close

एनसेलमा झण्डै २७ अर्ब लगानी थप, ५७ हजारले पाए अप्रत्यक्ष रोजगारी

टेकपाना टेकपाना

पुस १०, २०७७ २०:२६

एनसेलमा झण्डै २७ अर्ब लगानी थप, ५७ हजारले पाए अप्रत्यक्ष रोजगारी

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गत आव २०७६/७७ मा २६ अर्ब ७७ करोडको लगानी थप गरेको बताएको छ । सो लगानी अघिल्लो वर्ष २०७५/७६ मा कम्पनीले गरेको ११ अर्ब ९७ करोडको लगानी भन्दा अढाई गुणा धेरै हो । 

कम्पनीले हालै जारी गरेको आफ्नो राष्ट्रिय योगदान प्रतिवेदन २०१९/२० को तथ्याङ्कमा त्यस्तो पाइएको हो । 

प्रतिवेदनको अनुसार एनसेलले गत आर्थिक वर्षमा नेपालको जीभीए अर्थात् कुल भ्याल्यू एडमा साढे ६० अर्बको योगदान गरेको छ, जुन नेपालको कूल जीडीपीको १.६ प्रतिशत हो । 

यसमा ३५ प्रतिशत क्यापिटल इन्भेस्टमेन्टको भ्याल्यु एड, ४८ प्रतिशत अपरेसनल डाइरेक्ट भ्याल्यु एड र १७ प्रतिशत अपरेसनल इन्डाइरेक्ट तथा इन्ड्युस्ड भ्याल्यु एड रहेका छन् ।

तर कोभिड १९ को असरको कारण अघिल्लो आव २०७५/७६ को तुलनामा यो दुई प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । सो अवधिमा कम्पनीले सरकारलाई कर तथा अन्य शुल्क स्वरुप ३२ अर्ब ६२ करोड रुपैयाँ बुझाएको छ । 

प्रतिवेदनका अनुसार एनसेलले आफ्नो कम्पनी स्थापना गरेदेखि नेपाल सरकारलाई हालसम्म दुई खर्ब ४२ अर्ब रुपैयाँ कर योगदान स्वरुप बुझाइसकेको छ । 

प्रतिवेदनका अनुसार हाल एनसेलको एक करोड ५७ लाख ६० हजार प्रयोगकर्ता छन् । ५८ प्रतिशत जनसंख्यामा कम्पनीको फोरजी कभरेज पुगिसकेको छ भने कम्पनीको नेपालमा मात्र ५४३ कर्मचारी रहेका छन् ।  त्यस्तै एनसेल व्यवसायबाट करिब ५७ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका ग्राहकमध्ये ६४ प्रतिशतसँग स्मार्टफोनकाे पहुँच छ । कम्पनीले हालसम्म ५९ प्रतिशत ग्रामीण क्षेत्रमा आफ्नो बीटीएस टावर स्थापना गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०