close

छुटको स्थायी सुविधा दिने अनलाइन प्लेटफर्म : पेलेस

टेकपाना टेकपाना

पुस १२, २०७७ १०:१५

छुटको स्थायी सुविधा दिने अनलाइन प्लेटफर्म : पेलेस

काठमाडौं । दरबारमार्गको कुनै वैभवशाली रेस्टुराँमा डिनर गर्दै गर्दा होस् वा कुनै फ्यान्सी क्लोदिङ स्टोरमा कपडा चयन गर्दै गर्दा होस् । छुट तपाईंको सधैंको ‘प्रिभ्लेज’ बन्छ भने कति आनन्दमयी हुन्छ होला । 

यो विशेष सुविधाका लागि तपाईं वर्षमा हजार रुपैयाँ तिर्न सक्नुहुन्न र ?

भोजपुरका ३५ वर्षीय रोशन राईको डिस्काउन्ट प्लेटफर्म पेलेसले वास्तविक जीवनमा तपाईंलाई छुटको यो विशेष सुविधा प्रदान गर्दैछ । 

२०७५ वैशाख १ मा मानिसहरुलाई छुटको स्थायी सुविधा दिन स्थापना भएको थियो पेलेस । तर सौभाग्यवश कोभिड १९ का कारण थलिएको उपभोक्ताको क्रयशक्तिलाई राहत प्रदान गरेर समग्र ईकमर्शको इकोसिस्टममा समेत पेलेसले भ्याल्यु एड गरिरहेको छ । 

वेबसाइट हेर्दा प्रडक्टहरुको अनलाइन मार्केप्लेस जस्तो देखिन्छ पेलेस । वास्तवमा याे एउटा छुट प्रदायक प्लेटफर्म हो । 

पेलेसमा सदस्य बन्ने जोकोही व्यक्तिले काठमाडौं उपत्यकाभित्रका चार सयभन्दा धेरै प्रडक्ट आउटलेट्समा पाँचदेखि ४० प्रतिशतसम्म छुट पाउन सक्छन् । यसका लागि पेलेसको सेवा सब्सक्राइब गर्न वार्षिक हजार रुपैयाँ भुक्तानी र पेलेसको आईओएस तथा एन्ड्रोइड एप डाउनलोड गर्नुपर्नेछ । 

पेलेसको एप डाउनलोड गरी इन्स्टल गरिसकेपछि प्रयोगकर्ताले त्यसमा रजिस्टर गरी ईसेवा, खल्ती, सेलपे, कनेक्ट आईपीएसमध्ये कुनै एउटा भुक्तानी प्रणालीबाट हजार रुपैयाँ भुक्तान गरी सदस्य बन्न सक्नेछन् ।

यसका लागि एपमा आफ्नो जानकारी, फोटो, सम्पर्क नम्बर वा जन्ममिति सबै कुरा राख्न सक्छन् । त्यसपछि कुन सेवाबाट भुक्तानी गर्ने अप्सन छ । 

तर कम्पनीकाे सेवाप्रति कुनै आशंका वा दुविधा हुनेहरुले ‘रिक्वेस्ट फर मेम्बरसिप’ बटन थिँचेर कम्पनीकै कर्मचारीसँग भेटघाट गरी परामर्श तथा सेवा दर्ता गराउन सक्ने छन् । पेलेसका सदस्यहरुले कम्पनीबाट एउटा प्रिभ्लेज डिस्काउन्ट कार्ड पाउने छन् । जसलाई देखाएको खण्डमा पार्टनर आउटलेटबाट सदस्यहरुले छुट पाउनेछन् ।  

छुटका लागि पेलेसले चारसयभन्दा धेरै आउटलेट्सहरुसँग साझेदारी गरिसकेको छ । जसमध्ये १३० भन्दा धेरै रेस्टुरेन्ट, क्लोदिङ सेन्टर, स्पा, पार्लर, फूटसल, फर्निचर, पेट सप र पेस्ट्रिज आदी छन् । 

यी सबै ठाउँमा पेलेसका सदस्यहरुले पाँच देखि ४० प्रतिशतसम्मको छुट पाउन सक्छन् । हाल काठमाडौंमा मात्र केन्द्रित पेलेसको सेवा पोखरामा समेत सार्वजनिक हुने तयारीमा छ ।

‘हामी हाम्रा साझेदार कम्पनीहरुको १५ देखि ३५ सेकेण्डको एनिमेटेड भिडियो बनाएर फेसबुक तथा सोसल मिडियामा निःशुल्क प्रोमोसन गरिदिन्छौं,’ रोशनले भने, ‘अनि ती कम्पनी तथा आउटलेटहरुले हाम्रा ग्राहकलाई सेवा तथा बस्तुमा छूट प्रदान गर्छन् ।’ 

