close

ललितपुर महानगरले सुरु गर्‍यो इन्टरनेट तथा केबल तारको व्यवस्थापन

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १४:२७

ललितपुर महानगरले सुरु गर्‍यो इन्टरनेट तथा केबल तारको व्यवस्थापन

काठमाडौं । ललितपुर महानगरपालिकाले पोलमा झुण्डिएका इन्टरनेट, टेलिफोन तथा केबल तारको व्यवस्थापन कार्य अघि बढाएको छ । महानगरले आजबाट पोलमा झुण्डिएका अव्यवस्थित तारलाई व्यवस्थित गर्ने कार्य अघि बढाएको हो ।

महानगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूको नेतृत्वमा अहिले उक्त कार्य अघि बढाइएको छ । हाछेथूका अनुसार पोलमा अव्यवस्थित रुपमा झुण्डिएका तारलाई व्यवस्थित गर्ने काम भइरहेको छ । त्यसमा तारलाई एउटै मुठ्ठा बनाइँदै छ ।

‘हाल धेरै जसो स्थानमा तार झुण्डिएर बस्ने, गुजमुज्ज देखिने हुँदा सहर नै कुरुप भएको छ,’ हाछेथूले भने, ‘महानगरले आफ्नो क्षेत्रभित्रका त्यस्ता अव्यवस्थित तारलाई व्यवस्थित गर्न यो कदम चालेको हो ।

थापाथली पुलबाट सुरु गरेर अहिले कुपण्डोल क्षेत्रमा यो काम चलिरहेको छ । क्रमशः ललितपुर महानगरभित्र सम्पूर्ण स्थानमा तार व्यवस्थापनको काम गरिनेछ । त्यसका लागि एक महिनाको समय लाग्नसक्ने अनुमान छ ।’

यस क्रममा कतिपय स्थानमा इन्टरनेट तथा केबलका तार समेत काटिएका छन् । तर, त्यसरी तार काटिएको स्थानमा प्रयोगकर्तालाई कुनै असर नपरोस् भनेर सेवा प्रदायकले सँगसँगै मर्मतको काम पनि गरिरहेको हाछेथूले बताए ।

उनका अनुसार अहिले सम्पूर्ण इन्टरनेट सेवाप्रदायकका साथै केबल सेवा प्रदायकका प्रतिनिधि पनि तार व्यवस्थापन अभियानमा उपस्थित छन् । उनीहरुले आफ्नो तार छुट्याएर व्यवस्थापनमा सहयोग पुर्‍याइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०