close

नयाँ वर्षमा जिओको उपहार, भारतभर सबै नेटवर्कमा नि:शुल्क फोन गर्न सकिने

टेकपाना टेकपाना

पुस १६, २०७७ २०:२४

नयाँ वर्षमा जिओको उपहार, भारतभर सबै नेटवर्कमा नि:शुल्क फोन गर्न सकिने

काठमाडौं । भारतीय मोबाइल अपरेटर रिलायन्स जिओले नयाँ वर्षसँगै आफ्ना प्रयोगकर्तालाई अन्य नेटवर्कमा पनि नि:शुल्क कल गर्न सकिने सुविधा दिने भएको छ । कम्पनीले १ जनवरी २०२१ अर्थात् शुक्रबारदेखि भारतभित्र हुने सम्पूर्ण भ्वाइस कल निःशुल्क गर्ने घोषणा गरेको हो ।

सेवा सुरु गर्दा यही अफरका साथ बजारमा प्रवेश गरेको कम्पनीले भारतीय टेलिकम बजारमा ठूलो सफलता हात पारेको थियो । तर, गत वर्षबाट कम्पनीले अन्य मोबाइल नेटवर्कहरुमा कल गर्दा भारु ६ पैसा प्रतिमिनेट शुल्क लाग्ने बनाएको थियो ।

जिओले यस्तो निर्णय लिनुको पछाडि भारतीय टेलिकम नियामक प्राधिकरण (ट्राई) को निर्णय रहेको छ । ‘बिल एन्ड किप’ अन्तर्गत, ट्राईले जनवरी १ देखि भारतभर आन्तरिक भ्वाइस कलमा इन्टरकनेक्सन चार्ज (आईयूसी) बन्द गर्ने निर्णय यसअघि नै गरेको थियो ।

इन्टरकनेक्सन चार्जको अर्थ एक सेवा प्रदायकको सिमबाट अर्को सेवा प्रदायकको सिममा कल गर्दा सेवा प्रदायकले बुझाउनु पर्ने चार्ज हो । जिओका अनुसार जिओले आईयूसीको कारण विगत तीन वर्षमा कम्पनीले अन्य सेवा प्रदायकलाई १३ हजार ५ सय करोड रूपैयाँ तिर्नुपरेको थियो ।

यसरी अन्य कम्पनीलाई तिर्नुपर्ने ठूलो रकम कम हुने भएपछि कम्पनीले आफ्ना ग्राहकलाई नि:शुल्क कलको सुविधा प्रदान गर्ने भएको हो । योसँगै जिओका ग्राहकहरुले कुनै पनि मोबाइल नेटवर्कमा भारतभर निःशुल्क भ्वाइस कल गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०