराहारीमा बढ्न सक्ने अनुमान सेवा प्रदायकले गरेका छन् । यसरी हेर्ने हो भने मोबाइल म्यासेज प्रयोग गर्नेको संख्यामा आएको कमीलाई यस्ता खालका एटुपी म्यासेजले टेलिकमलाई राहत पुग्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०