close

केही दिनमै सार्वजनिक हुँदै टेलिकमको ‘नमस्ते पे’

टेकपाना टेकपाना

भदौ १०, २०७८ १८:२३

केही दिनमै सार्वजनिक हुँदै टेलिकमको ‘नमस्ते पे’

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो वालेट सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कम्पनीले यही भदौको २२/२३ गतेसम्म एप सार्वजनिक गर्ने भएको हो ।

एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको भन्दै कम्पनी स्रोतले सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी पुरा भएको जनाएको छ । ‘हाल मर्चेन्ट एक्विजिसनको काम (बिक्रेता तथा व्यवसायलाई समेट्ने कार्य) भइरहेको छ,’ स्रोतले टेकपानासँगको कुराकानीमा भन्यो, ‘अहिलेसम्मको योजना अनुसार यसै महिनाको २२/२३ गतेसम्म एप सार्वजनिक गर्ने कुरा छ । तर केही गरी ढिलो भयो भने पनि भदौ मसान्त भित्रै सेवा सञ्चालनमा ल्याउछौँ ।’

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढेको जनाइएको छ ।

‘त्यससँगै सम्बन्धित पीएसओमा रहेका सबै मर्चेन्टलाई नमस्ते पेबाट नै भुक्तानी गर्न सकिनेछ,’ कम्पनी स्रोतले भन्यो । टेलिकमले सञ्चालनमा ल्याउने डिजिटल भुक्तानी सेवामा  इन्टरनेट नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिने र क्यूआर कोडको सुविधा समेत रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१