close

अप्टिकल फाइबर परियोजनामा चरम ढिलासुस्ती, चार वर्ष बित्दा ८ प्रतिशत मात्रै काम

टेकपाना टेकपाना

पुस १३, २०७७ १२:१७

अप्टिकल फाइबर परियोजनामा चरम ढिलासुस्ती, चार वर्ष बित्दा ८ प्रतिशत मात्रै काम

काठमाडौं । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामलाई जोडेर तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने नेपाल सरकारको ग्रामीण दूरसञ्चार परियोजना अन्तर्गतको सूचना महामार्गको काम सुरु भएको चार वर्ष भइसकेको छ ।

यस अवधिमा सूचना महामार्गमा ६ हजार ३ सय ३१ किलोमिटर अप्टिकल फाइबर बिछ्याइसक्नु पर्ने हो । काम सम्पन्न गरिसक्नु पर्ने प्रारम्भिक समयसीमा पुरा भएको पनि एक वर्ष बितिसकेको छ । तर परियोजनाको हालसम्मको प्रगति भने ७.७५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

तीन प्याकेजमा विभाजन गरिएको उक्त परियोजनाको पहिलो प्याकेज अन्तर्गतको प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा ठेक्का पाएको कम्पनी नेपाल टेलिकमले सम्झौता गरेको चार वर्ष बितिसक्दा भर्खर २२.५३ प्रतिशत दूरीसम्म अप्टिकल फाइबर बिच्छाएको छ ।

कम्पनीले पहिलो प्याकेज अन्तर्गत कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने थियो ।

पहिलो प्याकेज अन्तर्गत टेलिकमले जडान गर्नुपर्ने २६ वटा डीडब्ल्युडीएम सिस्टममध्ये २५ वटा जडान गरी ६ स्थानमा कमिसनिङको कार्य सम्पन्न भइसकेको छ ।

यस्तै ४८ मध्ये हालसम्म ४५ वटा कोर राउटर इक्युपमेन्ट जडान भइसकेको छ । जडान भएकामध्ये अहिले काठमाडौं उपत्यकामा जडान सम्पन्न भएका तीनवटा सो उपकरणहरु प्रोभिजनल एसेप्टेन्स टेस्ट अर्थात् पीएटीको कार्य अन्तिम चरणमा पुगेको छ ।

यस्तै दोस्रो प्याकेज अन्तर्गत गण्डकी तथा लुम्बिनी प्रदेशको कार्य प्रगति भने अझै शुन्य नै छ । सो क्षेत्रमा सेवा प्रदायकले २१ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्ने जिम्मा पाएको थियो ।

ठेक्का पाएको यूटीएल समयमै आयोजना सम्पन्न गर्न नसकेपछि प्राधिकरणले ठेक्का निर्णय गरेको थियो । सो निर्णयउपर यूटीएलले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि उक्त ठेक्का परियोजना गतिरोधको स्थितिमा छ ।

यस्तै गत पुस १८ गते स्मार्टसँग ठेक्का रद्द भएर नेपाल टेलिकमले पाएको तेस्रो प्याकेजको पनि अप्टिकल फाइबर बिछ्याउने कार्य शुन्य छ । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसिमा रहेको सो परियोजनामा टेलिकमको कार्यप्रगति हालसम्म शुन्य छ ।

कम्पनीले कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा १९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ । यस अवधिसम्म कम्पनीले जडान गर्नुपर्ने २५ डीडब्ल्युडीएम सिस्टम र ५६ वटा कोर राउटर उपकरण जडानको कार्यप्रगति पनि शुन्य छ ।

हालसम्म उक्त प्याकेजका लागि लेटर अफ इन्टेन्ड जारी भइसकेको र माइक्रोवेब रेडियोको मूल्याङ्कन पश्चात बोलपत्र रद्द भएको छ । उच्च क्षमताको डीडब्ल्युडीएम र कोर राउटरका लागि पनि बोलपत्र आह्वान भई खरिद प्रक्रियामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०