close

एचटीटीपीएस र एचटीटीपीमा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

पुस ११, २०७७ १९:१८

एचटीटीपीएस र एचटीटीपीमा नझुक्किनुहोस्, यस्तो छ फरक

काठमाडौं । जब हामी इन्टरनेट प्रयोग गर्छौं, तब हामीले ब्राउज गर्ने वेबसाइटको एड्रेस एउटै ढाँचामा हुँदैनन् । कुनैमा एचटीटीपी हुन्छन् भने कुनैमा एचटीटीपीएस हुन्छन् । यस्ता कुराले तपाईभित्र दुविधा उत्पन्न गराउन सक्छ ।

आज हामी तपाईंहरुलाई यी दुईबीचको अन्तर बताउने छौं । साथै तपाईंका लागि कुन फाइदाजनक छ, त्यसका बारेमा पनि बताउने छौं । 

यी दुईको अवधारणा एकदमै सामान्य छ । यसलाई राम्रोसँग बुझ्न सकियो भने इन्टरनेटको दुनियाँमा तपाईंले धेरै हदसम्म आफ्नो गोपनीयताको सुरक्षा गर्न सक्नुहुन्छ । विभिन्न किसिमका साइबर ह्याक तथा अट्याकबाट बच्न सक्नुहुन्छ । 

एचटीटीपीको पूर्ण रुपमा ‘हाईपरटेक्स्ट ट्रान्सफर प्रोटोकल’ हो । यो एउटा सेटअप नियम हो, जस अन्तर्गत रहेर इन्टरनेटले काम गर्दछ । 

जब तपाईं कुनै वेबसाइट भिजिट गर्दा त्यसको युआरएलमा एचटीटीपी छ आफ्नो ब्राउजरबाट कुनै सूचना त्यस वेबसाइटको सर्भरमा पठाउनुहुन्छ । वा त्यो सर्भरबाट कुनै जानकारी आफ्नो वेबसाइटमा प्राप्त गर्नुहुन्छ भने त्यो एचटीटीपीकै मद्दतबाट सम्भव हुन्छ ।

तर त्यो कनेक्सन पूर्ण रुपमा खुल्ला हुन्छ र कम्प्युटरहरुबीच बनिरहेको लिङ्कअप पनि प्लेन टेक्स्टमा हुन्छ ।

यदि कुनै ह्याकरले तपाईंको सुराकी गर्ने सोच बनाएको छ भने तपाईंको एचटीटीपी वेबसाइटको सर्भर र तपाईंको कम्प्युटरबीच भइरहेको डेटाको आदानप्रदानलाई ह्याकरले सजिलै पहिचान गर्न सक्छ । 

यदि तपाईं एचटीटीपी वेबसाइटमा कुनै आर्टिकल पढ्दै हुनुहुन्छ, युट्युबमा भिडियो वा गीत हेर्दै हुनुहुन्छ भने यसले कुनै असर गर्दैन ।

तर यदि तपाईं कसैसँग कुनै संवदेनशिल वा गोप्य विषयमा कुराकानी गर्दै हुनुहुन्छ वा अनलाइन शपिङ वा डिजिटल वित्तीय कारोबार गर्दै हुनुहुन्छ र आफ्नो कार्ड डिटेल इन्टर गर्दै हुनुहुन्छ भने यसले खतरा निम्त्याउन सक्छ । 

यसैले सुरक्षित रहन हामी सबैले सधै एचटीटीपीएस वेबसाइट ब्राउज गर्नुपर्छ । यसमा अन्तिममा भएको ‘एस’ अक्षरको अर्थ सेक्योर हो ।

यसरी एचटीटीपीएस युआरएल मार्फत वेब ब्राउज गर्दा तपाईंले ब्राउज गरेको वेब र त्यसको सर्भरबीच हुने डेटाको आदानप्रदान सबै इन्क्रिप्टेड हुन्छ । यसैले कुनै पनि वेबसाइट ब्राउज गर्दै गर्दा त्यसमा एचटीटीपी वा एचटीटीपीएस छ, राम्रोसँग हेर्नुहोला । 

यसबाहेक आजभोलि गुगलमा हुने र्‍याङ्किङमा पनि यसलाई निकै महत्वको साथ हेर्ने गरिन्छ । यसैले तपाईं कुनै ब्लग बनाउँदै हुनुहुन्छ भने  त्यसमा एचटीटीपीएस राख्नुहोस् । यसले गुगल सर्च रिजल्टमा वेबसाइटलाई माथि ल्याउँछ । 

तर यदि तपाईं सामान्य आर्टिकल वा जोक्स पढ्दै हुनुहुन्छ भने त्यसमा एचटीटीपीएस हुन अत्यावश्यक छैन । भएको खण्डमा त्यो राम्रो कुरा हो । विशेषगरी अनलाइन शपिङ, बैंकिङ वेबसाइटमा यो छ कि छैन ध्यान दिएर हेर्नुहोस् । 

आफ्नो वेबसाइटमा एचटीटीपीएस राख्नका लागि तपाईंले एसएसएल अर्थात् ‘सेक्योर सकेट लेयर सर्टिफिकेट’को लागि आवेदन दिनपर्छ । त्यो प्राप्त भइसकेपछि तपाईंले वेबसाइटमा यसलाई इन्स्टल गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०