close

ह्वाट्सएपको नक्कली भर्सन प्रयोग गर्दा फोन नै ह्याक हुने खतरा

टेकपाना टेकपाना

भदौ १०, २०७८ १६:५६

ह्वाट्सएपको नक्कली भर्सन प्रयोग गर्दा फोन नै ह्याक हुने खतरा

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपको अनधिकृत ‘मोड’ भर्सन (WhatsApp Mod) पछिल्लो समय निकै चर्चामा रहेको छ । साइबर सेक्युरिटी विज्ञका अनुसार केही समय अघिमात्रै उक्त एप प्रयोग गर्ने हजारौं प्रयोगकर्ताको डेटा डार्क वेबमा सार्वजनिक गरिएको छ ।

हाल ह्वाट्सएपमा उपलब्धभन्दा बढी फिचर रहेको भन्दै त्यस्ता एपले प्रयोगकर्तालाई डाउनलोड गर्न आकर्षित गरिरहेका छन् । तर, नक्कली भर्सनको एपमार्फत प्रयोगकर्ताको मोबाइलमा मालवेयर भित्रिरहेको कास्परस्काइको रसियन ल्याबमा कार्यरत साइबर अनुसन्धानकर्ताले खुलासा गरेका छन् ।

उनीहरूका अनुसार वेबमा उपलब्ध ‘एफएमह्वाट्सएप’ (FMWhatsApp) मोडमार्फत प्रयोगकर्ताको मोबाइलमा मालवेयर पठाएर डेटा संकलन गर्ने काम भइरहेको छ । विशेषगरी ‘ट्राइडा’ नामक मोबाइल ट्रोजन प्रयोगकर्ताको मोबाइलमा भित्रिरहेको छ । जसले अन्य ट्रोजन समेत डाउनलोड गर्ने अनुसन्धानकर्ताको भनाइ छ ।

कस्टमाइज गरेर विभिन्न फिचर थप भएर आउने ह्वाट्सएपका यस्ता मोड प्रविधिमा काम गर्ने, तर कम्पनीसँग असम्बन्धित व्यक्तिले बनाएका हुन्छन् । त्यो हुँदा ह्वाट्सएपले लामो समयदेखि यस्ता एप प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।

‘ह्वाट्सएप म्यासेजिङमा सबैभन्दा चर्चित एप भएता पनि धेरै प्रयोगकर्ता यसले उपलब्ध गराएको फिचरसँग सन्तुष्ट छैनन्,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘त्यसैले प्रयोगकर्ताले वैकल्पिक एपको खोजीमा ह्वाट्सएपको नक्कली मोड डाउनलोड गरिरहेका छन् । जसले सक्कली एपको तुलनामा धेरै फिचर दिएका छन् ।’

प्रयोगकर्तालाई फिचर उपलब्ध गराउने नाममा एप निर्माताले माेनिटाइजका लागि विभिन्न विज्ञापन उपलब्ध गराउने, विभिन्न अनधिकृत वेबसाइटमा लिंक गराउने खालको काम समेत गरिरहेको जनाइएको छ । त्यसैले यस्ता मोड प्रयोग नगर्न समेत अनुसन्धानकर्ताले सचेत गराएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१