close

डिजिटल बिजनेसलाई भौगोलिक सीमाले बाँधेर राख्न सक्दैन

टेकपाना टेकपाना

मंसिर २१, २०७७ ११:४२

डिजिटल बिजनेसलाई भौगोलिक सीमाले बाँधेर राख्न सक्दैन

काठमाडौं । नेपालमा ईकमर्सको सुरुवात ठमेल डटकमबाट नै भएको हो । यसलाई सानो प्रयोगको रुपमा सन् १९९९  मा सुरु गरेका थियौं । तर सन् २००१ तिर यसलाई औपचारिक रुपमै सञ्चालनमा ल्यायौं । 

जहिलेदेखि मैले यसलाई सुरु गरेँ र अहिले म जहाँ छु, मेरो बिजनेस, मेरो अवधारणा, चुनौति सबै विकास भइरहेको देख्छु । ठमेल डट कम सुरु गर्दैगर्दा नेपालमै भएको बिजनेसलाई डिजिटाइज गर्न सकिन्छ कि भनेर सुरु गरेका थियौं । तर त्यो कहिल्यै दीगो भएन ।

त्यस बेला हटमेल, म्यासेन्जर आउनु अघि हामीले एउटा लोकप्रिय च्याट प्लेटफर्म पनि बनाएका थियौं । त्यो च्याट प्लेटफर्मकै कारण हाम्रो बिजनेस मोडलको उदय भयो र आज हामी यहाँसम्म आइपुग्यौं ।

त्यस बेला अमेरिका कल गर्दा प्रति मिनेट दुई सय रुपैयाँ लाग्थ्यो । त्यसैले फोनमा बिजनेस सेटअप गर्न असम्भव जस्तै थियो ।

यस कारण हामीले उक्त प्लेटफर्मलाई नेपाल र नेपाल बाहिरको सञ्चार सम्पर्कको रुपमा स्थापित गर्दै लैजाने योजना बनायौं । हामीले बनाएको च्याट प्लेटफर्मको इभोलुसन निकै रोचक थियो ।

त्यसमा यहाँका नेपाली र बाहिर बस्ने नेपालीबीच एउटा इंगेजमेन्ट देख्यौं । त्यस बेला हाम्रो विद्यमान बिजनेस मोडलले राम्रोसँग काम गरिरहेको थिएन ।

त्यसैले  विदेशमा बस्ने नेपालीहरुले नेपालमा गिफ्ट किनेर पठाउन मिल्ने कार्यक्रम ल्याएर आयौं । सन् २००१ मा दशैंको समय थियो ।

हाम्रो बिजनेस खासै राम्रो भइरहेको थिएन । हामीले त्यसबेला एउटा प्रडक्ट एक्सप्लोर गर्‍यौं ।  त्यसमा के थियो भने बाहिर बस्ने नेपालीहरुले यहाँका नेपालीहरुका लागि खसी किनिदिने ।

यो निकै नै लोकप्रिय बन्यो । त्यसले हाम्रो बिजनेस कोर्षमा नै परिवर्तन ल्याइदियो । त्यो बेला ठमेल डट कमको खसी बेच्ने स्किम नेपालमा मात्र होइन, विश्वकै लागि एउटा ठूलो खबर बन्यो ।

त्यस बखत केही चुनौति पनि थिए । जतिखेर नेपालमा १६ केबीपीएसको मोडेम इन्टरनेट थियो, त्यतिखेर हामीसँग आर्कियाक फोर पेन्टियम फाइभको कम्प्युटर थियो ।

ईकमर्सलाई लिएर कुनै नीति पनि बनेको थिएन । अझ पेमेन्ट गेटवेको समस्या त त्यो बेला मात्र होइन, अझैसम्म सुल्झिन नसकेको विषय भयो ।

त्यसबेला म अमेरिकामा बस्थेँ । त्यहाँबाट हामीले एउटा डिजिटल स्टोर सेटअप गर्‍यौं । अमेरिकी र नेपाली कम्पनीबीच होलसेल रिटेलरको एग्रिमेन्ट गरायौं ।

जति पनि कस्टमरहरुले क्रेडिट कार्डबाट अर्डरहरु डिजिटल रुपमा दिन्थे, त्यो पैसा अमेरिकामा आउँथ्यो र महिनाको अन्त्यमा हामीले रिटेलर र होसेलरबीचको सहमति अनुसार काम गर्थ्यौं ।

