close

फोहोरमा कला खोज्दै सम्सारा क्रियसन

मेनुक्श मेनुक्श

भदौ ११, २०७८ १६:११

फोहोरमा कला खोज्दै सम्सारा क्रियसन

काठमाडौं । प्राय: जसो सहरका सडक अनि गल्लीहरूमा जताततै फोहोरको डङ्गुर अस्वभाविक रुपमा देखिन्छ । त्यस्ता फोहोर संकलन गरी उपयुक्त व्यवस्थापन नै समस्याकाे विषय छ। त्यसैमाथि कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्ने प्रवृत्ति दुर्लभ नै हो । पुराना फाटेका कपडा प्लास्टिक बोतलहरूलाई राम्रोसँग प्रयोगमा ल्याउन सके पर्यावरणलाई जोगाउन सकिन्छ भन्ने चेतना पनि कमै मान्छेमा मात्रै छ ।

काठमाडौं विश्वविद्यालयमा एमबीए गर्दै गरेका विद्यार्थीहरूको एउटा समुह जसले फोहोरलाई लिएर क्रान्ति गरिरहेका छन् । दोश्रो सेमेस्टरमा अध्ययन गर्दै  गर्दा उक्त समुहले प्राक्टिकलका लागि बिजनेस प्रोजेक्ट बुझाउनु पर्ने थियो । समुहमा नौ जना थिए । तर रुचिका हिसाबले सबैमा तालमेल थिएन ।

प्रोजेक्टका लागि ठ्याक्कै के गर्ने भन्ने आइडिया नभएपछि उनीहरूले एकअर्काले यसअघि नै गरिसकेका कामहरू र रुचिका विषयमा छलफल गरे । जसमा वातावरण जोगाउनका लागि केही गर्नुपर्छ भन्ने ध्येय बोकेका साथीहरू भेटिए । उनीहरूमध्ये केहीले फोहोर व्यवस्थापन सम्बन्धी काम तथा अध्ययन गरिसकेका थिए ।

त्यसैलाई आधार मानेर उनीहरूले ‘वेस्ट टु आर्ट’ को नाममा कार्यक्रमको योजना अघि बढाए जुन विद्यार्थीको हकमा सफल बन्यो । क्याम्पसमा गरिएको कार्यक्रमबाट राम्रो प्रतिक्रिया मिलेपछि यसैलाई करिअरको रूप दिन सकिने रहेछ भन्ने आत्मविश्वास उनीहरूमा बढ्यो । यसपछि जन्मियो सम्सारा क्रियसन ।

कुशल अछामी, विजय केसी, अजित भट्ट र तनोशी राई मिलेर यसको सुरुवात गरे । कुशल संस्थाका सिइओ हुन्, विजय इनोभेसन हेड रहेका छन् । बजार व्यवस्थापन अजितको भागमा छ भने डिजाइनको जिम्मा तनोशीले लिएकी छिन् ।

फोहोर संकलनकालागि सुरुका दिनमा आफ्नै घरबाट फोहरहरू जम्मा गरे । संकलित फोहोरलाई उत्पादनमा लैजान उनीहरूलाई थानकोटसम्म पुग्नुपरेको थियो । तर, बजार भने क्याम्पसमा प्रस्तुत गरेको पेपरभन्दा फरक थियो । बजारमा प्रस्तुत हुनु उनीहरूका लागि धेरै चुनौतीपूर्ण बन्यो ।

सुरुमा त ग्राहकहरूलाई विश्वास दिलाउन सम्झाउन निकै नै समस्या भोग्नुपर्‍यो । ‘हामीलाई लाग्थ्यो पर्यावरण जोगाउने मुद्दा सबैले सहजै स्वीकार गर्छन,’ कुशल भन्छन्, ‘तर, यथार्थ त्यस्तो भएन । बजारमा अरुले प्रयोग गरिसकेको सामग्री किन्न कोही तयार भएनन् । त्यो हुँदा सात महिनासम्म उत्पादनको काम रोकियो ।’

त्यस बीचमा उनीहरु स्टार्टअपलाई हौसला प्रदान गर्ने केही अभियानमा सहभागी भइ ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्न थाले । यसै क्षेत्रमा आवद्द संघसंस्था र व्यक्तिसँग आवश्यक परामर्श लिए । जसले उनीहरूमा थप आत्मबल थपियो । कुनै नयाँ काम सुरु गर्दा पहिला चेतनाको स्तर वृद्दि हुन जरुरी छ भन्ने सोच सँगै उनीहरूले सचेतना कार्यक्रम सञ्चालन गरे ।

