close

पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडर सधैंका लागि निलम्बनमा

टेकपाना टेकपाना

पुस १३, २०७७ १९:१५

पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडर सधैंका लागि निलम्बनमा

काठमाडौं । पठाओले कार्यालय तोडफोड गर्ने राइडरहरुलाई सधैंका लागि निलम्बन गर्ने भएको छ । कम्पनीले सोमबार कार्यालय तोडफोडमा उत्रिएका ५० जना राइडरको समूहलाई कारबाही गर्ने भएको हो ।

कम्पनी र आन्दोलनरत राइडर समूहबीच पछिल्लो एक सातादेखि छलफल चलिरहेको थियो । तर आफ्ना माग सम्बोधन नभएको भन्दै असन्तुष्ट राइडरहरुले सोमबार पठाओको कार्यालय तोडफोड गरेका थिए ।

त्यसरी कार्यालय तोडफोडमा उत्रिएका सबै राइडरलाई पठाओले सधैंका लागि निलम्बन गर्ने भएको हो । राइडरहरुले कम्पनीले आफूहरुमार्फत लिने कमिसन घटाउन दबाव दिँदै आएका थिए ।

हाल कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन लिने गरेको छ । ती राइडरहरुले राइड शेयरिङ बापत आम्दानीको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने माग राखेका थिए ।

यसै विषयलाई लिएर एक हप्तादेखि जारी विवाद सोमबार तोडफोडमा परिणत भएको थियो । त्यसरी तोडफोडमा उत्रिएका २१ जनालाई हालसम्म निलम्बर गरिसकिएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए ।

उनका अनुसार बाँकी आन्दोलनकारी राइडरलाई समेत सीसीटीभी क्यामेरा मार्फत हेरेर क्रमशः निलम्बन गर्ने काम भइरहेको छ । तोडफोडमा संलग्न राइडरलाई कारबाही गर्न प्रहरीलाई समेत विवरण उपलब्ध गराउने काम भइरहेको छ ।

यसरी कार्यालयमा तोडफोड गर्नेमा यसअघि नै निलम्बनमा परेको १५ जना राइडर पनि सहभागी रहेको बस्न्यातले बताए । उनीहरुलाई नियम पालन नगरेका कारण निलम्बन गरिएको थियो ।

‘त्यसैले यो पूर्णतः नियोजित रुपमा गरिएको आक्रमण हो,’ बस्न्यातले भने, ‘हामीलाई यस विषयमा हिजो नै जानकारी प्राप्त भइसकेको थियो ।’ त्यसैले प्रहरीलाई यसबारे जानकारी दिएर सुरक्षाको लागि आग्रह गरिएको उनले बताए ।

‘तर, आजै विभिन्न ठाउँमा नेपाली कांग्रेसको आन्दोलन भएकाले सबैतिर बाँडिनुपर्ने भएकाले प्रहरी सानो संख्यामा मात्रै उपस्थित भएको थियो,’ उनले भने, ‘प्रहरीको उपस्थितिबीचमै तोडफोड भएकाले संलग्न व्यक्तिको पहिचान गरी हामी जानकारी पठाइरहेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०