हामीले जब खसी बेच्न थाल्यौं, तब हामी विश्वभरका विभिन्न ३० वटा मुलुक र नेपालमा व्यवसाय गर्न थाल्यौं । हामीले यसरी यात्रा सुरु गर्‍यौं । 

मेरो यात्रा निकै नै रोचक थियो । जब विश्व ईकमर्स के हो भन्ने कुरा बुझ्ने प्रयास गरिरहेको थियो, तब हामीले नेपालमा खसी बजारबाट लाखौंको कारोबार गरिरहेका थियौं ।

त्यसबेला कन्फर्मेसन प्लेटफर्म थिएन । अब त्यसलाई कसरी कन्फर्म गर्ने भन्ने समस्या थियो । हरेक समस्यामा म एउटा शब्द प्रयोग गर्छु र त्यसले नै पछि मेरो बिजनेसलाई नै परिभाषित गरिदियो ।

त्यो शब्द हो ‘लोकलाइज’ । हामीले हरेक समस्याको लोकलाइज सोलुसन खोजेकै कारण हामी आज आजसम्म टिकिरहेका छौं ।

यसमा हामीले लोकलाइज समाधान के खोज्यौं भने मानौं नेपालमा कसैले खसी पठायो । त्यसको फोटो खिथ्यौं र पठाइदिन्थ्यौं ।

त्यतिखेर नेपालमा डिजिटल क्यामेरा भर्खर भर्खर आएको थियो । हामी रेन्बो कलर ल्याबमा गएर फोटो प्रिन्ट स्क्यान गरी पठाउँथ्यौं । 

आजसम्म आइपुग्दा धेरै विषयहरु समाधान भइसकेका छन् । विशेषगरी प्रविधि र डिजिटल पूर्वाधारले धेरै समस्या हल गरिदिएको छ ।

तर पेमेन्ट गेटवेको समस्या अझै पनि समाधान हुन सकेको छैन । सन् २००५/०६ तिर आइपुग्दा कस्टमर एक्विजिसनमा समस्या थिएन । वृद्धिमा पनि समस्या थिएन ।

तर हामी नाफामा जान सकिरहेका थिएनौं । जति हाम्रो बिक्री बढ्थ्यो, हाम्रो खर्च पनि त्यसरी नै बढिरहेको थियो । यसैबीच सन् २००५ तिर आइपुग्दा खसी मात्र होइन, पैसा पनि पठाउन मिल्छ कि भनेर सेवाग्राहीको माग आउन थाल्यो ।

यसरी सन् २००६ तिर हामीले ईकमर्सभित्रै अनलाइन रेमिट्यान्स सुरु गर्‍यौं । त्यस बेला अमेरिकामा नाइन इलाभेनको घटना भर्खरै भएको थियो ।

उक्त घटनापछि अमेरिकामा मनी ट्रान्समिटको व्यवसायमाथि एकदमै कडा नियमन हुन थाल्यो र त्यो एकदमै गाह्रो हुँदै गयो । ठमेल डट कम सुरु गर्दादेखि आजसम्मको समयमा पेमेन्टको समस्या समाधान हुन सकेको छैन ।

तर सन् २००५ पछि मैले यो समस्या नेपालको मात्र नभएर विश्वकै भएको अनुभूत गरेँ । त्यसको कृटिकल कम्पोनेन्ट भनेको पेमेन्ट नै हो । त्यसैले मैले सन् २००५ देखि खसी, फूल र केक बेचेर सुरु गरेको यात्रामा लर्निङ र स्केलिबिलिटीको प्रश्नले गर्दा म डिजिटल पेमेन्टमा लागेँ ।

सन् २००५ तिर मनी ट्रान्सफरमा जति पनि नियम आए, खासै कडा थिएनन् । तर नाइन इलाभेनको घटनापछि आएका नियमनहरु कडा पारिँदै लगियो र त्यसको कार्यान्वयन सन् २०१३/०१४/०१५ तिर हुन थाल्यो ।

हामीले नेपालमा ईकमर्स सुरु गर्दा लाखौं प्रयोगकर्ताहरु संसारभर थिए र घरमा पैसा पठाउनु उनीहरुको आवश्यकता र बाध्यताको विषय थियो । आज अमेरिकामा मार्केट नामक मेरो एउटा कम्पनी छ ।