नवीकरण गरी पुन: उत्पादन भएका सामग्री प्रयोगका फाइदा र यसले वातावरण संरक्षणमा पुग्ने सहयोगको बारेमा उनीहरूले सम्झाए । सचेतना कार्यक्रम पश्चात भने ग्राहक उनीहरूको कामप्रति सकारात्मक बन्दै गए।

अहिलेसम्म उनीहरूले सरकारी संस्थासँग समन्वय भने गरेका छैनन् । घरघरमा गएर फोहोर संकलन गर्दा नागरिकमा चाँडो चेतनाको स्तर बढ्ने र प्रभावकारी हुने उनीहरूको मान्यता छ । भन्छन्, ‘यसले फोहोरहरू छुट्टाएर राख्ने बानीको विकास हुनुका साथै फोहोर छुट्टाउनुपर्ने झमेला पिन अन्त्य हुन्छ ।’

त्यसरी संकलित सामग्रीहरूको प्रकार अनुसार फरक फरक तरिकाले सफा गरी उत्पादनमा पुग्छ । पछिल्लो समयमा भने उनीहरूले ल्यान्ड फिल्ड साइटका फोहोरहरू पनि संकलन गरी उत्पादनमा लैजान थालेका छन् । अल्लो, ढाका लगायतका अन्य कच्चापदार्थका लागि भने उनीहरूले सम्बन्धित संस्थाहरूसँग समन्वय गर्ने गरेका छन् ।

सम्सारा क्रियसनले जिन्स, प्लास्टिकका बोतल र प्लास्टिक संकलन गरी उपभोक्ताको रुचिअनुसार डिजाइनलाई समेटेर टोपी, झोला, पिर्का लगायतका सामग्री बनाउने गर्छन् । सामान्य अवस्थामा रिटेल व्यापारीलाई पनि प्राथमिकता दिँदै आएको भएपनि लकडाउनको समयमा अनलाइन बाट नै सेवा उपलब्ध गराइरहेका छन् ।

उपत्यका भन्दा बाहिरका स्थानहरूमा पनि सेवा दिइरहेको ‘सम्सारा क्रियसन’ले पर्यावरण र रिप्रोडक्सन सम्बन्धी थुप्रै सोसल क्याम्पेन समेत गरिसकेको छ । पोखरासम्म सेवा विस्तार गरिसकेको ‘सम्सारा क्रियसन’ को आगामी दिनमा नेपालभरि नै सेवा विस्तार गर्ने योजना रहेको छ ।
डिजिटल माध्यमबाट काम गर्दा धेरै सहज भएको कुशल बताउँछन ।

उनीहरूले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको प्रयोग गरी वृहत रुपमा सचेतना कार्यक्रम सञ्चालन गरे । प्रविधिको प्रयोग गरी बजार विस्तार गर्दा ७० प्रतिशत व्यापार वृद्धि भएको सकारात्मक अनुभव सुनाउँदै कुशल भन्छन्, ‘प्रविधिसँग अभ्यस्त हुन सबैलाई जरुरी छ । अहिले हरेक व्यक्ति सहज र सरल सुविधा चाहन्छ । तसर्थ बजार र उपभोक्ताको मागलाई ध्यानमा राखी समय अनुसारको सेवा उपलब्ध गराउन सतहमा पुग्नुपर्छ।’

प्रविधिलाई राम्रो उपयोग गर्नसके नेपालमै बसेर राम्रो आम्दानी गर्न सकिने एक उदाहरण हो सम्सारा क्रियसन । पछिल्लो समय आफ्ना उत्पादनहरूको माग बढेको र औसतमा मासिक एक लाख सम्मको आम्दानी हुने गरेको कुशलले बताएका छन् ।

उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजार मूल्य सामान्य उत्पादन जस्तै छ । उपत्यका भन्दा बाहिरका ग्राहकले भने केही महङ्गो भएको गुनासो गरेको भन्दै कुशल भन्छन्, ‘हातले निर्माण गर्ने सामग्रीहरू केही महङ्गो नै हुन्छ, तथापि अन्य मुलुकको अवस्थालाई हेर्ने हो भने हाम्रा उत्पादनहरू महङ्गो छैनन् । उपत्यका बाहिरका ग्राहकहरूलाई लक्षित गर्दै आउँदा दिनमा उत्पादनलाई अगाडि बढाउने हाम्रो योजना छ ।’

बजार विस्तार सँगै कला र संस्कृतिलाई पनि प्रविधिसँग जोडेर मूलधारमा ल्याउने योजना रहेको कुशल सुनाउँछन् । भन्छन्, ‘हातेसीप र स्थानीय उत्पादनलाई बढावा दिन गाउँ गाउँमा भएका उद्यमीहरूसँग समन्वय गर्न सकेमा आन्तरिक बजार विस्तार हुने र वातावरणलाई बिग्रिनबाट जोगाउन समेत सकिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१