close

एन्ड्रोइडमा थपिँदैछन् यी नयाँ पाँच फिचर

टेकपाना टेकपाना

मंसिर २२, २०७७ ११:२८

एन्ड्रोइडमा थपिँदैछन् यी नयाँ पाँच फिचर

काठमाडौं । अबको केही हप्ताभित्र गुगलले एन्ड्रोइडमा नयाँ पाँच फिचर थप गर्दैछ । जसले गुगल म्याप नेभिगेसनलाई अझ बढी प्रभावकारी बनाउनेछ ।

त्यस्तै जिबोर्डमा इमोजी, भ्वाइस एक्सेस, गुगल प्ले अडियो बुक र नियरबाई शेयर, फाइल शेयरिङ जस्ता सेवामा ठूलो परिवर्तन हुनेछ । त्यतिमात्र नभएर गुगलको अर्को प्रडक्ट ‘एन्ड्रोइड अटो’ ३६ देशमा उपलब्ध हुनेछ ।

जसमध्ये गुगल म्यापमा नयाँ ‘गो’ ट्याव उपलब्ध हुनेछ । जसले तपाईंको मनपर्ने ठाउँमा जानका लागि लोकेसन टाइप गरिराख्नु पर्ने छैन ।

यसैगरी तपाईंले जानुपर्ने ठाउँलाई पिन गर्नु भएको खण्डमा उक्त ठाउँमा जाँदा बाटोमा हुने ट्राफिक तथा जामको विषयमा समेत लाइभ जानकारी दिनेछ ।

साथै अब तपाईंले आफ्नो मनपर्ने सार्वजनिक यातायातको रुटलाई पिन गरेर राख्न सक्नुहुनेछ । गुगलले पब्लिक र प्राइभेट सवारीमा कति समय फरक पर्छ भनेर छुट्याउने अप्सन समेत दिने उल्लेख गरेको छ ।

यो अप्सन गुगलले आउँदो साता एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध गराउने बताइएको छ । त्यस्तै कम्पनीले गुगल जिबोर्डमा कस्टम इमोजीलाई विस्तार गर्ने भएको छ ।

कम्पनीले सयबाट एकै पटक १४ हजार भन्दा बढी त्यस्ता इमोजी उपलब्ध गराउने उल्लेख गरिएको छ । जसलाई इमोजी किचेन नाम दिइएको छ ।

जसको सहयोगमा कुनै एउटा इमोजिमा क्लिक गर्दा उक्त इमोजिसँग मिल्ने अन्य इमोजी एकै पटक सजेस्टको रुपमा देखिनेछन् । गुगलका अनुसार उक्त इमोजी किचेन एन्ड्रोइड ६.० भन्दा माथिका एन्ड्रोइड भर्सनमा उपलब्ध हुनेछ ।

यसैगरी कम्पनीले गुगल अडियो बुकमा पनि नयाँ फिचर उपलब्ध गराउँदै छ । गुगलका अनुसार अडियो बुकमा अब अटो जेनेरेटेड न्यारेटर टुल उपलब्ध हुनेछ ।

जसको मद्धतले अडियो क्रियटरले बुकको अडियो भर्सन बनाउन सक्नेछन् । उक्त टुल हाल बेटा भर्सनमा उपलब्ध भएको छ । सन् २०२१ को सुरुवातमै सबै प्रयोगकर्तामाझ यो फिचर उपलब्ध हुनेछ ।

अर्को भनेको गुगलले भ्वाइस एक्सेस नेभिगेसलाई अझ प्रभावकारी बनाएको छ । जुन हाल एन्ड्रोइड इलाभेनमा उपलब्ध भइसकेको छ । उक्त नेभिगेसन सिस्टम एन्ड्रोइड ६.० भन्दा माथिका एन्ड्रोइड भर्सनमा चाँडै उपलब्ध हुने जनाइएको छ ।

त्यस्तै गुगलको नियरबाइ शेयर फिचरले प्ले स्टोर एपमा रहेका एपलाई नजिकै रहेको अर्को एन्ड्रोइड डिभाइसमा शेयर गर्न सकिने सुविधा दिने छ । जुन ब्लुटुथ, ब्लुटुथ लो इनर्जी, वेबआरटीसी, पियर टु पियर तथा वाईफाई बिनानै द्रुत गतिमा पठाउन सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०