स्टेट रेगुलेटरी लाइसेन्सिङ फर मनी ट्रान्समिटरमार्फत संघीय सरकारदेखि राज्य तहका सरकारले नियमन गर्दछन् । आजको मेरो यात्रा त्यो लाइसेन्स व्यवस्थित गर्ने र त्यो लाइसेन्समार्फत चार अर्ब मानिस भएका मुलुकहरुमा डिजिटल कमर्सलाई फेसिलिटेट गर्नेमा छ ।

पहिले ईकमर्सभन्दा सामानको प्रसार भन्ने मात्र बुझिन्थ्यो । तर महामारी पछिको ईकमर्स भनेको जुनसुकै सेवाको डिजिटल विस्तार भनेर परिभाषित भइसकेको छ ।

त्यसको सबैभन्दा कोर कम्पोनेन्ट भनेको पेमेन्ट नै हो । नेपालमा मात्र २०, २५ वटा पीएसपी (भुक्तानी सेवाप्रदायक तथा डिजिटल वालेट) छन् । तर भाटभटेनीमा जाँदा तपाईँले एउटा कार्ड प्रयोग गर्दा १० वटा पीओएसको सिस्टम देख्नुहुन्छ ।

समस्या त्यसैमा छ । यस कारण अब नेपालमा समाधान गर्नुपर्ने प्रश्न भनेको एग्रिगेट पेमेन्ट सिस्टम । जसलाई हामी एपीआई भन्छौं । त्यो एपपीआईको कोर्ष के हो त ?

नत्र त अहिले कुनै  न कुनै एउटा पीएसपीको कस्टमर हुनुपर्छ । कुनै एउटा संयुक्त सिस्टम पनि छैन । त्यो सिस्टमको फर्वार्ड इन्टिग्रेसनको रोडम्याप के हो ?

मनी ट्रान्सफर र पेमेन्ट म्यानेजमेन्ट विजनेस भनेको मल्टी बिलियन डलर कम्पनीहरुको गेम हो । यो गेममा आज मैले नेपालमा बसेर नेपालमा पाइटल गरेर ओपन नेटवर्क पेमेन्ट सिस्टम बनाएको छु ।

जसमा कार्डको मात्र होइन, बैंक बैंकबीच पनि सञ्चार हुन्छ । जुन बिजनेस मैले नेपालबाट सुरु गरेँ, त्यसलाई यस वर्षको अन्त्यसम्म १८ वटा देशमा लाइभ लैजाँदैछौं ।

जसमा मंगोलिया र आर्मेनिया पनि छन् । ताकि उनीहरुलाई डिजिटाइज हुन सहयोग गर्न सकियोस् । यसमा नेपालको कुनै तालुक छैन ।

ता कि उनीहरुलाई ठूलो मार्केट प्लेसमा एक्सेस दिन सकियोस् । जब मैले सुरु गरेँ, तब बिजनेसवाइज हामी तयार थियौं । तर  कस्टमर तयार थिएन ।

अहिले हेर्दा मलाई केही कुरा चित्त बुझ्दैन । हामीले बसाएको संस्कारमा दराज आयो, सस्तो डिल आयो, जसमा मलाई खुशी पनि लाग्छ ।

तर अहिले हाम्रो उपस्थिति किन छैन भने त्यति बेलादेखि डिजिटल विजनेस गर्दा नेपाली सेवाग्राहलाई मात्र सेवा दिँदा फाइनान्सियल सस्टेनिबिलिटी मैले देखिनँ । त्यसैले मैले विश्व बजारमा जान चाहेँ ।

तर अहिले अवस्था त्यस्तो छैन । अहिले देशमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या २२ देखि ३८ वर्षको बीचका छन् ।

गेम र पूर्वाधार परिवर्तन भएको छ । पेमेन्टका केही मूद्दाहरु अझै समस्याग्रस्त नै छन् । अहिले ईकमर्सको कुरा गर्दा मेरो अनुभवको आधारमा नेपाली आईटी कम्पनीहरुले नेपाली सेवाग्राहीलाई मात्र सेवा दिएर वित्तीय रुपमा सस्ट‍िनेबल हुन सक्छन् ।

किनभन्दा कतिपय पूर्वाधारहरु सही तरिकाले बनिसकेका पनि छैनन् । उदाहरणका लागि जब मैले ठमेल डटकमबाट सामान बेच्न थालेको थिएँ, तब हामीसँग आफ्नै एउटा एड अफ म्याप थियो ।

