close

प्रतिस्पर्धी कम्पनीको नामै तोकेर विज्ञापन गरेपछि डिशहोमसँग प्राधिकरणले माग्यो स्पष्टिकरण

टेकपाना टेकपाना

मंसिर १६, २०७७ १८:२७

प्रतिस्पर्धी कम्पनीको नामै तोकेर विज्ञापन गरेपछि डिशहोमसँग प्राधिकरणले माग्यो स्पष्टिकरण

काठमाडौं । डिश मिडिया नेटवर्क अर्थात डिशहोमले प्रतिस्पर्धी कम्पनीको नामै तोकेर विज्ञापन गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टिकरण माग गरेको छ । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले गत फेब्रुअरी देखि इन्टरनेट सेवामा समेत हात हालेको छ ।

उक्त कम्पनीले हाल उपत्यकाका विभिन्न स्थानमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । इन्टरनेट विस्तारको क्रममा रहेको कम्पनीले प्रतिस्पर्धी अर्को कम्पनी वर्ल्डलिंकको नामै तोकेर विज्ञापन गरेको पाएपछि प्राधिकरणले स्पष्टिकरण माग गरेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

रोयका अनुसार डिश मिडिया नेटवर्कलाई यही पुस ३ गते स्पष्टिकरण पेश गर्न पत्र काटिएको छ । ‘कम्पनीले वर्ल्डलिंकको नामै तोकेर उक्त कम्पनीको सेवा छाड्ने ग्राहकलाई केही समयका लागि सित्तैमा इन्टरनेट सेवा दिने भनी विज्ञापन गरेको पाइएको छ,’ रोयले भने, ‘उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित हो ।’

त्यसैले प्राधिकरणले उक्त ऐनको दफा ४७ बमोजिम किन कारबाही नगर्ने भनी स्पस्टिकरण पेश गर्न र त्यस्ता विज्ञापन तत्कालै रोक्न निर्देशन दिएको उनले बताए ।

रोयका अनुसार प्रतिस्पर्धी बजारमा यस्तो खालको क्रियाकलापले बजार बिग्रिने भन्दै कानूनमै अर्को प्रतिस्पर्धी कम्पनीलाई आँच आउने गरी र अर्को प्रतिपर्धी कम्पनीको नाम किटान गरी विज्ञापन गर्न नपाउने व्यवस्था गरिएको छ ।

डिशहोमले दिएको स्पष्टिकरणका आधारमा अब थप प्रक्रिया अघि बढ्ने रोयले बताए । रोयका अनुसार कम्पनीले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको खण्डमा दूरसञ्चार अनुमति पत्रको शर्त बमोजिम ५ लाखसम्म जरिवान हुन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०