close

फोरजीका लागि सुबिसुसँग फाइबर नेटवर्क माग्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

पुस २, २०७७ १६:५

फोरजीका लागि सुबिसुसँग फाइबर नेटवर्क माग्दै नेपाल टेलिकम

काठमाडौं । प्रदेश नम्बर २ को हुलकी राजमार्गमा विच्छ्याइएको अप्टिकल फाइबर नेटवर्कको सहप्रयोगका लागि सरकारी स्वामित्वको नेपाल टेलिकमले इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटवर्कसँग आग्रह गरेको छ ।

प्रदेश २ अन्तर्गत धनुषा, सिराहा, सप्तरी, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाही लगायतका जिल्लामा सुबिसुले फाइबर नेटवर्क विस्तार गरेको छ । सोही नेटवर्क सहप्रयोगका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सुबिसुसँग आग्रह गरेको हो ।

प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको अनुदानमा सुबिसुले ती जिल्लाहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम सम्पन्न गरेको छ । इन्टरनेट सेवाका लागि सरकारी अनुदानमा तयार पारिएको उक्त नेटवर्क सम्बन्धित सेवा प्रदायकले अन्य सेवा प्रदायकबाट माग भएको खण्डमा आवश्यक समझदारीमा उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुसार नेपाल टेलिकमले हाल सुबिसुसँग उक्त नेटवर्क सहप्रयोगका लागि माग गरेको हो । पछिल्लो समय नेपाल टेलिकमले फाइबर इन्टरनेट विस्तारलाई प्राथमिकका साथ अघि बढाएको छ ।

जसअनुसार प्रदेश २ का विभिन्न जिल्लामा फाइबर इन्टरनेट पुर्‍याउने र फोरजीको गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप कम्पनीले सुबिसुसँग नेवटर्क शेयरिङका लागि आग्रह गरेको उल्लेख छ । दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका, २०७२ ले समेत सेवा प्रदाकले आपसी समझदारीमा पूर्वाधार सहप्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

प्राधिकरणमा यो विषयमा नेपाल टेलिकमबाट हालसम्म कुनै आधिकारिक पत्र भने प्राप्त नभएको बताइएको छ । तर, प्राधिकरणको समन्वयमा यस विषयमा त्रिपक्षीय छलफल भने भएको थियो ।

नेपाल टेलिकमका प्रतिनिधि र सुबिसुका प्रतिनिधी सहितको उक्त बैठकमा टेलिकमले प्रदेश २ मा आवश्यक स्थानमा नेटवर्क सहप्रयोगका लागि सुबिसुसँग माग गरेको थियो । नेटवर्क सेयरिङका लागि सुबिसु पनि तयार रहेको कम्पनीका सीईओ विनय साउदले बताए ।

यस विषयमा अहिले टेलिकमले प्रदेश दुईमा आफूलाई कुन कुन स्थानमा कति वटा प्वाइन्ट आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ । त्यसका आधारमा टेलिकमले सुबिसुसँग प्रस्ताव राख्ने छ ।

उक्त नेटवर्क सहप्रयोगका लागि नेपाल टेलिकमले सुविसुलाई कति शुल्क बुझाउने भन्ने विषय पनि त्यसपश्चात मात्रै निर्धारण हुने बताइएको छ । निर्देशिकामा पूर्वाधारको सहप्रयोगको मूल्य आपसी सहमतिमा गर्न सक्ने उल्लेख छ ।

दुई कम्पनीको आपसी छलफलबाटै मूल्य निर्धारण हुनेछ । यदि आपसी छलफलबाट कुनै निश्कर्ष निस्किन नसकेको खण्डमा मात्रै प्राधिकणले मध्यस्तकर्ताको भूमिका खेल्ने उल्लेख छ ।

यसअघि अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलि‌ंक कम्युनिकेसन लिमिटेडले पनि उक्त क्षेत्रमा नेटवर्क सहप्रयोगका लागि सुविसुसँग आग्रह गरेको थियो । तर, त्यस विषयमा हालसम्म कुनै ठोस निश्कर्ष निस्किन सकेको छैन ।

लामो समयदेखि इन्टरनेट सेवाप्रदायक तथा अन्य दूरसञ्चार कम्पनीले फाइबर नेटवर्क शेयरिङ गर्न आग्रह गर्दा टेलिकमले भने त्यसलाई बेवास्ता गर्दै आएको थियो । तर यतिखेर टेलिकम आफैं अन्य कम्पनीसँग सोही किसिमको माग राख्न थालेको छ ।

यसलाई पूर्वाधार सहप्रयोगको ढोका खोल्ने अवसरको रुपमा समेत लिन थालिएको छ । ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत विभिन्न सेवाप्रदायकले छुट्टा छुट्टै क्षेत्रमा अप्टिकल फाइबर नेटवर्क विस्तार गरेका छन् । टेलिकम र सुबिसुबीच सहमति जुटेको अवस्थामा यस्ता परियोजनामा यो नै पहिलो सहप्रयोग हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४