close

औपचारिक रुपमा सुरु भयो ईकमर्स कम्पनी ‘डोरमिट’, ग्राहकलाई निःशुल्क डेलिभरी सेवा

टेकपाना टेकपाना

भदौ १४, २०७८ १२:६

औपचारिक रुपमा सुरु भयो ईकमर्स कम्पनी ‘डोरमिट’, ग्राहकलाई निःशुल्क डेलिभरी सेवा

काठमाडौं । अनलाइन शपिङमा नयाँ नाम ‘डोरमिट’ थपिएको छ । डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन शपिङ प्लेटफर्म औपचारिक रुपमा सोमबारदेखि सञ्चालनमा आएको हो ।

कम्पनीले विगत ८ महिनादेखि नै ग्राहकको अर्डरअनुसार सामान डेलिभरी गर्दै आएपनि कोरोना महामारीका कारण सेवाको औपचारिक सुरूवात हुन सकेको थिएन ।

पछिल्लो समय अनलाइन शपिङप्रति आमउपभोक्ताको आकर्षण बढ्दै गएको, तर हाल सञ्चालनमा रहेका ईकमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएकाे छ ।

‘अहिले धेरै ईकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्,’ कम्पनीका संस्थापक निर्देशक केदार सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो ईकमर्स प्लेटफर्म चाहेका छन् भन्ने विषयमा लामो अध्ययनपछि यसकाे सुरुवात गरेको हौं ।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको उनले बताए ।

डोरमिट डटकममा विभिन्न ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि विलासिताका वस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिने जनाइएको छ ।

‘हाल सञ्चालनमा रहेका ईकमर्स साइटहरूले अर्डर डेलिभरी गर्न ४–५ दिन लगाउने र चर्को डेलिभरी शुल्क असुल्ने गरेका छन्,’ सापकोटाले भने, ‘डोरमिट डटकमले भने काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराउने छ ।’

कम्पनीले विभिन्न चाडपर्व र दिवसको अवसरमा अफर घोषणासँगै डोरमिट डटकमबाट सामान अर्डर गर्ने ग्राहकमध्येबाट गोला प्रथामार्फत भाग्यशाली ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारसमेत प्रदान गर्दै आएको छ ।

हालसम्म ३००० बढी सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरूपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको उनले बताए ।

उनका अनुसार डोरमिटमा गुणस्तरीय सामान खरिदको सुविधा, छिटो र निःशुल्क डेलिभरी सेवा, सहजरूपमा सामान फिर्ताको सुविधा रहेका छन् ।

हाल काठमाडौंबाट सुरु भएको यो सेवा विस्तारै देशैभर उपलब्ध गराउने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१