हाल एक हजार सदस्य रहेको पेलेसले सिटिजन बैंकसँग पनि यस किसिमको साझेदारी गरेसँगै पेलेसको युजरबेस ९ लाखसम्म पुग्ने अपेक्षा गरेको रोशन बताउँछन् । 

‘सिजिटन बैंकका ग्राहकहरुले पनि हाम्रो पार्टनरहरुबाट छुट सुविधा पाउन सक्छन् ।’ रोशन भन्छन्, ‘तर उनीहरुबाट हामी वार्षिक एक हजारको मेम्बरसिप लिदैँनौं । उनीहरुको डेबिट तथा क्रेडिट कार्ड स्वाइप गर्दा केही प्रतिशत रेभिन्यू हामीसँग पनि शेयर हुन्छ ।’

पेलेसको एप प्रयोग गर्दा लोकेसन र डिस्काउन्ट रेटको आधारमा ठाउँहरु देख्न सकिन्छ । यसको प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो लोकेसन र इन्टरनेटलाई भने अन राख्नुपर्नेछ । सपिङ वा डिनर गरिसकेपछि प्रयोगकर्ताहरुले छूट रेट अनुसार छूट सुविधा पाउन सक्ने छन् । 

पेलेसबाट छुट पाएर  वार्षिक १० हजारसम्म पैसा सेभ गर्न सक्ने सेवाग्राहीहरुको वार्षिक एक हजार चार्ज समेत रिफण्ड गरिदिने सुविधा पेलेसले दिइरहेको रोशनले टेकपानालाई सुनाए । 

छुटलाई नै व्यवसाय मोडलको मुख्य सेवा बनाएर अघि बढिरहेको पेलेसले अतिरिक्त सेवाको रुपमा अहिले आफ्नो पेलेस मार्केटप्लेसमा विभिन्न ब्राण्ड तथा आउटलेट्सका वस्तुहरु पनि राख्दै आइरहेको छ ।

‘हामीले सिटिजन्स, ग्लोबल आईएमई, माछापुच्छ्रे र एनएमबीसँग मिलेर टिभी, रेफ्रिजेटर जस्ता हाई इण्ड प्रोडक्ट समेत प्लेटफर्मबाट बेच्न तयारी गरिसकेका छौं । यसबाहेक सेल्पे, खल्ती जस्ता वालेटसँग हामीले कोभिडको समयमा तरकारी बिक्री वितरणको लागि पनि सहकार्य गरेका थियौं । 

‘दुई वर्षअघि कम्पनी स्थापना गरेपनि एप निर्माण र साझेदारीमा करिब १० महिना बित्यो,’ रोशन टेकपानासँग भन्छन्, ‘दुई महिनाअघि मात्र हामीले बजारमा सेवा ल्याएका हौं ।’

कम्पनी भर्खरै सुरु भए पनि करिब हजारजना सदस्य बनिसकेको हुँदा विस्तारै नाफामा जाने उनको अपेक्षा छ । 

एमबीए सकेर आईटी कम्पनी सञ्चालनको अनुभव बोकेका रोशनसँग अन्य तीनजना सहसंस्थापक तथा शेयरधनीहरुले मिलेर पेलेसमा हालसम्म २६ लाखको लगानी गरिसकेका छन् । 

छुटलाई नै आफ्नो व्यवसायको प्रमुख मोडल बनाएर लग्ने रोशनको भविष्यमा अन्य योजना पनि छन् । 

‘अब हामी वैशाख १ मा अभियान चलाउन योजनामा छौं । जसमा हाम्रै प्लेटफर्मबाट सामान किन्नेका लागि लक्की ड्र गरेर ४० इन्चको टिभी दिने र त्यसबाहेक फूड भौचर पनि दिने योजनामा छौं।’ 

यस्तै पेलेसले आफ्नो सब्सक्रिप्सन चार्जलाई ब्रेक गरेर अर्ध वार्षिक वा पाक्षिक रुपमा लग्ने सँगै सेवा थप गर्दै शुल्क समेत बढाउने उनले बताए । 

आगामी दिनमा नेपालका लागि नेटफ्लिक्स जस्तै सब्सक्रिप्सनबेस भिडियो स्ट्रिमिङ समेत ल्याउने उनको योजना छ ।

छुटप्रतिको मानिसहरुको मोहलाई पुरा गर्न इन्डिभ्जुअलबाट ठूलो स्केलमा लिएर अगाडि बढिरहेको पेलेसमा हाल म्यानेजिङ डिरेक्टर रोशन राईसहित आठजनाको टिमले काम गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०