close

उत्पादनमा किसानकै स्वामित्व बढाउँदै ‘खेती’, जसले तोड्दैछ बिचौलियाको रजगज

युजु खालिङ युजु खालिङ

पुस ३, २०७७ १०:५३

उत्पादनमा किसानकै स्वामित्व बढाउँदै ‘खेती’, जसले तोड्दैछ बिचौलियाको रजगज

काठमाडौं । आइतबारदेखि उखु किसानहरुको आन्दोलन राजधानीमा सुरु भएको छ । विभिन्न चिनी उद्योगबाट करिब ९० करोडको बक्यौंता उठाउन उखु किसानहरु सरकारसँग हार गुहार गरिरहेका छन् ।

खाद्यबस्तुको समग्र चक्रमध्येकै सबैभन्दा महत्वपूर्ण उत्पादक वर्गहरु पीडित भएको यो पहिलोपटक होइन । सडकमा दुध पोखिएको, तरकारीमाथि डोजर लगाएका समाचारहरु बेला बेलामा आई नै रहन्छन् ।

कोभिड १९ मा पनि लकडाउनका कारण आपूर्ति प्रक्रियामा अवरोध उत्पन्न हुँदा किसानहरु ठूलो मार्कामा परे । सप्लाई चेनलाई चलायमान राख्न विभिन्न संस्था तथा व्यक्तिहरुको नवीन प्रयोगले विभिन्न तहमा ‘भ्याल्यु एड’ गरिरह्यो । तर उत्पादक वर्गतिर खासै कसैको चासो हुँदैन ।

कसैले प्रयोग गर्न चाहेको खण्डमा पनि एउटा भरिपूर्ण प्याकेज दिन सक्दैनन् जसले समग्र ग्रामिण अर्थतन्त्रलाई नै जिविकोपार्जनभन्दा माथि लिएर जान सक्ने दृष्टिकोण ल्याउन सकोस् ।

तर पछिल्लो समय उदाइरहेका केही स्टार्टअप कम्पनीले भने कृषक वर्गलाई पनि सप्लाई चेनमा स्मार्ट तरिकाले जोडेर भ्याल्यु एड गर्ने पहलकदमी सुरु गरेका छन् । जुन् निकै आशा र लोभलाग्दो छ ।

२०१६ मा स्थापना भएको डीभी एक्सल्सले गत वर्ष सन् २०१९ मा मात्र खेती नामको एग्रीफुड टेक प्लेटफर्मको सुरुवात गरेको छ । खेतीले समग्र एग्री फुड इकोसिस्टमलाई प्रविधि मार्फत स्मार्ट बनाएर मूलभूत उत्पादक कृषि वर्गको हितमा काम गर्ने उदेश्य लिएको छ ।

ग्रामिण कृषि इकोसिस्टमलाई सशक्त बनाउन खेतीले सबै किसिमका रणनीतिक मोडलबाट काम गरिरहेको छ । यसका लागि कम्पनीसँग दुईवटा प्लेटफर्मः खेती फार्मखेती फूड छन् ।

ग्राहकको घरमा फलफुल तथा तरकारी डेलिवरी गर्दै खेती ।

खेती फार्म मार्फत कम्पनीले किसानलाई उत्पादनका इन्पूट (मलखाँद, बिउबिजन, परामर्श, उपकरण तथा टेक्नो सपोर्ट) प्रदान गर्दछ । अर्कोतिर खेती फूडबाट कम्पनीले कृषकका उत्पादनको बजार तथा मूल्य प्रत्याभूत गर्ने काम गर्दछ ।

कम्पनीले आफ्नो खेती फार्म प्लेटफर्मबाट साना किसान, व्यवसायिक किसान तथा कर्पोरेट सबैलाई उत्पादनका इनपूटको विक्री तथा वितरण गरिरहेको छ । यस्तै बीटुबी मोडलमा काम गरिरहेको खेती फूड प्लेटफर्मले किसानका स्थानीय तथा अर्गानिक उत्पादनलाई होस्टल, रेस्टुरेन्ट, रिटेलर क्यान्टिनहरुमा पुर्‍याउँदै आइरहेको छ ।

खेतीका सहसंस्थापक ३५ बर्षीय तुलसी गिरी भन्छन्, ‘हाम्रो सबै सेवा अनलाइनमा दिन्छौं, किसानहरुले हाम्रो खेती फार्म एप डाउनलोड गरिसकेपछि त्यसमा फार्म म्यानेजमेन्ट टूल देख्न सक्छन् । साथै च्याट सेवाबाट समेत फाइदाजनक उत्पादनशिलताका लागि हामीसँग परामर्श सेवा लिन सकिन्छ । यसबाहेक बिउ, मल वा कुनै किसिमको उपकरण चाहियो भने सिधै एपबाट मगाउन सकिन्छ । हामीसँग डेलिभरी सेवा पनि छ ।’

