close

इन्टरनेटका लागि गैरकानूनी रुपमा फ्रिक्वेन्सी प्रयोग गर्दै टेकमाइन्ड्स, नियामकलाई समेत अटेर

टेकपाना टेकपाना

पुस ६, २०७७ १६:५०

इन्टरनेटका लागि गैरकानूनी रुपमा फ्रिक्वेन्सी प्रयोग गर्दै टेकमाइन्ड्स, नियामकलाई समेत अटेर

काठमाडौं । आईएसएम ब्याण्डको फ्रिक्वेन्सीमा तोकिएको सीमाभन्दा बाहिर गएर कतिपय इन्टरनेट सेवा प्रदायकले फ्रिक्वेन्सी प्रयोग गरेको पाइएको छ । ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत सञ्चालित ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजनामा प्रयोग भएका उपकरणमा गैरकानुनी रुपमा तोकिएको रेन्जभन्दा बाहिरको फ्रिक्वेन्सी प्रयोगमा ल्याइएको हो ।

प्राधिकरण स्रोतका अनुसार केही समय अघिमात्रै प्राधिकरणले यो विषयमा अध्ययन गरेको थियो । जसमा चितवन कार्यालय रेहको टेकमाइण्ड्स प्रालिले गैरकानुनी रुपमा तोकिएको रेन्जभन्दा बाहिर गएर फ्रिक्वेन्सी प्रयोगमा ल्याइरहेको पाइएको हो ।

सरकारको नीति अनुसार सेवाप्रदायकले २.४ गिगाहर्ज ब्याण्डमा २.४ गिगाहर्जदेखि २.४८३५ गिगाहर्ज, ५.१ गिगाहर्ज ब्याण्डमा ५.१५ गिगाहर्जदेखि ५.३५ गिगाहर्ज र ५.८ गिगाहर्ज ब्याण्डमा ५.७२५ गिगाहर्जदेखि ५.८२५ गिगाहर्जसम्मको फ्रिक्वेन्सीमा रेडियो मोडेम मार्फत निःशूल्क सेवा सञ्चालन गर्न सक्छन् ।

सरकारलाई कुनै फ्रिक्वेन्सी दस्तुरसमेत तिर्न नपर्ने र लाइसेन्स समेत आवश्यक नहुने यी ब्याण्डहरु कुनै एक सेवा प्रदायकको एकाधिकार नहुनेगरी साझेदारीमा आधारित भएर प्रयोग गर्नुपर्ने प्रावधान छ ।

नियमअनुसार ४ गिगाहर्ज तथा ५.८ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गर्दा ट्रान्समिटरको अधिकतम आउटपुट पावर १ वाट अर्थात ३० डीबीएम र अधिकतम इफेक्टिभ इस्ट्रोपिक रेडियटेड पावर ४ वाट अर्थात ३६ डीबीएमभन्दा बढी हुनुहुँदैन ।

यसैगरी ५.१ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी राउटर तथा रिसिभरमा प्रयोग हुने गरेको छ । सरकारले त्यसका लागि समेत निश्चित मापदण्ड निर्धारण गरेको छ । जसअनुसार ५.१५ देखि ५.२५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी ब्याण्डको इनडोर प्रयोगमा रोक लगाएको छ ।

घरभित्रको प्रयोजनका लागि उपयोगी ५.२५ देखि ५.३५ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी भने घरबाहिर पनि प्रयोग गर्न सकिन्छ । त्यतिमात्रै नभएर सरकारको नीतिअनुसार इन्टरनेट सेवा प्रदायकले आईएसएम ब्याण्डको फ्रिक्वेन्सी मात्र प्रयोग गर्न पाउँछन् ।

तर, सेवा प्रदायकले भने तोकिएको फ्रिक्वेन्सी रेञ्जभन्दा बाहिर गएर गैरकानुनी रुपमा फ्रिक्वेन्सी प्रयोगमा ल्याइएको प्राधिकरणको अध्ययनले देखाएको छ । यसअघि गत डिसेम्बरमा प्राधिकरण आफैले विभिन्न सेवा प्रदायकले तोकिएको रेन्जभन्दा बाहिर गएर फ्रिक्वेन्सी प्रयोगमा ल्याइरहेको पाइएको भन्दै कारबाहीको चेतावनीसमेत दिएको थियो ।

जसमा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत सञ्चालित ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजनामा प्रयोग भएका उपकरणहरुमा गैरकानूनी रुपमा फ्रिक्वेन्सी प्रयोग भएको उल्लेख गरिएको छ ।

निःशूल्क रुपमा प्रयोग गर्न सकिने उक्त ब्याण्डमा सञ्चालन हुने उपकरण नै सरकारको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तय गरेको मापदण्ड विपरित प्रयोग भइरहेकोसमेत प्राधिकरणले जानकारी दिएको थियो ।

यसरी गैरकानूनी रुपमा फ्रिक्वेन्सीको प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन र फ्रिक्वेन्सी नीतिअनुसार कारबाही गरिने प्राधिकरणले बताउँदै आएको भएतापनि हालसम्म त्यस्तो हुन सकेको छैन । सेवा प्रदायकलाई प्रयोग नगर्न भन्दै पत्र पठाएको भएतापनि उनीहरुले निरन्तर रुपमा प्रयोग गरिरहेको प्राधिकरण स्रोतले जनाएको छ ।

स्रोतका अनुसार त्यतिबेला उनीहरुले तोकिएको रेन्जभन्दा बाहिर गएर यो सेवा प्रयोग गरिरहेको भएतापनि त्यसलाई रोक्दा सेवा नै अवरुद्ध हुने भएकाले केही गर्न सक्ने अवस्था थिएन । अहिले फेरी आएर त्यस्तै खालको समस्या दोहोरिएको छ ।

चाँडै उक्त सेवा प्रदायकलाई यो पत्र पठाएर जानकारी गराउने र त्यतिगर्दा पनि नभएको खण्डमा डिभाइस नै उठाएर ल्याउनु पर्ने अवस्था समेत आउन सक्ने प्राधिकरण स्रोतले बतायो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०