त्यो म्याप हामीले साधारण नन लोकेसनको भरमा आइडेन्टिफाई गर्थ्यौं । आज जुन टुटल, पठाओ छन्, उनीहरुको आम्दानीको स्टेटमेन्ट हेर्नु भयो भने उनीहरुलेको उल्लेखनीय खर्च गुगलमा भइरहेको छ ।

उनीहरुले गुगल म्यापमा लागि निकै ठूलो खर्च गरिरहेका छन् । तपाईं नेपालीमा कमाएर डलरमा खर्च गर्दा कसरी सस्टिनेबल हुन सक्नुहुन्छ ? पूर्वाधारको यो एउटा कृटिकल कम्पोनेन्ट हो ।

तर एउटा राम्रो समाचार के छ भने दराजका केही भाइहरुले अहिले एउटा बाटो भन्ने एउटा म्याप बनाएका छन् । त्यसमा काठमाडौंको सबै बाटो देख्न सकिन्छ । यसरी समानान्तर रुपमा सोलुसनहरु पनि आइरहेका छन् । 

ईकमर्स एउटा सुस्त गतिमा विकास भइरहेको उद्योग हो । ईकमर्सको भोलुम ३/४ अर्ब डलरको रिटेल उद्योगको तुलनामा एकदमै कम हफ ।

केही समयअघि मैले सुन्दा यो २५ मिलियन डलरको उद्योग थियो । मैले ३०० मिलियन डलरको उद्योग हुन सक्छ भनेर सोचेको थिएँ । तर त्यो अझै पनि ३, ४ अर्बको  अफलाइन रिटेल उद्योगभन्दा सानै छ ।

फोकस नपाउनु पनि एउटा कारण हुन सक्छ । तर महामारी पछिको परिदृश्य परिवर्तन भएको छ ।मलाई लाग्छ, प्रडक्ट बनाउनमा हामीले धेरै होमवर्क गर्‍यौं । मैले सुने अनुसार भर्खरै सम्म ५० हजार दर्ता नभएका ईकमर्श इनिसिएटिभ्स सुरु भइसकेका छन् ।

त्यो सुरु मात्र भएको छ । तर यसलाई सहयोग गर्न म्याप, पेमेन्ट प्रक्रियाजस्ता पूर्वाधारहरु बनिसकेको छैनन् । यसमा अब रेगुलेटरीको विषयहरु त छँदैँ छन् । रिस्क, चार्जब्याकको मिटिगेसन, आइडिन्टिटी फ्रड मिटिगेसनहरु बन्नु पर्‍यो ।

हामी जति पनि नेपाली उद्यमी डिजिटल तथा ईकमर्समा लागेका छौं, यदि हाम्रो ध्यान लोकल मात्र भयो भने त्यसको दीर्घकालिन सम्भावित लस्ट कस्ट के हुने त ? मलाई लाग्छ तपाईसँग ग्लोबल स्ट्राटेजी पनि हुनुपर्छ ।

तर ग्लोबल्ली जानका लागि केही चुनौति छन् । पहिलो भनेको पहिचान हो । नेपालको तीव्र गतिमा बिस्तार भइरहेको एउटा उद्योग भनेको घरमै बसेर गरिने फ्रिल्यान्स पनि हो ।

जसको अहिले करिब ७५ करोड डलरको बिजनेस छ । उनीहरु नेपाल बसेर विदेशी कम्पनीहरुका लागि काम गरिदिन्छन् । तर उनीहरुलाई समस्या भनेको नेपालमा पैसा ल्याउनमै छ ।

उनीहरुको मूख्य समस्याको कारण भनेको आफ्नो डिजिटल आइडेन्टिटी के हो भन्ने हो । त्यसलाई हामीले कसरी समाधान गर्ने ? अब के तपाईं आगामी तीन चार वर्षमा बन्ने ३० करोड डलरको बजारमा केन्द्रीत हुनुहुनेछ वा यसअघि नै बनिसकेको बजारमा केन्द्रीत हुनुहुन्छ ।

यसमा हाम्रो नीति कता केन्द्रीत हुने भन्ने कुरा नै पहिलो प्रश्न हो । अर्को कुरा भनेको स्वामित्वको हो । आज मैले काठमाडौंबाट सुरु गरेको कम्पनीमा तीन चार सय जना कर्मचारीहरु छन् ।

कुनै पनि कम्पनीहरुमा कस्तो छ भने म नेपालमा छु । तर अमेरिकामा मेरो स्वेग ओनरशिप हुनुपर्‍यो । नेपालबाट मैले पैसा लगेर अमेरिकामा इक्युटी किन्ने होइन, अब त्यसको अनरशिपको प्रश्न के हुने ?