विगत एक वर्षदेखि सुरु भएको कम्पनीको खेती प्लेटफर्ममा हालसम्म ११ जिल्लाका १० हजार किसानहरु जोडिसकेको गिरी बताउँछन् । अहिले कम्पनीको पोखरा र काठमाडौंमा गरी ५० भन्दा धेरै बीटुबी पार्टनरहरु छन् ।

बीटुबीका कारण अर्डर प्रोजेक्सन र डिमाण्डबेस सप्लाई गर्ने हुँदा स्टक किपिङ कम छ । फूडको साइडमा पनि हामीले स्टक नराख्ने भन्ने होइन । धेरै मात्रामा आउँदा किसानको स्टक राख्नका लागि पोखरा र काठमाडौंमा खेतीको क्लियरेन्स अर्थात् फूलफिलमेन्ट सेन्टर पनि छन् ।

खेतीमा जोडिएका सबै किसानहरुलाई फाइदामूखी र उत्पादनशिल बनाउने कम्पनीको मूख्य उदेश्य भएको गिरीले टेकपानालाई सुनाए ।

कम्पनीले किसानहरुका लागि सहजरुपमै उपकरण तथा सेवा उपलब्ध गराई ब्याकअप सपोर्ट दिने हुँदा उनीहरुको खर्च कटौंती भइरहेको हुन्छ । त्यसमाथि सिधै बजार पहुँच भए पछि त अझ किसानहरुलाई खेतीले फाइदामुखी पनि बनाइरहेको छ ।

भने कृषकहरुले आफ्नो कृषि अभ्यास र उत्पादकत्वको विवरण एपमा राख्न सक्छन् । यसरी विवरण भर्दा उनीहरुको अभ्यास र उत्पादकत्वको ढाँचा हेरेर खेतीले किसानलाई उपयुक्त सल्लाह दिन्छ जसका लागि खेतीको साइटमै यस किसिमको ब्याकएण्ड संरचना छ ।

खेतीले कृषकको पक्षमा मात्र होइन उपभोक्तालाई समेत लाभ प्रदान गरिरहेको गिरी बताउँछन् ।
‘कस्टमर एण्डमा हामीले दिने लाभ भनेकै पारदर्शिता हो,’ उनी भन्छन्, ‘प्लेटफर्ममा मण्डीबाट ल्याएर राखेका खाद्य सामाग्रीलाई रेगुलर प्रोडक्ट भनेर राखेका छौं भने लोकल तथा अर्गानिकलाई लोकल प्रोड्युस फूड ने भनेर राख्छौं । हामी सबै कुरा लोकल भनेर बेच्दैनौं ।’

माटाे परिक्षण शिविरमा खेती

खेती फूडले बीटुबी मोडलमा काम गरिरहेको कारण कृषकहरु थप लाभान्वित हुने गिरी अगाडी भन्छन्, ‘हाम्रा बीटुबी पार्नटरहरुले लोकल प्रोडक्टलाई लिनु भयो भने त्यसले लोकल फूड इकोसिस्टम र कृषकको प्रोफेटिबलिटीमा सहयोग पुर्‍याउँछ । किनभने उहाँहरुले भोल्युममा किन्नुहुन्छ । यसैले उहाँहरुलाई यसबारे सचेत गराएर यो चेनमा समाहित गर्नु हाम्रो प्रमूख भिजन हो ।’
यसरी किसानहरुले स्मार्टरुपमा कृषि अभ्यास गर्दा कृषकहरुले रेकर्ड किपिङको समेत सुविधा पाउन सक्छन् ।

बजार र मूल्य पाएनौं भन्ने कृषकहरुले पोहोर कति उत्पादन गरे, कति मूल्य आर्जन गरे भन्ने कुराको डेटा हुँदैन । खेतीको मूख्य काम भनेको कृषकको डेटा राख्ने ठाउँ पनि बनाउनु हो ।

‘मैले यति जमिनमा यति उत्पादन गरे । यति बेचे यति राखे, यति कमाएँ, यो इन्पुट हालेको थिएँ भनेर थाहा पाए भने घाटा नाफा स्पष्ट थाहा पाउन सक्छन् । त्यो थाहा पाइसकेपछि अर्को वर्षबाट मैले कसरी उत्पादन बढाउने भनेर थाहा पाउन सक्छन् । चलिआएको कृषि अभ्यास भन्दा यसरी डिजिटाइज रेकर्ड राख्यो भने आफै विश्लेषण गरेर अगाडी जान सक्छन् । हाम्रो प्रमूख उद्देश्य भनेको यो हो’ गिरी सुनाउँछन् ।

