close

यस्ता छन् आईओएस १४.३ र आईओएस १२.५ का फिचर

टेकपाना टेकपाना

पुस १, २०७७ १३:२५

यस्ता छन् आईओएस १४.३ र आईओएस १२.५ का फिचर

काठमाडौं । एप्पलले आईओएस १४.३ र आईओएस १२.५ सार्वजनिक गरेको छ । नयाँ तथा पुरा दुवै आईफोनलाई लक्षित गर्दै कम्पनीले एकै पटक दुई वटा आईओएस अपडेट उपलब्ध गराएको हो ।

कम्पनीले नयाँ आईफोन प्रयोगकर्ताका लागि आईओएस १४.३ र पुरानाका लागि आईओएस १२.५ मा अपडेट उपलब्ध गराएको छ । यससँगै नयाँ आईफोन प्रयोगकर्ताले आईओएस १४.३ तथा आईप्याडओएस प्रयोगकर्ताले १४.३ प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीका पुराना डिभाइसहरुका लागि आईओएस १२.५ सार्वजनिक भएको छ । कम्पनीका अनुसार आईओएस १४.३ ले एप्पलको नयाँ फिट्नेस सब्सक्रिप्सन सर्भिस एप ‘फिटनेस प्लस’ र नयाँ फोटो फर्म्याट एप ‘प्रो–रअ फोटो’ जस्ता एपलाई सर्पोट गर्नेछ ।

त्यसमध्ये ‘फिटनेस प्लस’ एपले व्यायाम गर्न सिकाउनेछ । एप्पल वाचमार्फत प्रयोगकर्ताले आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी राख्न सक्नेछन् । तर कम्पनीले उपलब्ध गराएको फिटनेस प्लसका लागि भने प्रयोगकर्ताले पैसा तिर्नुपर्ने हुन्छ ।

हाल प्राप्त जानकारी अनुसार ‘फिटनेस प्लस’ को सदस्यताको मूल्य प्रति महिना १० अमेरिकी डलर रहेको छ । त्यस्तै एप्पलले उपलब्ध गराएको नयाँ फिचर ‘प्रो– रअ फोटो’ हो ।

यसमार्फत प्रयोगकर्ताले फोटो एडिट गरी बिग्रिएका फोटो फाइललाई मिलाउन सक्ने उल्लेख गरिएको छ । यसले फोनको फोटो एडिटिङ क्षमतालाई पनि बढाउने छ ।

कम्पनीका अनुसार यी दुवै एपलाई दुई वटै आईओएसले सपोर्ट गर्नेछन् । यसका साथै आईओएस १२.५ मा कोभिड १९ ट्रयाकिङ सिस्टम पनि उपलब्ध गराइएको छ ।

यो फिचर नयाँ आईओएसमा यसअघि नै उपलब्ध भइसकेको थियो । कम्पनीका अनुसार यो अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ ।

अपडेट प्राप्त गर्न आईफोनको सेटिङमा गएर सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४