किनभने डिजिटल बिजनेसलाई कुनै पनि भौगोलिक सीमाले बाँध्दैन भन्ने कुरा बुझ्नुपर्छ । हाम्रो डिजिटल पूर्वाधार, नीति र  आइडेन्टिटी, अनरशिप र रिस्क मिटिगेसन भनेको सबै कुरा ग्लोबल बन्नु पर्छ ।

जबसम्म हामीले यो पूर्वाधार आजका हाम्रा युवाहरुलाई दिन सक्दैनौं, यसको स्केलिबिलिटी सधैं प्रश्नको घेराभित्र रहिरनेछ । महामारी अगाडि त मलाई पनि मान्छेहरुले मेरो लङ्गडा सौख भन्थे ।

तर आज हाम्रो सिस्टमले अमेरिकाबाट आउने पैसामध्येको १० देखि १५ प्रतिशत पैसा ल्याउँछ । हाम्रो नेटवर्कमा हामीले चार सयभन्दा धेरै मानिसहरुलाई रोजगारी दिएका छौं ।

अहिले हामी विभिन्न १८ मुलुकहरुमा बिजनेस गरिरहेका छौं । यो उद्योग अहिले रुपान्तरणको एकदमै रोचक मोडमा छ ।

यसमा अहिले स्केलेबिलिटीमा ध्यान दिनुभन्दा पनि यसलाई स्केलेबल बनाउन सघाउने केकस्ता तत्वहरु पछाडि परेका छन् भनेर विचार गर्नु पर्ने अवस्था आएको छ ।  अहिले ईकमर्सको साइट सुरु गर्न त्यति अप्ठ्यारो पनि छैन ।

तपाईंका लागि एउटा खुशीको खबर के छ भने अहिले क्लाउड वर्करमा वर्डप्रेस थिम भन्ने एउटा विषय छ । त्यसमा शीर्ष दश डेभलपरहरु नेपालकै छन् ।

उनीहरुले १० देखि १५ डलरमा प्लग ईन गरेर ईकमर्स साइट बनाउँछन् । त्यसैले ईकमर्स स्टोर बनाउनु ठूलो कुरा भएन ।

त्यसलाई स्केलेबल बनाउन पूर्वाधारको विकास हुन जरुरी छ । विशेषगरी पेमेन्ट सिस्टमको । भाटभटेनीमा दश वटा पीओएस राखेको जस्तो डिजिटल ग्रो त्यही रुटमा गइसकेको छ ।

त्यो परिवर्तन हुन आवश्यक छ । अर्को बिजनेस र उपभोक्ताबीचको प्राइभेसी रिस्क र मिटिगेसन नीति नभई केही हुने वाला छैन ।

तर बजार तयार छ । प्रविधिको कुरा गर्दा पहिले हाम्रो बेलामा ईकमर्स साइट बनाउनै गाह्रो थियो । कसले बनाउने भन्ने प्रश्न आउँथ्यो । तर आजको समयमा यो थोरै समयको काम बनेको छ । 

सन् २००५ देखि हामीले ईकमर्सलाई स्लो डाउन गर्‍यौं । त्यसबेला हामी हजारौं घरमा एकै दिनमा डेलिभर गर्थ्यौं ।

तर तब  हाम्रो व्यवसायिक ग्राफ शून्य मात्र होइन, पुरै नेगेटिभ थियो । सन् २००६ बाट हामीले नेपाल छाड्यौं ।

सन् २००६ पछि नेपालमा ईकमर्सको फाइनान्सियल स्केलिबिलिटी नदेखेपछि हामीले रेमिट्यान्समा ध्यान केन्द्रीत गर्‍यौं । आज हाम्रो व्यवसाय ९९.९९ प्रतिशत रेमिट्यान्समै निर्भर छ ।

तर रेमिट्यान्समा पनि हामीले फरक प्रडक्ट बनायौं । नेपालका अन्य रेमिट्यान्स कम्पनीले जस्तो पेआउट मात्र होइन, हाम्रै सिस्टमबाट पार्टनरसँग मिलेर अमेरिकामा कस्टमरहरुको अकाउन्ट पनि डेबिटम गर्ने सिस्टम बनायौं । 

मैले बनाएको यो इकोसिस्टम संसारमा सबैभन्दा पहिले कार्यान्वयन भएकै नेपालमा हो । यो सिस्टमलाई आरएएएस अर्थात् रेमिट्यान्स एज अ सर्भिस भनिन्छ ।