डिजिटाइज रुपमा मार्केट एक्सेस पाउँदा उनीहरुले मूल्य शूल्कको तुलना गर्न सक्छन् । आफ्नो उत्पादनको स्वामित्व आफैमा हुन्छ । परम्परागत प्रणालीमा बस्तु बजार पुग्ने र पैसा कमाउने कुरा डिलरको हातमा हुन् ।

तर यसमा आफ्नो उत्पादित बस्तु उपभोक्तामाझ पुग्दासम्म कृषकहरुले पुरै प्रक्रिया हेर्न पाउँछन् । आफ्नो वस्तु कतिको राम्रो रहेछ भनेर थाहा पाउन सक्छन् । यो सिस्टमबाट कृषकहरुले आफ्नो उत्पादकत्वलाई म्यापिङ गर्न सक्छन् ।

यसरी कुन स्तु, कसरी उत्पादन गर्दा कस्तो प्रतिफल पाउन सकिन्छ भन्ने हेक्का किसानमा हुने गिरीले बताए । यस किसिमको आंकलन हुने भएको हुँदा खेतीले प्रिबुकिङ सिस्टम पनि तयार गरिसकेको गिरीले बताए ।

खेती एउटा एग्रिफूड टेक इकोसिस्टम प्लेटफर्म भएको हुँदा अहिले कम्पनी इकोसिस्टममा काम गर्ने किसान, बीटुबी खरिदकर्ता, लजिस्टिक्स सेवा प्रदायक, कोल्ड स्टोरेज तथा बैंक सबैसँग काम गरिरहेका सहसंस्थापक देवेस प्रधानले बताए ।

‘हाम्रा कृषकले सरकारको अनुदानयुक्त ऋण कसरी सजिलै प्राप्त गर्न सघाउने भनेर बैंकहरुसँग काम गरिरहेका छौं । किसानसँग काम गर्ने एनजीओलाई कसरी डेटा ड्रिभन बनाउने, डिमाण्ड बेस प्रोडक्सन कसरी बढाउने भन्नेमा लागेका छौं । यसरी हाम्रो प्लेटफर्मले धेरै जसो इकोसिस्टमलाई नै सम्बोधन गर्न खोजिरहेको छ’ प्रधानले भने ।

किसान भन्ने बित्तिकै डिजिटल्ली फ्रेण्डली छैनन् भन्ने भ्रम तोड्न फेसबुक चलाउने जतिले एप चलाउन सक्छ भन्ने मानसिकता बोकेर आफूहरुले २०१६ देखि २०१९ सम्मै परीक्षण गर्दै आएको प्रधान बताउँछन् ।

खेतीकाे टिम

‘यो गर्दा ठिक हुन्छ कि त्यो गर्दा ठिक हुन्छ भनेर लामो समयसम्म बुझ्न प्रयास गरेपछि हामीले अहिले निर्धक्कका साथ एप ल्याएका छौं । अहिले उहाँहरुले चलाउन सक्नुहुन्छ । तर डेटा इन्पुट गर्ने कुरामा चहिँ साना किसानले भन्दा पनि व्यवसायिक खेती गर्ने अहिलेका युवा किसानहरुप्रति हामी केन्द्रित छौं’ उनी भन्छन् ।

साना किसान तथा कर्पोरेट्सलाई एग्रोप्रिनियर मानेर सिकाउँदै आएको पनि प्रधानले बताए । ‘जस्तो सहकारीको सचिव वा अध्यक्ष होला उहाँहरुलाई हामी सुरुमा सिकाउँछौं र उहाँहरु पनि अरुलाई सिकाउँछौं । हामीले यसरी ग्रुपको माध्यमबाट अप्रोल गरेर नै १० हजारमा पुगिसकेका छौं’ उनले भने ।

ब्याकवार्ड र फरवार्ड लिङ्केज दुवैमा काम गरिरहेको हुँदा खेतीको रेभिन्यू सोर्समा पनि विविधता छ । यसले गर्दा अहिले कृषि व्यवसायको प्रक्रिया नै परिवर्तन हुँदै जाने विश्वास खेती समूहको छ ।

‘हामी टेक कम्पनी भएको कारण स्केलअप आवश्यकता छ । बढीभन्दा बढी बीटुबी पार्टनरहरुलाई लोकल फूड इकोनोमीमा कसरी ल्याउने भन्ने हाम्रो भिजनलाई पुरा गर्न हामीले ग्रोथको दृष्टिकोणबाट हेरिरहेका छौं । यसैले हामीलाई लगानीको आवश्यकता परिरहन्छ । सधैका लागि होइन आगामी दुई तीन वर्षसम्मका लागि ।’

यसैले कम्पनीले दुवै ब्याकवार्ड र फरवार्ड लिङ्केजमा आयको लाइनलाई बलियो बनाउँदै लग्ने । नेपालभरीकै कृषकलाई खेती प्लेटफर्म ल्याउन लगानीको पक्षमा सहकार्य गर्दै जाने योजना रहेको प्रधानले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४