close

गुणस्तरिय इन्टरनेटका लागि ५ लाख कनेक्सन तयार पार्दै प्रभु डिजिटल

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १७:१३

गुणस्तरिय इन्टरनेटका लागि ५ लाख कनेक्सन तयार पार्दै प्रभु डिजिटल

काठमाडौं । पछिल्लो समय इन्टरनेट व्यवसायमा ठूला कम्पनीहरुले समेत लगानी गरिरहेका छन् । यसैबीच केही समय अघिबाट प्रभु ग्रुपअन्तर्गतको प्रभु डिजिटलले नेपालमा इन्टरनेट सेवा सुरु गरेको छ ।

कम्पनीले केही महिना अघि काठमाडौं, पोखरा लगायतका स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको बाराही इन्टरनेट टेक्नोलोजी खरिद गरेर इन्टरनेट सेवा सुरु गरेको थियो । टेरेस्टेरियल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको कम्पनीले त्यससँगै इन्टरनेट सेवा पनि प्रदान गर्ने योजनाका साथ अहिले देशका विभिन्न स्थानमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रभु डिजिटलका अनुसार हाल कम्पनीको नेटर्वकमा केही संख्यामा ग्राहक जोडिइसकेका छन् । कम्पनी आफ्नो नेटर्वकलाई अझ बढी प्रभावकारी र मजबूत बनाउनेतर्फ काम गरिरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवीन सुवेदीका अनुसार कम्पनीले हाल नेटवर्क विस्तारको काम गरिरहेको छ । जसमा ग्राहकलाई गुणस्तरिय र उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ १०० जीगा बाइट (जीबी)को मल्टी प्रोटोकल लेवल स्विच (एमपीएलएस) मा आधारित नेटवर्क निमार्ण भइरहेको छ ।

‘एमपीएलएसमा आधारित नेटवर्कको सहयोगमा ग्राहकलाई गुणस्तरिय तथा उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनामा छौं,’ उनले भने, ‘यो प्रविधिमार्फत इन्टरनेट ट्राफिक फ्लो पनि बढ्ने भएकाले स्वतः रुपमा इन्टरनेटको स्पीड उच्च हुनेछ ।’

त्यसैले पनि एमपीएलएसमा आधारित प्रविधिलाई आत्मसाथ गर्दै काम अघि बढाइएको सुवेदीले बताए । उनका अनुसार आउँदो दशैंसम्म पाँच लाख कनेक्सनको लागि नेटवर्क तयार हुनेछ ।

साथै त्यसको सुरुवात पहिलो चरणमा ललितपुरबाट हुनेछ । पहिलो फेजमा ललितपुरबाट सुरु गरेर काठमाडौं, भक्तपुर, पोखरा, चितवन, धनगढी, लगायतका स्थानमा नेटवर्क विस्तारको काम अगाडि बढाइने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०