बैंकिङ क्षेत्रमा ओपन एपीआई भन्ने अवधारणा आइरहेको छ । तर यसअघि नै हामी सन् २०१६/१७ तिर नै नेपालमा बेटाफेजमा आरएएएसको प्लेटफर्ममा गइसकेका थियौं ।

अहिले आएर आरएएएसलाई नेपालदेखि अमेरिकासम्मका रेगुलेटर सबैले सम्बन्धन दिइसकेपछि सन् २०२१ मा यो प्लेटफर्मले बैंकहरुलाई ओपन नेटवर्क प्रोसेसिङ दिदैँछ । हाम्रो यसरी फोकस सिफ्ट हुनुको पछाडिको कारण भनेको ईकमर्स कम्पनीको फाइनान्सियल सस्टेनेबिलिटीप्रति निश्चिन्त हुन नसक्नु नै हो ।

म तपाईंकोमा आएर मेरो बिजनेस आइडिया सुनाएर ४० देखि ५० लाखको लगानी मागेँ भने मलाई पत्याउनुहुन्न । जसरी सस्तोडिलमा ठूलो लगानी आएको छ, अलीबाबा जस्तो कम्पनीको उपस्थिति छ ।

तर हामी नेपाली कम्पनीको त्यस किसिमको आर्थिक क्षमता छैन । अहिलेसम्म बुट्सट्रयापिङ फण्डिङ नै हो । त्यसैले हामी सस्टिनेबिलिटी देख्दैनौं ।

तपाईं डिजिटल बिजनेस गर्नुहुन्छ, तर भौगोलिक आधारमा त्यसको परिभाषा गर्नुहुन्छ भने यो धेरै गाह्रो हुन्छ । जति पनि अहिले डेभलपर छन्, महामारीपछि त्यसको माग अझै बढेको छ । 

हामीले ग्लोबल डिजिटल गिग इकोनोमी वर्करको फिगर निकाल्नै पर्छौं । किनभने आज यो उद्योग पर्यटन उद्योगभन्दा धेरै ठूलो भइसकेको छ ।

जसले नेपालमा बसेर ग्लोबल कम्पनीहरुको काम गरेर मासिक १५ सयदेखि दुई तीन हजार डलर पैसा कमाइरहेका छन् । यस किसिमका अवसर भएका कारण लोकल टिमलाई सधैं आफूसँग राख्न कम्पनीहरुलाई गाह्रो हुन्छ । 

ठमेल डटकम सुरु गर्दा हामीले पनि बुट्सट्रयापिङबाट नै सुरु गरेका हौं । तर अहिले बिजनेस एक्सिलेटर्स र फण्डिङ इन्टिटीहरु बढेर गएका छन् ।

त्यसैले लगानीको विषय पहिलेभन्दा अहिले राम्रो हुँदै गइरहेको छ । म नयाँ उद्यमीहरुलाई के सल्लाह दिन्छु भने लोकल आइडियामा मात्र काम नगर्नुहोस् ।

स्थानीय रुपमा परीक्षण भएर ग्लोबल जानसक्ने किसिमका आइडियाहरुमा काम गर्नुहोस् । त्यसो भयो भने तपाईंले विश्वभर इन्क्युबेटरहरु पाउन सक्नुहुन्छ ।

जस्तै फाइभ हन्ड्रेड स्टार्टअप, वाई कम्बिनेटर आदि छन् । वाई कम्बिनेटर विश्वकै टप एक्सिलेटर हो । त्यसैले प्रडक्ट बनाउँदै गर्दा त्यसलाई ग्लोबल्ली पुर्‍याउन सक्ने थट प्रोसेस राख्नुहोस् ।

दक्षिण एसियामा, भारतमा,  अमेरिकामा फण्डिङ गर्ने संस्थाहरु धेरै छन् । यो असम्भव सपना पनि होइन ।

महामारी पछि नेपालमा पनि निजी लगानीकर्ताहरुले धेरै राम्रा आइडियाहरु हेरिरहेका छन् । राम्रो आइडिया र भ्यालु हुनु पर्‍यो, फण्डिङको समस्या पहिले जस्तो छैन । 

ठमेल डटकमका सह संस्थापक बालकृष्ण जोशीले ई-बिजनेस पोलिसी फोरममा व्यक्त गरेको विचारको सम्पादित अंश

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०